९ सय ९८ किलाेवाट क्षमताकाे चुकेनी जलविद्युत बन्दैछ भनेकाे दिनबाट चाेक, चिया चाैताराेमा जुम्ला झिलीमिली हुने भयाे भनेर छलफल चल्न थालेकाे थियाे। सम्झौता भएकाे मिति २०७६ जेठ १० गतेबाट हालसम्म आश मान्दै गर्दा तीन वर्ष बितिसकेकाे छ।
सम्झौताकाे मितिबाट १८ महिनामा सकिनुपर्ने आयाेजना तीन वर्ष बितिसक्दा पनि नसकिएपछि निराशा बढ्न थालेकाे छ। ‘हामीले अब त छ महिनामा चुकेनी बल्छ, बिजुली अभाव हुँदैन भनिह्याैं,’ आयाेजनाकाे स्थलगत अनुगमन गर्न गएका जिल्ला समन्वय समितिका प्रमुख गाैरिनन्द आचार्यले भने, ‘यहाँ आउँदा त प्रगति कछुवा गतिमा भएकाे देखियाे।’
जुम्लामा बिजुलीकाे माग बड्दाे छ। झण्डै साढे तीन सय किलोमिटरकाे दूरीमा तानिएकाे लाइनका कारण चुहावट धेरै छ। यही कारणले राष्ट्रिय प्रसारण लाइन भरपर्दो बन्न सकिरहेकाे छैन। बेलाबेला बत्ती निभिरहन्छ। ‘कम्तिमा आफ्नै उत्पादन भए सहज हुन्थ्यो,’ आचार्यले थपे, ‘आशा लागेकाे आयाेजनाकाे प्रगति निराशाजनक छ।’
ठेकेदार कम्पनीकाे ढिलासुस्तीका कारण आशातित प्रगति हुन सकेकाे छैन। अब ६/७ महिनामा बन्ला भन्न थालेबाट हालसम्म आयाेजनाकाे प्रगति उस्तै छ। स्थानीयहरु आक्राेशित बन्दै गइरहेका छन्।
ठेकेदार कम्पनीबाट बारम्बार पेलिनु परेकाे स्थानीय रुपा रावतले बताइन्। उनकाअनुसार ठेकेदारलाई छिटाे काम गराउन स्थानीय २५ जनाकाे समिति बनेकाे छ। हरेक दिन पालाे गरेर उनीहरु हेर्न जाने गरेका छन्। तर, तदारुकताका साथ काम नहुँदा ढिलाे हुँदै गइरहेकाे छ। ‘हामी काम लगाएका लगायैछाै,’ उनले भनिन्,‘ठेकेदार हामीलाई पेलिरहेका छन्। त्यसैले बिजुली बल्ने आश मर्दै गएकाे छ।’
ठेकेदार कम्पनीका कारण काम ढिला हुँदा पातरासी गाउँपालिकाकाे लगानी खेर गइरहेकाे उपाध्यक्ष जनमाया राेकायाले बताइन्। ‘काम निकै ढिला भयाे। हामीले जनशक्ति थप्नु भनेर ठेकेदारलाई बारम्बार ताकेता लगाइरहेका छाैं,’ उनले भनिन्, ‘स्थानीय ज्यामी लगाएर काम चाँडाे गर्नु भन्दा पनि अटेर गरेकाे अवस्था छ।’
कुल ४३ कराेडकाे आयाेजनामा ३० कराेड वैकल्पिक ऊर्जाकाे लगानी छ। भने, १३ कराेड पालिका र स्थानीय जनताको लगानी छ। जनताले चुकेनीखाेला सहकारी संस्थामार्फत् आफ्नाे घर जग्गाको लालपुर्जा धराैटी राखेर ६ कराेड बराबरको शेयर लगानी गरेका छन्। ‘बैंककाे ब्याज तिर्नु परिरहेकाे छ,’ पातरासी गाउँपालिकाका अध्यक्ष पूर्णसिंह बाेहाेराले भने, ‘ठेकेदार कम्पनी जति गर्दा पनि टेरिरेहेकाे छैन।’
धेरै हदसम्म जुम्लाले भाेगिरहेकाे बिजुली अभावकाे समस्या समाधान गर्ने भनिएकाे चुकेनी जलविद्युत आयाेजना निर्माणकाे गति धिमा हुँदै जाँदा समस्याहरु थपिदै गएका छन्। त्यसमाथि पावर हाउससम्म ल्याउने मुख्य क्यानलकाे निर्माण नै मापदण्डविपरीत हुँदा ठाउँ-ठाउँमा फुटेर पानी लिकेज भइरहेकाे छ।
गुणस्तरहीन काम भएकाे भन्ने आवाज चर्काे रुपमा उठ्न थालेपछि मुख्य लगानीकर्ता वैकल्पिक ऊर्जाले क्यानलकाे बिल उठाएकाे छैन। आयाेजनास्थल हेरिरहेकाे वैकल्पिक ऊर्जाका पृथ्वी शाहीले क्यानल मापदण्डअनुसार नरहेकाे स्वीकार गरे। ‘चुकेनीखेला सहकारी संस्थाकाे समिति र ठेकेदार कम्पनीबीच तीन पटकसम्म सहमति गरेर क्यानल पुन:र्निर्माण गर्ने विषयमा सहमति भएकाे छ,’ उनले भने, ‘तर भत्काउने काम भएकाे छैन।’
विद्युत आयाेजनामा चुकेनीखाेला सहकारी संस्थाले बैंकबाट ऋण लिएर लगानी गरेकाे छ। सहकारी संस्थाका २५ जनाकाे घर जग्गाकाे लालपुर्जा बैंकमा धराैटी राखिएकाे स्थानीय वीरबहादुर राकायाले बताए। उनले भने, ‘हामी ऋणमा ढुबिराखेका छाैं। काम ढिलाे हुन लाग्याे। भएकाे काम पनि गुणस्तरहीन छ।’
गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेरा आयाेजना चाँडाे सम्पन्न गराउन हर तरहकाे काेसिस गरिरहेका छन्। उनी कहिले ठेकेदारलाई ताकेता लगाउने काम गर्छन् भने कहिले जिल्लाबाट जिम्मेवार व्यक्तिलाई लिएर अनुगमन गराउँछन्।
उनकाे आग्रहमा अनुगमनमा गएका जिल्ला समन्वय समितिका प्रमुख आचार्य गुणस्तरहीन काम हुँदा जुम्लाकाे विद्युत बाल्ने र हालका समस्याहरु समाधान हुने सम्भावना टाढिएकाे ठान्छन्। ‘ठेकेदारले काम चाँडाे र गुणस्तरीय काम गर्नुकाे विकल्प छैन,’ उनले भने।
चुकेनी जलविद्युत आयाेजना निर्माणकाे ठेक्का फेवा कन्स्ट्रक्सन प्रा.लि. पोखराले लिएकाे थियाे। उसले स्थानीयस्तरमा मेगाहाइड्राे एण्ड इन्जिनियरिङमार्फत् काम गरिरहेको छ। मेघाका प्रबन्धक चन्द्र भण्डारीकाअनुसार सुरुकाे दुई वर्ष काेभिडका कारण काम गर्न सक्ने वातावरण बनेन। ‘अब जनशक्ति थपेर पनि काम गर्दैछाैं। क्यानल पुनर्निर्माणकाे काम पनि चाँडै हुनेछ। आउँदाे दसैंसम्म सकाउने लक्ष्य छ।’
उनकाे बाेलीमा स्थानीयकाे भराेसा देखिँदैन। ठेकेदार कम्पनीकै कारण निर्माण कार्य ढिलाे भइरहेकाे पातरासी गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष वीर रावतले बताए। ‘ठकेदारले जति ढिला गरे उति हामीलाई नाेक्सान छ। हामीले छ कराेड लाेन लिएका छाैं,’ उनले भने, ‘अझै पनि ठेकेदारले काम गर्नलाई विश्वासको वातावरण बनिरहेको छैन।’
चारैतिरबाट जनगुनासाे आउँदा मुल ठेकेदारसँग समेत बसेर काम चाँडाे गर्न लगाउने साेचिरहेकाे प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए। ‘काम युद्धस्तरमा नगरे चाँडाे सम्पन्न नहुने देखियाे,’ उनले भने, ‘जनशक्ति थप्ने र गुणस्तरमा समेत ध्यान दिनुपर्ने देखिन्छ।’