यतिबेला ‘नेशनल चेस च्याम्पियन’ बन्ने दौडमा छन्, खेलाडी। वैशाख ५ गते हुने ‘चेस च्याम्पियन’ जित्नका लागि लागि दिनरात नभनी खेलको तयारीमा जुटिरहेका छन्, चेस खेलाडी। त्यही तयारीमा लागिरहेका छन्, राजन पुरी।
तीन वर्षदेखि मानव सेवा आश्रममा रमाइरहेका उनी अनलाइनमार्फत चेसको तयारी गरिरहेका छन्। हिजाेआज दिनकाे पाँच पटक चेस खेल्न उनी भन्छन्, ‘मसँग बुद्धिचाल खेल्नका लागि आश्रममा कोही छैनन् साथी। त्यसैले अनलाइनबाटै चेसको तयारी गरिरहेको छु।’
गत महिना भक्तपुरमा आयोजना भएकाे ‘नेशनल बी च्याम्पियन’ मा छनोट भएका उनी अहिले ‘नेशनल च्याम्पियन’ बन्ने तरखरमा छन्।
अहिलेकाे उनकाे सपना भनेकै ‘नेशनल चेस च्याम्पियशन सीप’ को उपाधि उचाल्ने हाे। ‘चेसमा नेपालकै च्याम्पियन हुने सपना छ, त्यसैले तयारी गरिरहेकाे छु’ उनले सुनाए।
१५ वर्षकाे उमेरदेखि चेस खेल्न सुरू गरेका उनलाई अहिले एउटै कुराकाे थकथकी छ, ‘मैले याे खेलकाे तयारी दुई दशकअघि नै गर्नुपर्थ्याे। अहिले म नेपालकाे च्याम्पियन भइसक्थेँ। पहिलेदेखि तयारी नगरेकाे कारण पछुताे लागिरहेकाे छ।’
राजन पुरी यसरी बने ‘चेस’ खेलाडी
वि.स. २०३९ सालमा ललितपुरको लुबुमा जन्मिएका राजन पुरी परिवारका कान्छाे छाेरा हुन्। उनकी एक दिदी छिन्। पुर्ख्याैली घर ललितपुर भएपनि खान लगाउन मुस्किल थियाे।
बाआमा मजदुरी गर्थे। एकदिन काममा नजाँदा हातमुख जाेड्न हम्मेहम्मे पर्थ्याे। ‘पुर्ख्यौली जग्गा थोरै थियो, समस्या धेरै त्यसैले एउटा भएको जग्गा पनि बेच्नुपर्थ्यो’, उनी सम्झिन्छन्, ‘बाआमा एकदिन काममा नजाँदा खानका लागि समस्या पर्थ्यो।’
घरकाे आर्थिक स्थिति नाजुक भएपनि बाआमाले उनलाई जसाेतसाे पढाइरहेका थिए। तर उनकाे पढाइ बिचमै राेकियाे। जब उनका बाआमाकाे निधन भयाे। ‘बाआमाले दुख गरेर पढाइरहनुभएको थियो तर उहाँहरुको निधनले मेरो पढाइ रोकियो’, उनले भने।
सानै उमेरमा अभिभावक गुमाएका उनी पराइ घर गएकी दिदीसँग असनमा बस्न थाले। उनले त्यहीँबाट आफ्नो अध्ययन सुरु गरे। पढाइ पढ्न पाउँदा खुसी थिए, राजन। उनी पढाइसँगै खेलकुदमा पनि उत्तिकै माहिर थिए। तर १२ वर्षकाे उमेरमा उनीमाथि बज्रपात पर्याे। उनी ‘मस्कुलर डिस्ट्रोफी’ काे राेगी भए।
वंशाणुगत समस्या आफूमाथि सरेपछि उनी दुखी हुन थाले। उनलाई बस्न र उठ्न सहारा चाहिने भयो। ‘मेरो खेलकुदमा पहिलेदेखि नै चासो थियो। म खेलाडी बन्न चाहन्थेँ’, बिएल नेपाली सेवासँग उनले भने, ‘तर दुर्भाग्यवश मेरो सपना अधुरो भयो। म अपाङ्ग भएँ।’
शरीर कमजाेर भएपनि उनले जसाेतसाे २०५३ सालमा ‘एसएलसी’ दिए। त्यसपछि उनले २०५४ सालदेखि दुई जना बसेर खेलिने खेल चेस खेल्न सुरु गरे।
‘खेलाडी बन्ने मेरो सानैदेखिको सपना थियो, तर मेरो शरीरले साथ दिएन। त्यसैले चेसको खेलाडी बन्ने निर्णय गरेँ’, उनले भने, ‘चेस खेल्न कुनै शारीरिक बल चाहिँदैन, मेरो लागि उपयुक्त खेल हो।’
चेस खेल्न कसैले नसिकाएका उनले आफैँ सिके। चेसप्रतिको उनको लगाव देखेर चेसका मास्टरहरुले उनलाई चेसकाे खेलकाे ‘गाेट्टी’ चाल्न सिकाउन थाले। ‘मेरो खेल देखेर मलाई सबैजनाले खेल्न सिकाउनुभयो, जसकारण मभित्र झनै चेसप्रति चासो बढ्न थाल्यो’, उनले भने।
चेस खेलमा रमाउन थालेका उनले विभिन्न प्रतियाेगितामा सहभागिता जनाउँदै जित्न थाले। उनी कयाैँ पुरस्कारबाट पुरस्कृत भए। ‘मैले धेरै खेलहरु जितेँ तर सबै याद छैन’, उनले सुनाए।
चेस खेलेर उदाइरहेका थिए, राजन। २०६० सालमा उनी ‘स्पेन क्वालिफाइड’ मा पर्न सफल भए तर पैसा नभएकाे कारण उनले बाहिर गएर खेल्न पाएनन्।
आफूसँग याेग्यता भएकाे तर पैसा नभएकाे कारण बाहिर जान नपाएकाेले उनले २१ वर्षकाे उमेरदेखि मद्यपान गर्न सुरू गरे। ‘मेरो योग्यता पैसासँग तुल्यो’, उनले भने, ‘त्याे कुराले मेराे मन दुख्याे, त्यसैले रक्सी पिउन थालेँ।’
स्पेन जान नपाएका उनकाे चेसप्रति उतिकै लगाव थियो। उनले २०६२ सालमा भएको ‘दिपेन्द्र कप’ मा सहभागिता जनाए। उनी विजेता पनि भए। त्यही साल उनी ‘इटालियन’ का लागि क्वालिफाइड भए। पैसाकै कारण दाेस्राे पटक पनि बाहिर खेल्न नपाएका उनी निराशिन थाले।
दुई वटा खेल खेल्न नपाएपछि उनकाे दैनिकी बन्याे, बिहानदेखि साँझसम्म रक्सी पिउनु। ‘मेराे मनभित्र भएकाे पीरले मलाई जँडिया बनायाे’, उनले भने।
दिनरात रक्सी पिएर चेस खेल्न जाँदा उनलाई देखेर अरु प्रतियोगीहरुले नाक थुन्दै भन्ने गर्थे, ‘ह्वास्सै रक्सी गन्हाउने जँडिया आयो।’ आफ्नो प्रतियोगीहरुले त्यसो भनिरहँदा चित्त दुखाएका उनले रक्सी पिउन भने छाडेनन्। ‘साथीहरुले त्यसरी बिल्ला गर्दा नमज्जा लाग्थ्यो तर म बेवास्ता गरिदिन्थेँ’, उनले भने, ‘तर रक्सी पिउन छाडिनँ।’
खाना नखाइ रक्सी पिउने उनी ९ महिना सुधार केन्द्र बसे। ‘मैले रक्सी छोड्न धेरै कोशिस गरेँ तर सकिनँ, त्यसपछि सुधार केन्द्र बसेँ’, उनले सुनाए।
रक्सी छोड्नका लागि सुधार केन्द्र बसेका उनी ९ महिनापछि घर फर्किए। दिदीको घर छाडेर उनी थापाथलीमा डेरा लिएर बस्न थाले।
एक्लै डेरा लिएर बस्न थालेका उनले झनै पिउन सुरु गरे। ‘दिदीको घरमा कहिलेकाहीँ गाली खान्थेँ तर एक्लै बस्न थालेपछि झनै ट्वाँके भएँ’ उनले सम्झिए। रक्सीलाई उनी जिउने सहारा सम्झिन्थे। दुख भुलाउने र खुसी बनाउने साथी, रक्सी।
२०७६ सालमा राजन थापाथलीकाे एक पसलमा रक्सी पिएर सडकपेटीमा सुतिरहेका थिए। रातकाे ११ बजे मानव सेवाको टोलीले उनकाे उद्धार गर्यो र रानीवनमा रहेको आश्रम पुर्यायो। रक्सीले झल्लु भएका उनको चेकजाँच गराइयो। जसबाट थाहा भयो, उनको कलेज सुन्निएको रहेछ।
‘जब मैले मेरो कलेजो सुन्निएको कुरा थाहा पाएँ, तबदेखि मैले रक्सीलाई हात लगाउन छोडेँ’, उनले भने, ‘मलाई आश्रमले नयाँ जीवन दियो।’
आश्रम आएर बदलिएका उनले चेसलाई निरन्तरता दिन थाले। त्यसपछि उनलाई साथीहरूले समेत प्रशंसा गर्न थाले। ‘मैले रक्सी पिउँदा जुन साथीले मलाई घृणा गर्थ्याे, तीनै साथीहरुले मेरो खेलको तारिफ गर्न थाले’, उनले भने।
चेस खेलमा माहिर उनले नेपालका ‘नेशनल चेस च्याम्पियन’ भएका ४ जनालाई प्रतिस्पर्धामा हराइसकेका छन्। त्यसैल त राजन पुरीसँग चेस खेल्दा हच्किन्छन्, च्याम्पियन।
‘मैले नेपालकै चार जना च्याम्पियनहरुलाई त हराइसकेको छु, त्यसैले उनीहरु मसँग चेस खेल्न डराउँछन्’, उनले भने, ‘उनीहरुलाई चेसमा हराए पनि नेपालकै च्याम्पियन हुन चाहिँ सकेको छुइनँ तर बन्ने तयारीमा छु।’
विगतमा आफूले गरेकाे काम देखेर आफैँ दगं पर्ने राजन भन्छन्, ‘अहिलेको यो जीवन देखेर म धेरै खुसी छु। मैले नयाँ जीवन पाएको छु। अब म नेशनल च्याम्पियन बन्न चाहन्छु।’
रक्सी पिउने बानी त्यागेर नेशनल च्याम्पियन बन्ने लक्ष्य लिएका राजन पुरीलाई जितकाे धेरै–धेरै शुभकामना!