कुनै पनि देशले एक्लै आफ्नो समस्या समाधान गर्न सक्दैन । देशको हितका लागि मित्र देश र विश्व मञ्चसँग साझेदारी र सहकार्यको आवश्यकता पर्छ । देशको शासकीय आधार र आवश्यकतामा अन्तर्राष्ट्रिय सम्बन्धको निर्भरता वा परनिर्भरता हुने गर्छ । विश्व मञ्चमा शक्ति, स्रोत, आर्थिक सक्षमता र शासकीय चातुर्यताको प्रभुत्व रहेको छ । विश्वको प्रभावबाट सकारात्मक लाभ प्राप्त गर्न अन्तर्राष्ट्रिय सम्बन्ध प्राथमिकतामा रहेको हुन्छ । मित्र देश र विश्व समुदायसँंग सम्बन्ध बढाइ आफ्नो देशको हित प्रवद्र्धन गर्नु आजको आवश्यकता पनि हो । विश्वव्यापीकरणको सिद्धान्तले पनि विश्व समुदायसँग समाहित भई लागत लाभका आधारमा आर्थिक लाभ प्राप्त गर्न दबाब दिएको छ ।
अन्तर्राष्ट्रिय सम्बन्धको विश्लेषण गर्दा पाँच स (सम्बन्ध, सम्पर्क, स्वार्थ, सन्तुलन र सञ्चार) को आधारबाट हेर्नुपर्ने हुन्छ । अन्तर्राष्ट्रिय सम्बन्धका लागि प्रस्तुत आधारको विश्लेषण गरी प्राप्त निचोडको कार्यान्वयनबाट मात्र सकारात्मक परिणाम प्राप्त गर्न सकिन्छ । भूगोल, राजनीतिक अवस्था, आर्थिक प्रभाव र सामाजिक एवं सांस्कृतिक सम्बन्धको सौहार्दतासहित असल सम्बन्ध स्थापित गर्न अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था, अवसर र चुनौतीका बारेमा मन्थन गर्न खोजिएको छ । भगवान् रामको विवाह राजा जनककी छोरी सीतासँग हुनु भृकुटीको विवाह तिब्बतमा हुनु अन्तर्राष्ट्रिय सम्बन्धका प्रयाय भन्न सकिन्छ । राणा शासनदेखि हालसम्मको अन्तर्राष्ट्रिय सम्बन्धको अवस्था केही अपवादबाहेक सङ्ख्यात्मक रूपमा सकारात्मक नै रहेको पाइन्छ । नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध पञ्चशील सिद्धान्त र असंग्लन वा तटस्थ भूमिकामा छ ।