हाम्रो मुलुक विकासशील भए पनि यहाँका बासिन्दा सम्पन्न छन् भन्ने सुन्दा धेरैलाई आश्चर्य लाग्ला । नेपाल र नेपालीलाई संकेत गर्दै राखिएको स्तम्भको शीर्षक उपयुक्त छ–छैन ? पाठकबाटै मूल्यांकन हुने नै छ । विकसित मुलुकको सूचीमा प्रवेश नगरेसम्म नेपाललाई सम्पन्न मुलुक मानिँदैन । तर, मुलुक विपन्न भए पनि यहाँका जनता भने व्यवहारमा सम्पन्न देखिन्छन् । जीवनयापनको आन्तरिक हैसियत र अवस्था जेजस्तो भए पनि हेर्दा सबै नेपाली सुखी र सम्पन्न देखिन्छन् । पेसा र व्यवसायको आधारमा नेपाली जनतालाई विभिन्न समूहमा वार्गीकृत गर्न सकिन्छ । आर्थिक हैसियतको आधारमा सम्पन्न, अर्धसम्पन्न र विपन्न गरी नेपालीलाई तीन समूहमा वर्गीकृत गर्न सकिन्छ । तर, सत्तासिन नेताको व्यवहारले भने कुनै पनि नागरिक विपन्न छैनन् भन्ने संकेत गर्दछ ।
राज्यले नागरिकलाई विपन्न नदेखे पनि व्यावहारिक यथार्थता त्यो होइन यहाँ साँझ बिहानको छाक टार्न धौ धौ पर्ने जनता अनेकौं छन् । सम्पन्न व्यक्ति सुखी र सुविधाभोगी छन् । विपन्न सधैंका गरिब र दयनीय बन्दै छन् । विपन्न समुदायकै माध्यमबाट सत्तामा पुगेका नेता दिनमा दुई गुणा रातमा चौगुणा सम्भ्रान्त बन्दै छन् । विपन्न जनताकै नाममा दातृ राष्ट्र र निकायले प्रदान गरेको सहयोग नेताको निम्ति स्थायी आम्दानीको स्रोत बन्दै आएको छ । तर, विपन्न जनताको आर्थिक स्रोत सुक्दै जाँदा विदेश पलायन भइरहेका छन् । सत्तालाई रोजगारीको पेसा ठान्ने नेताले नै जनतालाई रोजगारी दिलाउन आवश्यक ठान्दैनन् । हुन त सम्पन्न राजनीतिकर्मी र विपन्न नागरिक सबै नेपाली जनता नै हुन् । तर, यी दुईमा भिन्नता किन ? यस आलेखले यही सवालको जवाफ खोज्ने प्रयास गरेको छ ।