एक किलो गाँजाले टङ्गाराजुकाे ज्यान लियाे

Photo provided by his family
Photo provided by his family

सिङ्गापुरले गाँजा तस्करीमा दोषी ठहरिएका आफ्नै देशका ४६ वर्षीय नागरिक टङ्गाराजु सुपियाहलाई मृत्युदण्ड दिएको छ।

सुपियाहका परिवार, मानवअधिकारवादी कार्यकर्ता र राष्ट्रसङ्घीय मानवाधिकार उच्चायुक्तको कार्यालयबाट भएको क्षमायाचनाको अनुरोधलाई वेवास्ता गर्दै आज बिहान उनलाई झुन्ड्याइएको हो।

सिङ्गापुर कारागार सेवाका एक जना प्रवक्ताले मृत्युदण्ड दिइएको पुष्टि गरेका छन्। सन् २०१७ मा एक किलो गाँजा बोकेका उनीमाथि तस्करीको षड्यन्त्र गरेको अभियोग लगाइएको थियो। मानवअधिकारवादीहरूले पर्याप्त प्रमाण बिना नै उनलाई दोषी ठहर्‍याइएको तथा अभियोजनको क्रममा सीमित कानुनी पहुँच प्रदान गरिएको दाबी गरेका छन्। सिङ्गापुरका अधिकारीहरूले भने उक्त दाबीलाई निराधार भन्दै मुद्दाको निष्पक्ष सुनुवाई भएको बताएका छन्।

लागू पदार्थविरुद्ध विश्वको सबैभन्दा कठोर कानुन भएको देश सिङ्गापुरमा गत वर्ष ११ जनालाई मृत्युदण्ड दिइएको थियो। ती मध्ये तीन चम्चा हेरोइन तस्करी गरेको आरोपमा दोषी मानिएका बौद्धिकरूपमा अक्षम एक जनालाई पनि फाँसी दिइएको थियो।

विश्वका विकसित देशमा गाँजामाथिको प्रतिबन्ध खुलिरहेका बेला सिङ्गापुर भने लचिलो भएको छैन। छिमेकी मलेसियाले मृत्युदण्डमा संशोधन गरेको छ भने थाइल्याण्डमा गाँजाको कारोबारलाई वैधानिक मानिन्छ। अमेरिकाका केही राज्यमा पनि गाँजालाई औषधीय प्रयोजनका निम्ति खुला गरिएको छ।

प्रकाशित मिति: : 2023-04-26 14:37:00

प्रतिकृया दिनुहोस्