अमेरिकाको केन्टकी मास सुटिङका बन्दुकधारी श्वेत युवक भएको पुष्टि

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकाको केन्टकी राज्यको लुइभिलस्थित ओल्ड नेशनल बैंकमा सोमबार विहान भएको 'मास सुटिङ'मा मृतकको संख्या पाँच पुगेको छ। नौजना घाइतेमध्ये गम्भीर घाइते डियना इकर्टको मृत्यु भएपछि मृतकको संख्या चारबाट पाँच पुगेको हो। अर्को एक घाइतेको अवस्था पनि चिन्ताजनक भएको बताइएको छ।

यसअघि थोमस इलियट (६३), जुलियाना किसान (४६), जेम्स टट (६४) र जोशुआ ब्यारिक (४०) को मृत्यु भएको घोषणा गरिएको थियो। 

बन्दुकधारी २५ वर्षीय श्वेत युवक कन्नर स्टर्जन प्रहरीसँगको दोहोरो भिडन्तमा मारिएका हुने वा आत्महत्या गरेका हुन् यसै भन्न सकिएको छैन। सुरूमा सुरक्षाकर्मीसँग भिडन्तमा मारिएको भनिए पनि पछिल्लोपटक उनले आत्महत्या गरेको बताइएको छ।   

बन्दुकधारी स्टर्जनले गत साता कानूनी रूपमै बन्दुक किनेको बताइएको छ। 

ओल्ड नेशनल बैंकमा कार्यरत स्टर्जनलाई छिट्टै नै निस्कासन गर्न लागिएको बताइएकाले उनी बैंकका उच्च अधिकारीहरूसँग रूष्ट थिए। त्यही रिसको आवेगमा उनले बैंकका उच्च अधिकारीहरूलाई नै निशाना बनाएको हुनसक्ने आशंका गरिएको छ।

घटनामाथि अनुसन्धान जारी रहेको बताइएको छ। 

यस वर्ष अमेरिकामा चारजनाभन्दा बढी मारिएका मास सुटिङको संख्या १५ पुगेको छ। मास सुटिङ सामान्य भैरहेको अमेरिकामा हरेक साता कुनै न कुनै सहरमा मास सुटिङ भैरहेका छन्। 

अमेरिकाका पछिल्ला मास सुटिङका अधिकांश घटनामा श्वेतहरूको संलग्नता रहेको पाइएको छ। अपराधशाश्त्री तथा समाजशास्त्रीहरूले यसबारेमा अध्ययन गरिरहेको बताइन्छ। बन्दुक सहजताका कारण बढ्दो जातिय घृणाका घटनालाई पनि मानसिक समस्या भनेर पन्सिने गरिएको छ।  यसले पनि घटनाहरू घट्नेभन्दा पनि बढ्ने क्रम हुनसक्ने अनुमान गरिएको छ। 

प्रकाशित मिति: : 2023-04-12 02:39:00

प्रतिकृया दिनुहोस्