आइसीसी नेपालमा ठुला–ठुला प्रतियोगिताहरु गराउन इच्छुक छ: चतुरबहादुर चन्द (अन्तर्वार्ता)

उमेश थापा

काठमाडाैँ

नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष हुन्, चतुरबहादुर चन्द। उनी वि.सं. २०७६ असोज १३ गतेदेखि क्यानको नेतृत्वमा छन्। उनी नेतृत्वमा आएलगत्तै सुरु भएको कोरोना महामारीले क्रिकेटका गतिविधिमा प्रभाव परे पनि पछिल्लो २ वर्षमा क्यानले केही ठुला–ठुला उपलब्धिहरु हासिल गरेको छ।

उनले नेतृत्व गरिरहेका बेला पदाधिकारीहरुको अनियमितता, खेलाडीहरुबीचको गुट-उपगुट, आन्तरिक द्वन्द्व, स्पट फिक्सिङ, सन्दीप लामिछाने प्रकरणलगायतका विषयले क्यान बद्नाम भयो।

उनी नेतृत्वमा आएलगत्तै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले क्यानमाथि लगाएको निलम्बन फुकुवा गरेको थियो। त्यसयता नेपालले केही महत्वपूर्ण उपलब्धिहरु हासिल गरेको छ। उनको कार्यकालमा नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता (ओडिआई) मान्यता पुन: पायो। यु–१९ पुरुष टोली विश्वपमा छनोट भयो भने राष्ट्रिय टोली आइसीसी एकदिवसीय विश्वकप छनोटमा पुग्यो। त्यस्तै एसियन कपमा छनोट भएर भारत र पाकिस्तान जस्ता क्रिकेटका महारथी देशरुसँगको भेट पक्का गरेको छ।

नेपाली राष्ट्रिय क्रिकेट टोली भोलि (बुधबार) आइसीसी विश्वकप छनोटको तयारीको लागि दक्षिण अफ्रिका प्रस्थान गर्दैछ। टोली उतैबाट विश्वकप छनोट खेल खेल्न जिम्बाबे जाने कार्यक्रम रहेको छ। त्यसअघि बिएल नेपाली सेवाले नेपालको विश्वकप छनोटको तयारी र क्रिकेट संघका विषयमा अध्यक्ष चन्दसँग कुराकानी गरेको छ।

प्रस्तुत छ, बिएल संवाददाता उमेश थापाले अध्यक्ष चन्दसँग गरेको कुराकानीको सम्पादित अंश:

तपाईंको ४ वर्षे कार्यकाल सकिन लाग्यो, सकिन लागेको आफ्नो कार्यकाललाई कसरी मूल्यांकन गर्नुहुन्छ?

यो बीचमा मूल्यांकन गर्ने ठाउँ नै छैन। किनभने, २ वर्ष कोरोना महामारीले खायो। कोरोना महामारीकै कारण सोचेको जस्तो काम हुन सकेन। तर, समग्रमा पछिल्लो २ वर्ष हाम्रो लागि एकदमै उपलब्धिपूर्ण भयो। यो बीचमा हामी ८ वर्षपछि यु१९ विश्वकपमा पुग्न सफल भयौँ। त्यस्तै पुन: ओडिआई मान्यता पायौँ भने आइसीसी एकदिवसीय विश्वकप छनोट खेल खेल्ने मौका पायौँ।

तपाईंको कार्यकालमा सन्दीप लामिछानेदेखि सट्टेबाजीसम्मका प्रकरणहरु बाहिरिए। त्यसका बाबजुद पनि टिमले राम्रो प्रदर्शन गर्यो। केही राम्रा-नराम्रा घटना घटे पनि समग्रमा आफ्नो कार्यकाल राम्रो भएकोमा खुसी हुनुहुन्छ?

खेलाडीका नराम्रा काममा क्यानको केही हात छैन, चाहे त्यो सट्टेबाजीमा होस् या सन्दीपको केस। सट्टेबाजीमा क्यानका कसैको इन्भल्बमेन्ट (सहभागीता) छैन। सन्दीपको र सट्टेबाजीको कुरामा व्यक्तिगत हात हुन्छ, त्यसमा क्यानले कुनै जिम्मेवारी लिँदैन।

म्याच फिक्सिङमा क्रिकेट संघ इन्भल्ब नभए पनि त्यस्तो किन देखियो भने हामी कारबाही गर्ने निकाय हो। त्यस्तोमा सहभागी भएको देखेमा हामी कारबाही गर्छाैँ। खेलाडीहरुको कमजाेरी भयो होला, त्यसमा क्यान जिम्मेवारी हुँदैन। क्यान सधैँ स्वच्छ र निष्पक्ष भएर प्रतियोगिता आयोजना गर्छ।

नेपाली क्रिकेट टोलीले एकदिवसीय विश्वकप छनोटअघि दक्षिण अफ्रिकामा अभ्यास खेल खेल्ने भनिएको छ, क्यान त्यसको लागि पूर्णरुपमा तयार भइसक्यो?

तयारी सुरु भइसक्यो, विश्वकपको तयारीको लागि हामी दक्षिण अफ्रिका जान लागेको हो। त्यसकै लागि हाम्रो टोली १०-१२ दिन अगाडि नै त्यसतर्फ जाँदैछ। त्यस्तै जिम्बाबे पनि ७-८ दिन अगाडि जान्छौँ। नेपाल र त्यहाँको पिच फरक छ। त्यहाँको मौसम पनि नेपालको भन्दा फरक छ। त्यसैले खेलाडीहरु त्यहाँ भिझ्न सकुन् भनेर अलि चाँडै त्यहाँ गएर खेलाडीलाई तयारी गराउने हो।

पछिल्ला केही महिनायता नेपाली क्रिकेट टोलीले मारेको फड्कोप्रति अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को प्रतिक्रिया के छ?

आइसीसीले अहिले नेपाली क्रिकेटको प्रशंसा गरेको छ। आइसीसी नेपालमा बढी भन्दा बढी प्रतियोगिता गराउन इच्छुक छ। तर, आइसीसीले भनिरहेको छ, नेपालमा गतिलो क्रिकेट रंगशाला छैन। हाम्रा क्रिकेट मैदानहरु व्यवस्थित छैनन्। सुरक्षामा अहिले पनि चुनौती छ। मैदानमा खेलाडी बस्ने, भिआइपी बस्ने, दर्शक बस्नदेखि खेलको प्यारामिटरमा क्यानले राम्रो गरेको छ। अहिले पनि धेरै कमजोरी छन्, हामीले यसबारे सरकारलाई आह्वान गरेका छौँ।

खेलप्रति सरकार सकारात्मक देखिन्छ?

सरकारले कुनैमा सहयोग गर्छ, कुनैमा गर्दैन। सरकारले पूर्वाधार चाँडै बनाइदिए त्यही ठुलो सहयोग हुने थियो। तर, पूर्वाधार विकासको काम कछुवा गतिमा भइरहेका छन्। तल्लो मुलपानी क्रिकेट रगंशाला बन्न थालेको १०-१२ वर्ष भइसक्यो, त्यहाँ अहिलेसम्म प्रतियोगिता आयोजना हुन सकेको छैन। सरकारले बनाइरहेको तल्लो मुलपानी रगंशाला चाँडै बनाएर हामीलाई दियो भने त्यहाँ प्रशस्त अन्तर्राष्ट्रिय खेलहरु हुन्छन्। त्यो रगंशाला राम्रो पनि छ।

पुरुष क्रिकेट टोलीको तुलनामा महिला टोलीको प्रतियोगिता किन कम हुन्छन्?

पुरुषको तुलनमा महिलाको टुर्नामेन्ट कम भइरहेको छ। अहिले महिलाको एसीसी र आइसीसीको टुर्नामेन्ट नभए पनि क्यानले आफैंले घरेलु प्रतियोगिताहरु गराइरहेको छ। हालै मात्र घरेलु प्रतियोगितामा मेयर्स कप सम्पन्न भयो। यस्तै प्रतियोगिता आयोजना गरेर टिमलाई चलायमान बनाइरहेको छौँ। टुर्नामेन्ट गर्दा प्रदेश र पालिकाहरुले महिला टुर्नामेन्टलाई प्राथमिकतामा राख्दैनन् तर क्यानले राखेको छ।

तपाईं २०७६ को असोजमा निर्वाचित हुनुभएको थियो तर अहिले त्यसको ४ महिना अगाडि नै चुनाव गर्ने तयारी भइरहेको छ, किन होला?

हामीले जेठ मसान्तमा चुनाव गर्ने भनेका थियौँ तर विधानले दिएन। निर्वाचन समयमै गर्ने विधान भएकोले २०-२५ दिन अगाडि चुनाव गरेर बर्खा अगाडि नै नयाँ नेतृत्वलाई जिम्मेवारी दिने सोचेका थियौँ। नेपालमा बर्खामा खेल खेल्न सम्भव हुँदैन, नयाँ सिजन असोजबाट मात्रै सुरु हुन्छ। त्यसैले नयाँ नेतृत्वले आफ्नो योजनाअनुसार काम गर्न पाओस् भन्ने हाम्रो सोच हो।

क्यानको नेतृत्वमा पुन: आफैं आउने सम्भावना कति देख्नुभएको छ?

अहिले चुनाव भएको नै छैन, त्यसैले यसबारेमा छलफल नै नगरौँ। आफू पुन: निर्वाचनमा उठेँ भने निर्वाचित नहुने भन्ने होइन। यद्यपि, यसबारे अहिलेसम्म केही सोचेको छैन। तर, धेरैको इच्छा चाहिँ म नै पुन: नेतृत्वमा आउनुपर्छ भन्ने छ। अहिलेको क्यानको अधिकारीहरुले पछिल्लो समय गरेको राम्रो म्यानेजमेन्ट (व्यवस्थापन) देखेर पुन: मलाई अर्काे कार्यकालको लागि पनि आउनुपर्छ नभनेको चाहिँ होइन।

तपाईंको कार्यकालको ४ वर्षमा क्यानले निकै आलोचना खेप्नु प-यो, यसलाई कसरी लिनुहुन्छ?

आलोचना काम गर्नेको हुन्छ, काम नगर्नेको कहिल्यै आलोचना हुँदैन। काम गर्दैगर्दा मानिसहरुले टिप्पणी गर्नु सामान्य कुरा हो। तर, हामीले राम्रो काम गरेका छौँ कि छैनौँ? क्रिकेटका गतिविधि गरेका छौँ कि छैनौँ? खेलाडीको हितमा काम गरेका छौँ कि छैनौँ? अरु उपलब्धि प्राप्त भएको छ कि छैन? त्यसमा क्यानका पदाधिकारी, स्टाफ, क्यान अफिसियल, जिल्ला क्षेत्रको भूमिका छ कि छैन हेर्नुपर्ने हो। मिडियाको काम भनेको नै आलोचना गर्ने हो, मिडियाले प्रशंसा अलि कम गर्छन्।

प्रकाशित मिति: : 2023-05-30 17:56:00

प्रतिकृया दिनुहोस्