सिनियर नेतालाई सिफारिस नगरी रोलक्रम मिचेको भन्दै कर्णाली प्रदेशमा कांग्रेसभित्र रडाको मच्चिएपछि कर्णालीमा मन्त्रिपरिषद् विस्तार रोकिएको छ।
बुधबार ३ बजे हुने भनिएको शपथ अन्तिम समयमा आएर रोकिएको हो। कांग्रेस सभापति शेरबहादुर देउवाले कर्णाली प्रदेशका संसदीय दलका नेता जीवनबहादुर शाहीलाई फोन गरी मन्त्री बनाउँदा न्याय गर्न आग्रह गरे पनि शाहीले नमानेर मनोमानी गरेपछि आज देउवाले मुख्यमन्त्री राजकुमार शर्मालाई फोन गरी शपथ रोक्न आग्रह गरेको स्रोतले बताएको छ।
जाजरकोटबाट राजीवविक्रम शाहलगायतका सिनियर नेतालाई मन्त्री बनाउनुपर्ने देउवाले फोन गरेर भनेको स्रोतले बताएको छ।
मंगलबार नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच बनेको नयाँ समीकरणअनुसार मंगलबार कांग्रेसले तीन जनाको नाम मुख्यमन्त्री राजकुमार शर्मासमक्ष सिफारिस गरेको थियो। तर, सिनियर नेताहरूलाई बाइपास गरिएको र समावेशीतालाई ध्यान नदिएको भन्दै नेताहरूले पार्टीको केन्द्रमा असन्तुष्टि जनाएपछि शपथ रोकिएको हो।
जाजरकोटका प्रदेशसभा सदस्य राजीवविक्रम शाह, सुर्खेतकी जानकी सिंह लगायतका नेताहरूले मन्त्री सिफारिसमा असन्तुष्टि जनाएको बुझिएको छ।
कांग्रेसले मंगलबार सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित सांसद खड्कबहादुर पोखरेललाई सामाजिक विकास मन्त्री, जाजरकोट प्रेदशसभा ‘क’ बाट निर्वाचित बेदराज सिंहलाई आर्थिक मामिला तथा योजना र दैलेख क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित सांसद कृष्णकुमार बिसीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिममेवारीसहित सरकारमा पठाउने भन्दै नाम सिफारिस गरिएको थियो।
शाहले टेलिफोनमा कुरा गर्दै आफू अन्यायमा परेको समेत बताए। प्रधानमन्त्री प्रचण्ड र देउवा अहिले चुनावी कार्यक्रममा बाहिर भएकाले आपसी सल्लाह गरेर मात्र मन्त्रिपरिषद् बारे ठोस निर्णय हुने स्रोतले बताएको छ।