विराट गोल्डकप : उपाधिका लागि भारतको लुका सकर र विराटनगर खेल्दै

पहिलो पटक देश बाहिरको प्रतियोगितामा सहभागी भएको भारतको केरेलास्थित लुका सकर क्लब विराटनगरमा जारी सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेको छ। उपाधिका लागि लुका सकरले अब घरेलु टिम विराटनगर सिटी एफसीको सामना गर्नुपर्नेछ।

विराटनगर भने ६१ वर्षपछि फाइनलमा प्रवेश गरेको हो। तत्काली महेन्द्र गोल्डकपमा विराटनगरले दुई पटक फाइनलमा पुग्दै एक पटक उपाधि हासिल गरेको थियो।

सातौं संस्करणको विराट गोल्डकप फुटबलको फाइनलमा पुगेका पाहुना टोली भारत केरलाको लुका सकर क्लब र घरेली टिम विराटनगर सिटी (बीसीएफ) उपाधि आफ्नो पक्षमा पार्न आत्मविश्वासी देखिएका छन्।

महेन्द्र गोल्डकप हुँदा घरेलु टिम मोरङ ११ २०१८ र ०१९ मा फाइनलमा पुगेको थियो। ०१८ मा भारतको कलकत्तोसँग फाइनलमा पराजित भएको घरेलु टिम मोरङ ११ ले ०१९ मा भने उपाधि हात पार्न सफल भएको थियो। त्यसयता फाइनलमा पुग्न नसकेको नेपाल करिब ६ दशकपछि फाइनलमा प्रवेश गरेको हो।

सातौँ संस्करणको फाइनल खेल भोलि (बिहीबार) विराटनगरस्थित शहिद रंगशालामा हुँदैछ। खेल नेपाली समयअनुसार साँझ ६:४५ बजे हुने आयोजकले जनाएको छ।

६१ वर्षपछि फाइनलसम्मको यात्रा तय गरेको विराटनगर घरेलु दर्शकको उपस्थितिमा उपाधि रक्षा गर्ने रणनीतिमा छ। यता, पहिलो पटक सहभागी जनाउँदै फाइनलसम्म पुगेको लुका सकर पनि कुनै हालतमा उपाधि आफ्नो हातमा पार्ने दाउमा छ।

बधुबार विराटनगरमा भएको प्रि–म्याच कन्फ्रेन्समा दुवै टोलीका प्रशिक्षक र टिम कप्तानले उपाधि जित्नेमा ढुक्क भएको बताए। विराटनगर सिटीका प्रशिक्षक सन्तोष न्यौपानले घरेलु मैदानमा उपाधि जित्ने टिमको लक्ष्य भएको बताए। यस्तै विराटनगर सिटीका कप्तान बिसाल श्रेष्ठले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे।

यता लुका सकरका प्रशिक्षक नभास नोका र कप्तान अर्सादले अगाडिका खेलमा जसरी नै आफ्नो टिमले खेल्ने बताए। उपाधि हात पार्नका लागि फाइनलमा उत्कृष्ट प्रदर्शन गर्ने उनीहरुले बताए।

विराटनगर समूह ‘ए’ र लुका सकर समूहको ‘बि’ को विजेता बन्दै फाइनल प्रवेश गरेका हुन्। विराटनगर विभागीय नेपाल पुलिस क्लब र जावलाखेल युथ क्लबलाई हराउँदै फाइनलमा प्रवेश गरेको हो। लुका सकरले संकटा क्लब र साविक विजेता विभागीय टिम एपीएफलाई हराउँदै फाइनलमा विराटनगरसँगको भेट पक्का गरेको हो।

गत चैत ९ गतेबाट सुरु भएको गोल्डकपको बिजेताले २० लाख १५ हजार र उपबिजेता १० लाख १५ हजार रुपैयाँ नगद प्राप्त गर्नेछन्।

प्रकाशित मिति: : 2023-03-29 12:48:00

प्रतिकृया दिनुहोस्