नेपालको इतिहासलाई नियाल्ने हो भने ठुला-ठुला भ्रष्टाचारको चर्चा सदैव भइरहने तर तिनीहरुको अनुसन्धान र अभियोजन हतपत नहुने र भइहाल्दा पनि त्यसले मुख्य भ्रष्टलाई दोषी करार गर्न असमर्थ रहने अवस्था देखिँदै आएको छ। भ्रष्टाचारको अनुसन्धान अनि अभियोजनको त्यो वास्तविकता निरङ्कुश पञ्चायतदेखि प्रजातन्त्र अनि गणतन्त्रसम्म उस्तै त्यस्तै छन भन्दा गलत हुने छैन। त्यसैले त पञ्चायतदेखि गणतन्त्रसम्म राजनीतिक/प्रशासानिक ठुला पदमा पुगेको कारणले नै धन कमाएर धनि भएकाहरु अहिले पनि धनि नै छन्।
त्यस्तो विडम्बनापूर्ण नियति भोग्दै आएकोले नै हो अहिले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै अर्बाैँ कमाउने गिरोहमाथि धमाधम सिकंजा कसिँदै गरिएको वर्तमानलाई जनताले विश्वासभन्दा ज्यादा आशंकाको दृष्टिले हेरिरहेको छन। अनि दुखका साथ भन्नुपर्छ कि आफ्नै नागरिकलाई अर्काको देशबाट आएर लुकेको शरणार्थी बनाउने अनि त्यसो गर्दै आफू आर्थिक आर्जन गर्न उनीहरुको पुन:र्स्थापन अर्को देशमा गराउने जस्तो घृणित कोसिस गरेर अन्तराष्ट्रियस्तरमै देशको बदनामी गराउनेहरुलाई पक्राउ गर्ने काम हुँदै गर्दा सत्तापक्षदेखि प्रतिपक्ष नेताहरु समेतको छटपटीपूर्ण दौडधुपले जनताको आशंकालाई झन बल दिएको छ।
अहिले आरोपितहरु सम्बद्ध दलीय नेताहरुको दौडधुप अनि आरोपितहरुको धाक धम्किहरु हेर्दा अनि सुन्दा लाग्छ कि उनीहरुले नेपाली जनताको बदलिएको चेत अनि उनीहरुको मनभित्र दनदनी बलिरहेको आगोको पहिचान गर्न सकेको छैनन्। उनीहरुलाई लागेको हुनुपर्छ कि अहिलेको शरणार्थी प्रकरणलाई पनि हिजोको लाउडा, चाइना साउथवेस्ट, सुडान प्रकरण वा त्यस्तै कुनै जस्तै सामसुम पार्न सकिन्छ। सोच्नु एउटा कुरा हो तर सोचे जस्तो अवस्था अहिले छैन। जनताले हिजो भएको भ्रष्टाचार पनि नबुझेको पक्कै थिएनन् अनि भ्रष्टाचारीहरु नचिनेको पनि पक्कै थिएनन् र आज पनि उनीहरुले नाचिनेको नजानेको छैन। यद्यपि, हिजो केही थान भ्रष्टहरुलाई कारबाही गर्ने बहानामा भर्खरै आएको प्रजातन्त्र बदनाम होला कि भनेर जनताले भ्रष्टाचार सहे वा भनौं थाँती राखे त कहिले स्थापित हुँदै गरेको शान्ति खलवालिएला कि भनेर उनीहरुले भ्रष्टाचारलाई अनदेखा गरिदिए। तर, जनताले अन्तरमनमा भ्रष्टाचारको हिसाब किताब भने सदैव राखी रहे ! उनीहरुले भ्रष्टहरुको पहिचानसहितको हिसाब किताब पनि मनको बहीखातामा दर्ज गराइनै रहे। यत्ति हो कि भ्रष्टाचार र कमिसनखोरीमा लिप्तहरुले जनताको मनको बहीखातामा रहिरहेको उधारो हिसाब किताबलाई चुक्ता वा माफी मिनाह ठाने। त्यतिसम्म गरेर पनि लौ त भए गरेका गल्तीमा जनताले माफी दिए अब त सुध्रिने भनेको भए ठिकै हुन्थ्यो तर उनीहरु त झन्-झन बेलगाम भ्रष्ट हुँदै गए।
जनताको मनमा सल्किएको आगो दन्किने तहमा त्यसै पुगेको त हैन नि। लाउडा काण्ड, धमिजा काण्ड, चाइना साउथवेस्ट काण्ड हुँदै सुन तस्करी, भौतिक पूर्वाधार निर्माणको दौरान गरिने अनेकन भ्रष्टाचार, आफ्नै निम्ती मर्न मार्न तयार भएर हिँडेका लडाकुहरुले पाउने रकममा तिनै लडाकुले विश्वास गरेकाहरुबाट भएको भ्रष्टाचार हुँदै प्रहरी प्रमुखहरुदेखि उपल्लो दर्जाका अधिकृतहरुको बढुवा तथा नियुक्तिलगायत अनेकन काममा समेत करोडौं उठाउने जस्ता कुकार्यमा नेताहरु संलग्न हुँदै गए। उनीहरुको कुकृत्य त्यतिमै मात्रै सिमित भएन हुँदा हुँदा उनीहरु कोरोना महामारीमा रोग र भोकले जनता आक्रान्त भएको अवस्थामा समेत औषधिदेखि उद्दार सामाग्री खरिदमा कमिसन खोज्ने काममा लागे। यति, ओम्नी प्रकरणदेखि बालुवाटारको सरकारी जग्गा निजी व्यक्तिलाई दिएर आफ्नो नाममा पास गर्नेसम्मको काममा ठुला दलका ठुलै नेता पनि जोडिए। यी अनि यस्तै अनेकन काण्ड प्रकाण्डहरुलाई दैनिक रुपमा देखिरहेको भोगिरहेको जनताको मनमा आक्रोशको ज्वालामुखी उठनु अस्वाभाविक पक्कै थिएन।
तर, फेरि पनि भ्रष्टाचारको दल-दलमा भाँसिएका अनि भ्रष्टहरको पालन पोषणमा मात्तिएका नेताहरुको बुद्धि फिर्ने भन्दा झन् झन बिग्रँदै गयो। त्यसैले गर्दा उनीहरु भ्रष्टाचारको बाटोबाट फर्केर सदाचारको बाटोमा लाग्नेतर्फ कहिल्यै गएनन्। बरु भ्रष्टाचार चाहिँ दिन दुई गुणा रात चौ गुणा गर्दै रहने अनि त्यसमा कहीँ कतै मुद्दा मामिला भएमा आफूलाई जोगाउन प्रण गर्नेहरुलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि विशेष अदालत हुँदै सर्वोच्च अदालतसम्म नियुक्ति दिएर राख्ने र आफू सुरक्षित हुने अल्पकालीन सुरक्षाको बाटो उनीहरुले तय गरे। हो, उनीहरु प्राविधिक रुपमा सुरक्षित नै छन्, त्यसैले उनीहरुले लिएको बाटो सही नै छ भन्ने उनीहरु अनि उनीहरुका सेनामेनालाई परिरहेको छ। तर, अहिलेको वर्तमान उनीहरुले सोचे जस्तो देखिए पनि निकट भविष्यमा त्यस मान्यता अनि त्यस मान्यताको आधारमा चल्नेहरुको अवस्था उलटपुलट हुनेछ।
सिधा र स्पष्ट शव्दमा भन्नु पर्दा भ्रष्टाचार र अनैतिक नेताहरुको पापको घडा पूर्णत भरिएको छ। जनताहरुले कतिपय बेला व्यवस्थाप्रतिको मायाले अनि कतिपय बेला अवस्थाप्रतिको दयाले देखाएको धैर्यतालाई कमजोरी ठानेर एकपछि अर्को भ्रष्टाचारका काण्ड घटाएर भ्रष्ट नेता र प्रशासकहरुले जनताको मनमा आगो सल्काउने र त्यसलाई दन्काउने काम निरन्तर गर्दै आएकै छन। त्यसको प्रकटीकरण कुनै न कुनै रुपमा हुने बिन्दुमा पुगेको नै बेला नक्कली शरणार्थी घोटाला प्रकरणको छानबिन सुरु भएकोले जनताले यो छानबिन र यसको सम्भावित गन्तव्यलाई नजिकबाट नियाली रहेका छन।
यो छानबिन भ्रष्ट नेताहरुको लागि उनीहरुले एक मौका पाउने अवसर वा समाप्तिको अन्तिम बिन्दुमध्ये एक हुन सक्ने ढङ्गले प्रकट भएको छ। यदि यो छानबिनलाई दबाब वा प्रभावरहीत ढङ्गले अगाडि बढन दिने अनि अनुसन्धानले जो जसलाई गल्ती देखाउनेछ उनीहरुलाई कर्मअनुसारको सजाय भोग्न लगाउने दृढता राजनीतिक दलहरुमा देखियो भने त्यसले यस अगाडिको कर्तुतहरुलाई भुलेर अगाडि बाटो बनाउन सक्नेछ। तर, हैन यस अगाडिका मुद्दाहरुमा जस्तै सके प्रहरी अनुसन्धानलाई नै कमजाेर पार्ने, नसके अदालतमा न्यायधीश मिलाएर अपराधी जोगाउने काम गर्न खोजियो भने यो राजनीतिक दलहरुकै निम्तीसमेत सकसपूर्ण समय हुनु त छँदैछ भने नेताहरुको राजनीतिक अवशानको घडी हुने त पक्कै छ।
ठिक यसैबेला कतिपयले चाहिँ नेताहरुको निरन्तरको भ्रष्ट र अनैतिक गतिविधिमा पूर्णविराम लगाउने ढङ्गले उनीहरु जनदबाबकै जगमा भए पनि भ्रष्ट करार हुने सम्भावित अवस्थालाई लोकतन्त्रको समाप्ति अनि निरङ्कुश राजतन्त्रको उदयको बिन्दु हुने विश्लेषण गरिरहेको अनि त्यसले गर्दा चिन्तित भएको पनि पाइन्छ। त्यो चिन्ता पनि व्यर्थ र निरर्थक छ। किनकि, जनताको चेतनास्तर अब पनि कुनै वंशीय परम्परालाई मान्यता दिने तहमा छैन झन उनीहरुले निरंकुशता स्विकार्ने भन्ने त असम्भव नै छ। त्यसैले निरंकुशताको पुन:उदयको भय वा नेताहरुले आफूले नियुक्त गरेकाहरुको प्रयोगमार्फत् छुटकारा पाउने निष्कर्षको आधारमा भइरहेको छानबिन प्रभावित पार्ने खेल कसैले नखेलेकै राम्रो। किनकि, त्यस्ता कुनै पनि खेल प्रतिउत्पादक हुने अवश्य छ।
अत: नेताहरुदेखि तिनको चाकरी चाप्लुसी गरेर जीवन गुजारा गर्न पल्केकाहरुले आफैंले सही विश्लेषण गरेर सही निष्कर्ष निकालेर सही मार्गमा हिँडन सदाझैं यसपटक पनि नसक्ने प्रष्ट देखिएको यस घडीमा कमसेकम पनि सही सत्यको मनन, घटनाक्रमहरुको यथार्थ विश्लेषण अनि जनताको मनोभावनाको मुल्यांकनको आधारमा अहिले अनुसन्धानको क्रममा रहेको नक्कली शरणार्थी प्रकरणमा दोषी जोगाउने कसरत नहोस् भन्ने चेतावनीलाई कमजाेर रुपमा लिँदा उनीहरुको लुटको साम्राज्यमा पहिरो जाने चाहिँ पक्का छ।
कुनै पनि बहानामा दोषीलाई उम्काउने वा दोषी हुँदा हुँदै पनि उम्कने कोसिस कहीँ कतैबाट भएमा अब जनताले सडक बाटैमा न्याय गर्ने छन्। त्यसैले जनताले सडकमा अदालत चलाएर न्याय निसाफ गर्ने तहमा पुग्ने अवस्था रोक्ने वा त्यसलाई अगाडि बढ्न दिने त्यसको छनोट दलका नेता तथा कार्यकर्ताले बोली हैन व्यवहारले गरुन्। यदि नेपाली नागरिकलाई ठग्ने अनि देशकै बदनाम गर्नेहरुलाई यो वा त्यो नाममा जोगाउन खोज्ने कोसिसले निरन्तरता पाउने हो भने भ्रष्ट र दलालहरुलाई जनताले बाटो बाटोमा नङ्ग्याउने छन। सबैलाई समयमा चेतना भया !
मदा अ