डीपी अर्याल र मुकुल ढकालको खण्डन

पूर्वमन्त्री डीपी अर्याल र रास्वपाका महामन्त्री मुकुल ढकालले बिएल नेपाली सेवामा प्रकाशित ‘समानुपातिक सांसद बन्दा डीपी अर्याल र मुकुल ढकाललाई तीन करोड बुझाएँ’ शीर्षकको समाचारप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। 

‘पूर्वसांसद ढाकाकुमार श्रेष्ठलाई उद्धृत गर्दै निजलाई समानुपातिक सांसद बनाउन म सहित हाम्रा महामन्त्री मुकुल ढकालले पैसा लिएको खबर प्रकाशित भएकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। सो मनगढन्ते खबर खारेज गर्दै त्यसबारे खण्डन गर्न स्वयम् श्रेष्ठलाई आग्रह गर्दै खबरको स्रोतको पुनः परीक्षण गरी गल्ती सच्याउन सो खबर प्रकाशकलाई अनुरोध गर्दछु। यसो नभएमा अरूको चरित्र हत्या गर्ने गरी कपोलकल्पित, मनगढन्ते र भ्रामक समाचार प्रकाशन गर्ने प्रकाशक विरुद्ध उचित कानुनी उपचार समेत खोजिने कुरामा सचेत समेत गराउन चाहन्छु। साथै, सो खबरबाट भ्रममा नपर्न सम्पूर्ण पार्टी सदस्यहरू एव हाम्रा शुभेच्छुकहरूलाई अनुरोध गर्दछु,’ सामाजिक सञ्जालमार्फत् पूर्वमन्त्री अर्यालले भने।

त्यस्तै, महामन्त्री ढकालले पूर्वसांसद ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा आफ्नोसमेत गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ। यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तोसुकै सजाय भोग्न तयार छौँ। यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दैछौँ। आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावी गरी मुद्दा दर्ता गर्नेछौँ र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिनेछौँ,’ ढकालले भने।

प्रकाशित मिति: : 2023-05-24 22:28:00

प्रतिकृया दिनुहोस्