जतिबेला नेकपा (एमाले) बलियो बन्छ र राम्रो काम गर्न सुरु गर्छ त्यतिबेला–त्यतिबेला एमालेभित्र अन्तरसंघर्ष बढेको–बढाइएको र विभाजनको पीडा बेहोर्नुपरेको छ। राम्रो कामगर्दा विभाजनको पीडा वेहोर्नुपर्दा जनता र कार्यकर्तामा नेतृत्व असफल भएको लाग्नु स्वभाविक नै हो। तर काम गर्न खोज्ने प्रमुख नेतृत्वको पीडा पनि आफ्नै खालको छ।
यस्तो स्थिति एमालेका हकमा मात्र होइन, नेपाली कांग्रेसभित्र पनि उस्तै छ। यद्यपि कांग्रेस उदारवादी यथास्थितिवाद तर्फको झुकाउ बढेका कारणले उसको कार्यकर्ता पंक्ति र समर्थकमा भने एमालेप्रतिको जस्तो पीडाको अनुभूती कम देखिन्छ।
ठुल्ठूला संघर्ष र बलिदानको संघर्षबाट हुर्केका नेता र पार्टी भित्रको त्यो पीडा उनीहरूको मात्र कमजोरी ठान्नु ठूलो भुल हुनेछ। त्यसमा भू–राजनीतिक स्वार्थहरूको प्रभाव बढी छ।
नेपालमा राजनीतिक अस्थिरता सिर्जनागरी आफ्नो प्रभाव विस्तार गर्ने बाह्यशक्तिहरूको चलखेलले नेपाली राजनीति अस्थिर बनेको छ। नियोजित रुपमा सिर्जना गरिएको राजनीतिक अस्थिरताका कारणले पनि नेपाली राजनीतिले सही दिशा र बाटो समात्न सकेको देखिँदैन।
तर नेपाली राजनीतिको विकल्पका रुपमा अघि सार्न खोजिएको पपुलिष्ट राजनीतिले राजनीतिक संकटको समाधान दिने कुनै सम्भावना नै छैन। बरु त्यो भू–राजनीतिक स्वार्थको गोटी बन्ने सम्भावना बढिरहन्छ। पछिल्लो चुनाव पछिको सत्ता राजनीतिक संघर्षको विश्लेषण गर्ने हो भने त्यस्तै भइरहेको छ।
राजनीति सही नीति, कार्यक्रम र संगठनकाे बलमा अघि बढ्दछ भन्ने मान्यता राख्ने हो भने त्यो आवश्यकता उदारवाद कि समाजवाद भन्ने एजेण्डा भित्र नै खोज्नुपर्ने हुन्छ। राजनीतिलाई त्यसकै वरिपरि ध्रुविकृत गर्नुपर्ने हुन्छ।
नयाँका नाममा पपुलिष्ट राजनीतिक गरिरहेकाहरूले पनि आफ्नो बाटो उदारवाद कि समाजवाद भनेर नीतिगतरुपमा स्पष्टता दिनसक्नु पर्दछ। सधैभरी पपुलिष्ट कुरा गरेर समाजलाई सही गन्तव्यमा पुर्याउन सकिँदैन।
नेपालजस्तो मुलुकमा उदारवादले व्यापारिक पूँजीवादलाई प्रश्रय दिने काम गर्दछ। त्यसको लाभ आम–जनताले पाउन सक्तैन। त्यसवाट दलाल नोकरशाही पूँजीवाद नै लाभान्वित बन्न पुग्दछ। एमालेलाई परमादेशबाट हटाएपछिको पाँच दलीय सरकारले अवलम्वन गरेको नीति उदारवाद नै हो। त्यसको परिणाम के हुँदो रहेछ हामीले चरम आर्थिक संकटका रुपमा भोगिरहेका छौँ।
समाजवाद हाम्रोजस्तो मुलकमा स्वाधीन अर्थतन्त्र निर्माणको बाटो हो। तर अहिलेकै अवस्थामा नेपाली समाजले समाजवादी कार्यक्रम लागू गरिहाल्न सक्ने अवस्था पनि छैन। यस्तो अवस्थामा समाजवाद उन्मुख आर्थिक समाजिक विकासको बाटो नै उपयुक्त बाटो हो। तर त्यसका लागि पनि बलियो राष्ट्रिय शक्तिका रुपमा समाजवादका पक्षधर शक्ति सुदृढ हुनुपर्दछ।
अहिलेजस्तो नेपाली समाज विचारधाराका आधारमा केन्द्रीकृत र ध्रुविकृत नहुने हो भने बलियो राष्ट्रिय शक्तिको विकास हुन सक्तैन। आजको संकटको समाधान पनि हुन सक्तैन। त्यसैले जनमतलाई विभाजित हुनवाट जोगाउ। विचारधाराको जगमा जनमतलाई सुदृढगरी बलियो राष्ट्रिय शक्तिका रुपमा राजनीतिक दलहरूलाई सुदृढ गरौँ।