‘छोराको नाम र बाँसुरीको धुन सुन्दा आमाका हर्षका आँसु बग्थे’ (भिडियाेसहित)

हेमन्त विवश

काठमाडौं

बिहानको समय काँधमा झोला भिरेर यात्रारत थिए चर्चित बाँसुरीवादक तथा सङ्गीतकार सुशिल विश्वकर्मा। झोलामा खाँदिएका थिए विभिन्न साइजका बाँसुरी। सङ्गीतको पर्यायवाची जीवन बाँचिरहेका उनका लागि बाँसुरी जीवनको सुन्दर आलाप पनि हो। जीवनको परिभाषा पनि हो। उनले सुरुमा छोएको बाजा भन्नु त्यही बाँसुरी थियो। त्यसैले उनलाई जीउन सिकायो। बाँसुरीका प्वाल जस्ता संघर्ष र दुःखका प्वाल पनि त थुप्रै थिए जीवनमा। उसो त वासु शसीको नाट्य कृतिको नाम ‘बाँसुरीमा नअटाएका धुनहरू’झैं घात, प्रतिघात, दुःख र झमेलाका लहराहरूले पनि बेरि नै रहे बेलाबखत। तर, ती सबैलाई लुकाएर राख्न सहयोगी पनि बनिदियो त्यही बाँसुरी। त्यही सांगीतिक यात्रा।

उतिबेला गाउँ/घरतिर सुनिने सञ्चारको माध्यम भन्नु नै रेडियो नेपाल थियो। रेडियोको साङ्गीतिक कार्यक्रममा बाँसुरीको धुन सुन्दा अहिलेका चर्चित सङ्गीतकार सुशिल विश्वकर्माको मनभित्र एउटा रहर सल्बलाउँथ्यो, ‘मैले पनि यसरी रेडियोबाट बाँसुरी फुक्न पाए...।’ उनलाई थाहा थिएन सङ्गीतकार भनेको के हो भन्ने कुरा। एउटै उद्देश्य थियो राम्रोसँग बाँसुरी फुक्न सिकेर रेडियो नेपालबाट सुनाउने। बेलाबखत सपना देख्थे राम्रोसँग बाँसुरी फुकेको।

मनमा उही एउटै चाहना र भावनाले डेरा जमाइरहन्थ्यो। डाँडाकाँडा, वनपाखा, खोलानाला जता जाँदा पनि उनी छोड्दैन थिए साथमा बाँसुरी बोक्न। एकोहोरो फुकिरहन्थे एकान्तमा। नौ वर्षकै उमेरदेखिको अभिरुचि थियो वाद्यवादनतिर। उसो त घरमा बुबा दशरथ विश्वकर्मा पनि सङ्गीत साधक नै थिए। तथापि, सङ्गीत बुबाको पेसा नभएर रहर थियो। पेसा थियो, सुनका गहना बनाउने।

सर्लाहीको हालको बरथवा नगरपालिका– ७ मा जन्मेका उनको लगाव बाँसुरी वादनमा थियो। विद्यालयस्तरमा हुने साङ्गीतिक कार्यक्रममा सधैँ प्रथम भइरहन्थे। गुरुहरूको माया, साथसहयोगले उनीभित्र ऊर्जा थपिँदै गयो। बाँसुरीप्रतिको उनको लगाव गजबको थियो। विगत सम्झेर बताउँछन, ‘ त्यसै दश बाह्र वर्षको उमेर हुँदो हो। विद्यालयमा एकदिन साङ्गीतिक कार्यक्रममा सम्मानित व्यक्तित्वहरूको पनि उपस्थिति थियो। गुरुले तैले पनि बजाउनुपर्छ भन्नु भएको थियो। तर, कार्यक्रममा मेरो नाम आएन। घर फर्केपछि खुब रोएँ। यतिसम्म कि पुरै रात रोएरै बिताएँ।’

बाँसुरी वादनको कुरा गर्दा भाइ रामहरिलाई सम्झिन्छन् उनी। जसलाई उनले काठमाडौंमा आफूसँगै राखेर पढाए। उनी बताउँछन्, ‘भाइको बाँसुरी फुकाइ त मेरो भन्दा नि राम्रो छ। तर, के गर्नु उसले सौखको रुपमा मात्र लियो। पेसाको रुपमा लिएन।’

एसएलसी परीक्षा दिएपछि जनकपुरस्थित एउटा सांगितिक कार्यक्रममा उनको भेट भयो चर्चित बाँसुरी वाधक जेबी लामासँग। तिनै लामाले प्रेरित गरे काठमाडौँ जान। घरमा आमा बुबाको अनुमति लिएर काठमाडौं पुगेका सुशिल करिब वर्षदिन जति जेबी लामासँगै बसे। लामाले नातीकाजी, गोपाल योञ्जन, नारायण गोपाल, प्रकाश गुरुङ्गजस्ता अग्रजहरूसँग परिचय गराए। एकदिन चञ्चले स्वभावका लामा काठमाडौं छोडेर तराई फर्के। काठमाडौंमा सुशिलका लागि अभिभावक, गुरु, रुमपाटनर सबै थिए जेबी। उनले काठमाडौं छोडेपछि सुशिल निकै अप्ठेरोमा परे। तँ आँट म पुर्‍याउँछु भनेझैँ हुन गयो। २०४१ सालको कुरो हो। एकदिन उनको भेट हुन गयो युक्त गुरुङ्गसँग। सुशिलको ईच्छा, रहर र बाँसुरी वादनको कला देखेर युक्त गुरुङले सोल्टी होटेलमा हुने साङ्गीतिक कार्यक्रममा बाँसुरी बजाउने काम मात्रै मिलाइ दिएनन् केही दिन आफैंसँग लगेर गए। जहाँ बेलुकीको खानासहित पारिश्रमिक मिल्थ्यो मासिक ७५ रुपैयाँ।

त्यतिबेलै प्रज्ञा प्रतिष्ठानमा वाद्यवादनको तालिम खुल्यो। उनी तालिममा सहभागी भए। तालिममा १५० रुपैयाँ भत्तासमेत पाइने भयो। ती दिनहरू सम्झेर बताउँछन् उनी, ‘एकातिर कलेजको पढाइ थियो, अर्कोतिर तालिम थियो। साँझपख सोल्टीमा बाजा बजाउन पुग्नु पर्थ्याे। ती दिन निकै संघर्षपूर्ण थिए।’ उनीभित्र सङ्गीतको प्यास बढ्दै गयो। सङ्गीत सिक्ने चाहना उत्तिकै पलाइरह्यो। अनि पुगे उनी गुरु गोपालनाथ योगी कहाँ। गाउँतिर गोठाले पारामा बजाउने उनलाई गुरुले नियम सिकाए। ‘२०४१ सालमा रेडियो लाेकसङ्गीतमा बाँसुरी बजाउने मान्छे नै थिएन। स्व.युक्त गुरुङ दाइले मलाई रेडियो नेपाल पुर्‍याउनु भयो। स्व. गणेश परियार दाइले टेक वेसिसमा काम गर्ने गरी रेडियो नेपालमा काम गर्ने अवसर मिलाइ दिनुभयो। एउटा गीतमा बाँसुरी बजाए बापत २० रुपैयाँ मिल्थ्यो। पछि २०५० सालमा सोही ठाउँमा स्थायी जागिरे भइयो,’ उनले विगत सम्झिए। त्यही वर्षदेखि रेडियो नेपालमा एरेन्जरको रुपमा पनि चिनिन थाले उनी।

त्यो बेला वाद्यवादकहरू सबै सँगै बसेर बजाउनु पर्थ्याे। लाइभ रेकर्डिङ हुन्थ्यो। शब्द स्वीकृतिको मापदण्ड थियो। नातीकाजी लगायतका केही वरिष्ट सङ्गीतकार अगाडि बसेर सुन्ने गर्थे। कुनै गायकले गाउन नसकेमा रेकर्डिङको मिति सर्थ्याे। महिना दिनपछि मात्रै अर्को मिति पाइन्थ्यो। उनलाई एकादेशको कथा जस्तो लाग्छ अहिले ती दिन सम्झिँदा। हिजो आज वाद्यवादकहरूको प्राय: कसैको कसैसँग भेट हुँदैन। आ–आफ्नो समयमा आउँछन् बाजा बजाएर जान्छन्। बढीजसो किबोर्डका बजाहरू प्रयोगमा ल्याउन थालिएको छ। पहिलो पटक तारा थापाको स्वरमा रेकर्डिङ भएको राम थापाको गीतमा बाँसुरी बजाउने मौका पाएका थिए। लोकगीतमा बजाउँदै जाने क्रममा उनको बाँसुरी बजाउने कला मन पराएर नातीकाजीले आधुनिक गीतमा समेत उनलाई नै बजाउने अवसर दिए।

बाँसुरी बजाउँदा बजाउँदै उनले सङ्गीत सिर्जना समेत गर्न थाले। आकाश अधिकारीकाे शब्द र लोचन भट्टराईको स्वरमा रेकर्ड भएको ‘हृदय छोई गरेँ पूजा ढुङ्गा पो रहेछौं’ बोलको गीतमा उनले पहिलो पटक सङ्गीत भरेका थिए। जुन गीत त्यतिबेला निकै चर्चित भयो। आधुनिक गीत, भजन, राष्ट्रिय गीत, जनजागरण गीतलगायत करिब हजार गीतमा उनले सङ्गीत भरिसकेका छन्। अन्न जोख्ने माना पाथी सुन जोख्ने तोला, मेरोहजुर तस्बिरमै मुस्कुराउनु हुन्छ, पर्खि बस तिम्रो आफ्नै छायाँ बनी आउँछु लगायत थुप्रै चर्चित गीतहरू छन् उनले सङ्गीत भरेका।

सुरुमा घर छोडेर काठमाडौँको यात्रा गर्न थाल्दा दुखित बनेकी आमा रेडियो नेपालको चौतारी कार्यक्रमबाट छोराको नाम र बाँसुरीको धुन सुन्दा हर्षका आँसु बगाउनुहुन्थ्यो। जो आज यस धर्तीमा हुनुहुन्न। बुबा आमा दुबैले एकै वर्ष छ महिनाको अन्तरमा धर्ती छोड्नुभयो।

कैयौं अग्रज र अनुजहरूसँग सामिप्यता बढ्न गयो। विदेशबाट समेत साङ्गीतिक कार्यक्रमको निम्तो आउन थाल्यो। हङकङ, लण्डन, जर्मनी, ब्रुनाई, सिङ्गापुर, कोरिया लगायतका कतिपय देशमा त दुई/तीन पटकसम्म साङ्गीतिक यात्रा गर्न पाए। बाफलमा बास बस्ने आफ्नै घर निर्माण गरे। बिस्तारै काठमाडौं आफ्नो बन्न थाल्यो। काम गर्दै जाने क्रममा जीवनमा देखा परेका घात प्रतिघातहरूले केही तितो अनुभव नभएको हैन। परेलीका डिल नभत्केका हैनन्। बाँसुरीको धुनझैं एकान्तमा लामो सुस्केरा हाले, नीलो आकाश हेरे। त्यतिबेला पनि बिरक्तिने मनलाई कावुमा पार्ने, धैर्यधारण गर्न सिकाउने र आनन्दित तुल्याउने भनेको त्यही सङ्गीत बन्यो। त्यसैले त उनी भनिदिन्छन्, ‘सङ्गीत जिन्दगी हो। सङ्गीत बिनाको जीवनको कल्पना समेत गर्न सक्दिनँ।’

देशको परिस्थिति र छोराछोरीको पढाइलाई मनन् गरी एकदिन उनले अमेरिकन दुतावासमा भिसाको लागि एप्लाइ (आवेदन) गरे। ३० वर्ष रेडियो नेपालमा काम गरेका उनी ८ वर्ष अघि स्वेच्छिक अवकाश लिएर अमेरिकातिर हानिए। त्यहाँ पनि उनको मन अडिन सकेको छैन। वर्षेनि नेपाल आइरहन्छन्। दुई वर्षपछि अमेरिका छोडेर नेपालमै केही गर्ने सोचमा पनि छन् उनी। उसो त अमेरीकामा पनि उनी आफ्नै पेसा अपनाइरहेका छन्। फरक क्षमताका बालबालिकालाई सङ्गीतका माध्यमबाट मनोरञ्जन दिने देखि सङ्गीत सिकाउने काम गर्छन्। बेलाबखत साङ्गीतिक जमघट भइरहेकै हुन्छ। तथापि, उनलाई आफ्नै देशको माया छ। उनी बताउँछन्, ‘त्यहाँ कामको मूल्याङ्कन छ। काम अनुसारको पारिश्रमिकता मिल्छ। यहाँ छैन। त्यति मात्रै हो नत्र त आफ्नो मुलुक भनेको आफ्नै हो। अर्काको देशमा काम गर्न सजिलो कहाँ छ र।’

पछिल्लो समय नेपालको साङ्गीतिक वातावरण बिथोलिए जस्तो लाग्छ उनलाई। युट्युबबाट सिकेर काम चलाइदैछ। पहिलेका जस्ता गीत पनि बने जस्ता लाग्दैनन्। नयाँ आएका गायक गायिकाहरूमा अभ्यासको कमि देख्छन्। यसै प्रसंगमा उनी बताउँछन्, ‘पश्चिमाहरू नेपाली म्युजिक भनेपछि हुरुक्क हुन्छन्। हाम्रा मौलिक बाजा देख्दा अनुसन्धान गर्न खोज्छन्। हामी हाम्रा मौलिक बाजा त्यागेर किबोर्ड मात्रै प्रयोग गरिरहेका छौं। हाम्रा मौलिक बाजा हराउँदै छन्। लोकगीत लोकभाका सुन्दा सुनाउँदा आनन्द लाग्छ। पछिल्लो पुस्ताले सङ्गीतमा मेहनत गर्नु पर्थ्याे। त्यो हुन सकेको छैन। सरकारी तवरबाट पनि निरीक्षण हुनुपर्ने हो। सामाजिक सञ्जालमा गीतका नाममा छाडापन बढेको छ। विकृति बढ्दै गइरहेको छ। यस्तै हो भने भोलि गएर नेपाली सङ्गीत लोप हुन पनि सक्छ।’

कैयौं अग्रजका गीतमा बाँसुरी बजाए। कैयौं धुन सिर्जना गरे। जीवनभर संघर्षको गोटोमा यायावर बनिरहे। यही दौरानमा मञ्जुश्री सङ्गीत विद्यालयबाट मास्टर्स डिग्री गरे। कतिपय ठाउँमा पुरस्कार पाए। कतै अभिनन्दित भए। कहिले एक प्लेट मःमः मै छाक टारे भने कहिले एक कचौरा चाउचाउमै पनि चित्त बुझाए। कामकै सिलसिलामा पनि कयौं हण्डर खाए। कहिल्यै पनि कुनै नेता र पार्टीसँग नजिक हुन चाहेनन्। मात्र आफैंसँग आफ्नै सङ्गीतसँग त्यही बाँसुरीको धुनसँग सम्वाद गरिरहे। आफ्नो स्वाभिमान गुमाएनन्। लोभलालच गरेनन्। मात्र कर्म गरिरहे। एक मौलाना बनेर मुस्कानभित्र पीडा लुकाइरहे। देखाएनन कसैलाई। केवल सङ्गीत मात्र भनिरहे। सौन्दर्य र गरिमाले भरिपूर्ण जिन्दगीलाई सरल ढंगले डोर्‍याइरहेका छन् साङ्गीतिक गोरेटोमा। आध्यात्मिक विचार बोकेका उनी बताउँछन्, ‘यदि अर्को जुनी मिल्ने हो भने भगवानसँग यही प्रार्थना गर्छु कि अर्को जन्ममा पनि बाँसुरी नछुटोस्। सङ्गीत नछुटोस्। यस क्षेत्रमा अझ अरु ज्ञान लिन सकुँ।’

उनी एक शक्तिशाली कलाकार हुन्। जो लामो समयदेखि श्रोताहरूलाई मोहित पार्ने खालका सङ्गीत सिर्जना गरिरहेकै छन्।

प्रकाशित मिति: : 2023-04-19 22:00:00

प्रतिकृया दिनुहोस्