व्यवस्था बदलियो भनेर कसरी खुसी हुनु ? देशमा संविधान छ तर जनताले संविधानको अनुभूति गर्न पाएका छैनन्। सानालाई ऐन, ठुलालाई चैन छ। सुकिला मुकिलाहरुको मात्र जीवनशैली बदल्यो, वास्तविक हुम्लीका दु:ख त जस्ताकाे तस्तै छन्।
हुम्ला जिल्ला आजसम्म विकटताको विम्ब बनिरह्यो। आधा जिल्लालाई खान/लाउनकै लागि धौ-धौ छ। खान्या अन्न र जाडो थेग्न्या कपडा छैनन्।
क्या खाँऊ क्या लाऊँ, राेगभाेगले छोराछोरी रुँदै।
महिलाका पिरमर्का हेर्या, तर्रै आँसु चुँदै।।
अदानचुली गाउँपालिकाकी अदानकला महताराले गाएकाे याे गीतले नै हुम्लाका अवस्था उजागर गरेकाे छ।
सर्वसाधारण हुम्लीले खाने चामल नपाउँदासमेत भात माफियाहरूले खाद्यको चामल रक्सी बनाउने कच्चा पदार्थका रूपमा प्रयोग गरिरहेका छन्, आज पर्यन्त।
नक्कली डेरावाल, नक्कली छोराछोरी, सिमकोट र गाउँको घरबाट दोहोरो सुविधा, नाम मात्रका मेला, पर्व र उत्सव, नक्कली प्रकोप पीडितका नाममा भात माफियाहरूले प्रक्रिया हेर्दा भात खानकै लागि चामल मागेको देखे पनि चामल बुझेको हप्ता दिनपछि उनीहरूका कोठाहरूमा पुग्दा रक्सीको गन्ध टाढैबाट थाहा हुन्छ।
गाउँमा मोटर बाटो पुगेता पनि अझै आधा हुम्लावासीहरु गोदामको अमिलो चामल खान बाध्य छन्।
आजका दिनसम्म पनि ओक्तो मुलोकाे बन्दाेबस्त हुन सकेकाे छैन। साधारणले रुघाखोकी लाग्दा सन्चो नहुने स्थितीमा सिटामोल पाएनन्। ठुलो बिराम लाग्दासमेत नजिक अस्पताल पाएनन्।
सहरीयाहरूले एकपटक फेसियल गर्ने खर्चले हुम्ली दिदी–बहिनीहरूको कैयौं छाक खाना टर्छ। जाडो र लाज ढाक्ने कैयौं जोर कपडाको जोहो हुन्छ। यो त न समाजले देख्छ, न देशले देख्नेछ पनि।
महिलामा छुई हुँदा ७ दिनसम्म र सुत्केरी हुँदा १५–४५ दिनसम्म अछुत मानेर छाई–छुई गर्न नहुने, यसो गरे देवता रिसाउने र पाप लाग्ने धार्मिक अन्धविश्वासले गर्दा पशु राख्ने गोठमा राख्ने र त्यहीँ खाना दिनेजस्ता कुरीति विद्यमान नै छन्।
मुगु जिल्ला गाडी गुड्या, हुम्लीका पाउ दुख्या।
जनताका दुःख ल्यायौँ, नेता जती लुक्या।
२०७६ सम्म मुग र बाजुराको चामल खसी च्याँग्रा र खच्चडबाट ढुवानी गरेर तल्लो भेगका हुम्लीले जीविकोपार्जन गरेका थिए। सडक सञ्जाल जोडिन नसकेको एक मात्र जिल्ला हुम्ला हो।
जिल्लामा पुग्ने साधन भनेको नेपालगञ्जदेखि सिमकोट वा सुर्खेतबाट हवाइयात्रा वा नेपालगञ्जदेखि बाजुराको कोल्टीसम्म हवाईमार्ग हो। कोल्टीदेखि धुलाचौर हुँदै कुवाडीखोला पुल तरेर ताजाकोट हुम्ला मोटरबाट पुग्न सकिन्छ।
कर्णाली करिडोरमा ताजाकोट, कुवाडी, पुइमाखोला हुँदै दोमुख, तुम्च सलिसल्लासम्म गाडी पुग्छ। सर्केगाडको गिउसीज्यूलासम्म सडकको प्रारम्भिक ट्रयाक खोल्ने काम भएको छ। खार्पुनाथ गाउँपालिकाको छारेपुलदेखि सर्केगाड गाउँपालिकाको ग्यूसीसम्मको खण्डमा नेपाली सेनाले कर्णाली करिडोरको ट्रयाक खोल्ने काम गरिहेको छ।
आशा गरौँ, २०८१/०८२ सम्म जिल्लाभरि मोटर बाटो पुगेपछि हुम्लीवासी कुहिएको चामल खानबाट टाढा रहने छन्।
राष्ट्रिय राजनीतिकमा प्रभाव पारेका जीवनबहादुर शाही, छक्कबहादुर लामा, कार्चेन लामा, गोरख बोगटी, दल रावल कर्णजित बुढाथोकी, रीता शाही, रंगमति शाही, डाः दीपेन्द्र रोकाया रणसिंह परियार, मेहल पार्कीलगायत थुप्रै नेताहरु छन्।
यो जनशक्ति हुम्लाको गहना पनि हो। यस हिसाबले हुम्लीकाे पहुँच नभएको पनि होइन। हुम्लामा जन्मेका हरेकलाई जन्मभूमिको माया पक्कै पनि छ होला। यस जिल्लालाई रुपान्तरणमुखी समृद्धियुक्त खुसीमा बदल्ने प्रमुख जिम्मा नेतृत्वको हो।
तर, जिल्लामा न गतिलो अस्पताल छ, न त औषधि पाइन्छ। उपचारका लागि सुर्खेत, नेपालगञ्ज जानुकाे विकल्प छैन। यति आशालाग्दाे राजनीतिक नेतृत्वबाट पनि हुम्ला, ‘जति जोगी आए पनि कानै चिरेका’ भन्ने परिरहेकाे छ भने हुम्लीहरुकाे मुहार कसरी फेरिएला ?