कोही अपरिचितले भेट्यो भने सबैभन्दा पहिले उसले मलाई ‘तपाईं को घर कँहा हो?’ भनेर सोध्छन्। जब म उसलाई मेरो घर काठमाडौँ हो भनेर जवाफ दिन्छु। त्यसपछि उसले फेरि पहाडको घर कता हो भनेर सोध्छ, मैले मेरो पहाडमा घर छैन काठमाडौँ मात्रै हो भन्छु। फेरि उसले आफ्नै हो भनेर सोध्छ, फेरि मैले आफ्नै हो भन्छु। उसले मलाई यसरी हेर्छ कि म कुनै नयाँ ग्रहको मान्छे हुँ।
अधिकांशले मलाई आफ्नै भनेर दुई/तीन पटक सोध्छ्न् र बल्ल चुप लाग्छन्। त्यसमा पनि केहीले हावा गफ दिएको जस्तो गर्छन् र कहिले ‘तपाईं काठमाडौँकै बासिन्दा पनि यस्तो’ भन्छन्। उनीहरुको यस्तो शब्द सायद मेरो सामान्य लवाइ र रुप-रङ्गप्रति लक्षित हुन्छ कि जस्तो लाग्छ। काठमाडौँको स्थायी बासिन्दा हुन सायद मसँग न्यूनतम योग्यता छैन कि जस्तो लाग्छ। तर त्यो न्यूनतम योग्यता के हो मैले आजसम्म बुझ्न सकेको छैन।
त्यसपछि सुरु हुन्छ, कामको कुरा। कामको विषयमा धेरैले ‘काम कता हो? ग्यास (पेट्रोल पम्प) मा कि रेस्टुरेन्टमा?’ भनेर सोध्छन्। सायद अमेरिकामा काम गर्ने यो दुई स्थान मात्र छ वा नेपालीहरु प्राय यी दुई ठाउँमा मात्र काम गर्ने भएर हो। मैले आफूले गर्ने काम भन्यो भने धेरैले बुझ्दैनन् र यो कस्तो काम हो भनेर सोध्छन्। पहिले म यस्तो काम हो भनेर भन्थेँ, अब भने प्रश्न सुनेर वाक्क लाग्छ अनि कसैलाई ग्यास र कसैलाई रेस्टुरेन्ट भनेर भन्छु।
रमाइलो त के हुन्छ भने पहिले जसलाई ग्यास भनेको थिएँ, उसलाई दोस्राे पटक रेस्टुरेन्टभन्दा ऊ अच्चम मान्छ र पहिले यो भनेको होइन भनेर भन्छ। आफैँले भनेको कुरा बिर्सिँदा पनि उसले सम्झिरहेको देखेर उसको स्मरण शक्तिमा डाहा लाग्छ र मनमनै आफ्नो स्मरण शक्ति किन यस्तो कमजोर भएको भनेर दुख लाग्छ।
त्यसपछि सोध्ने प्रश्न हो, ‘तपाईं कुन भिसामा आएको? तपाईंको कागज (चलनचल्तीको भाषामा ग्रीन कार्ड) बन्यो?’ अमेरिकी कानुनअनुसार यस्तो अध्यागमनसम्बन्धी प्रश्न सोध्ने अधिकार आइसीइ अर्थात् आइस (युएस इमिग्रेसन एण्ड कस्टम इम्फ्राेस्मेण्ट) का अधिकारीहरुलाई मात्र छ। त्यो पनि निश्चित स्थान र समयमा मात्र। प्रश्न सोध्न पाउँछु भनेर बाटो बाटोमा पाखुरा समातेर सोध्न पाइन्न।
कुनै सामान्य मान्छेले अर्को मान्छेलाई यो प्रश्न वाक्क लाग्ने गरी सोध्यो भने प्रहरीले उसलाई अनावश्यक हैरानी दिएको अभियोगमा पक्राउ गर्न सक्छ र यो जघन्य अपराध हो। देशको राष्ट्रपतिले समेत सोध्न नपाउने प्रश्न नेपालीहरुले एकअर्कालाई कुन प्रयोजनले सोध्छन्, त्यो मैले आजसम्म बुझ्न सकेको छैन।
यसको साथै काठमाडौँमा घर बनाउनुभयो वा घडेरी किन्नुभयो? यता घर किन्नुभयो? जस्ता बेमतलबका प्रश्न सोधेर हैरान पार्ने उपबुज्रुकहरु पनि नभएको होइन। कसैलाई मन परेको छ कि छैन भनेर कुनै विचारै नगरी प्रश्नहरु सोध्दा उल्टो जवाफ आएर प्रश्न सोध्नेहरु लज्जित पनि हुनुपर्छ। प्राय सबैले यसलाई योसम्म भन्न हुन्छ भनेर भन्ने र भन्न नहुने कुरा ज्यान गए नभन्ने कारण यस्ता प्रश्न सोधेरअरुलाई हैरानी नदिन सम्बन्धित सबैसँग विनम्र अनुरोध छ। उसै पनि अरुको बारेमा त्यस्ता सामान्य जानकारी प्राप्त गरेर पनि त्यसको फाइदा के हुन्छ र त्यो जानकारीले के गर्ने? मैले यसको औचित्य के हो, त्यो बुझ्न सकेको छैन। कसैले यस्तै अनुभव गर्नुभएको छ भने कृपया जानकारी दिनुहोला।धन्यवाद!