बालीमा ‘अर्धनग्न’ रसियनः हैरान छन् इन्डोनेसियालीहरू

बिएल संवाददाता

बाली, इन्डोनेसिया
BreaknLinks
BreaknLinks

इन्डोनेसियाको बाली–टापू रूसी र युक्रेनी नागरिकहरूका लागि युद्ध छल्ने आश्रयस्थल बनेको छ। हजारौं युक्रेनीहरू रूसी बमबारी र धेरै रूसीहरू सेनामा भर्ती हुनबाट बच्न बाली सरेका छन्। वास्तवमा इन्डोनेसियाले दुवै देशका लागि भिसा अन अराइभलको सुविधा दिएको छ। तर पर्यटकको भीडमा अभ्यस्त बाली विदेशीहरूको चटक देखेर हैरान छ।

केही दिनअघि एक रुसी नागरिक पवित्र मानिने सातवर्ष पुरानो रुखमा चढे। त्यो पनि कपडाबिनै। बालीमा आधा लुगा लगाएर सडकमा हिँड्ने रुसी नागरिकहरू देखिनु सामान्यजस्तै छ। बढ्दो दुईपाङ्ग्रे सवारी दुर्घटनाका लागि रुसी र युक्रेनी पर्यटकलाई बालीको स्थानीय सरकारले मुख्य जिम्मेवार ठहराएको छ।

छोटो अवधिको पर्यटक भिसामा बाली आएका रुसी र युक्रेनी नागरिकले जागिरका लागि आवेदन दिन थालेका छन्। बालीको सडकमा यसरी घुम्ने रुसी युवाहरू दिनदिनै बढिरहेका छन्। बालीका गभर्नर वायन कोस्टरले इन्डोनेसियाली सरकारलाई रुस र युक्रेनलाई दिइने भिसा अन अराइभल सुविधा अन्त्य गर्न आग्रह गरेको बताएका छन्।

बाली टापुमा पर्यटकहरूको भीड कुनै नौलो कुरा होइन। विगतमा पनि पर्यटकहरू उग्र बन्दा कैयौँ घटना भएका छन्। तर पछिल्लो समय सामाजिक घटनामा कमी आएको अधिकारीहरू बताउँछन्। रुसी नागरिकले बाटोमा हिँड्दा–हिँड्दै पर्खाल र निजी घरका भित्ता कोरिरहेका छन्। अनुमपतिबिना युद्धविरोधी चित्र बनाएको देख्दा आक्रोशित हुन्छन्। तर केही गर्न सक्दैनन्। एक वर्षयता यस्ता घटनाको संख्या धेरै गुणाले बढेको स्थानीय अधिकारी बताउँछन्।

३३ वर्षीय टुर गाईड आइ व्यान परडिका भन्छिन्, ‘उनी (रुसी–युक्रेनी)हरू आफ्नै संसारमा बाँचिरहेका छन्। उनीहरू अरू कसैको वास्ता गर्दैनन्। उनीहरु आधा नाङ्गै भएर सडकमा हिड्नु सामान्य बनिसक्यो। जबकि हामीहरु देख्न पनि लाज मान्छौँ।’ बालीका मानिसहरू पहिले रूस र युक्रेनका नागरिकप्रति सहानुभूति राख्थे। तर अहिले उग्र बन्दै जाँदा दिक्क बनिसकेका छन्। कतिपय रुसी नागरिकले बालीमा आफ्नै कार र घर भाडाको व्यवसाय सुरु गरेका छन्।

पर्यटक भिसामा आएका आगन्तुकहरूका लागि त्यसो गर्नु इन्डोनेसियाली कानुनको उल्लङ्घन हो। लक्जरी जुत्ता ब्रान्डका संस्थापक निलुह जेलान्टिक भन्छन्, ‘हामीले उनीहरूका लागि घर र हृदय खोल्यौं। तर उनीहरूले हाम्रो उदारताको गलत फाइदा उठाइरहेका छन्।’

पछिल्लो समय ५८ हजार रुसी र ७ हजार युक्रेनी नागरिक बाली पुगेका छन्। यसवर्षको जनवरीमा मात्रै २२ हजार ५ सय रुसी नागरिक बाली पुगेका थिए। इन्डोनेसियाले ८५ देशलाई भिसा अन अराइभल सुविधा दिएको छ। रुस र युक्रेनलाई मे २०२२ मा मात्र यसमा समावेश गरिएको थियो। इन्डोनेसियामा दुई पाङ्ग्रे सवारी साधन यातायातको मुख्य साधन हो। पछिल्ला केही वर्षयता दुर्घटना निकै बढेको छ। बालीले विदेशी नागरिकलाई दुई पाङ्ग्रे सवारीसाधन चलाउन प्रतिबन्ध लगाइएको छ।

बाली आएका अधिकांश रुसी नागरिक गाउँ तहबाट आएको रुसी डिजिटल आर्टिस्ट ग्रशान्ति होलोन बताउँछन्। बालीको पर्यटन एजेन्सीले अहिले अंग्रेजी, रुसी र फ्रेन्च भाषामा साइनबोर्ड राख्न थालेको छ। यी साइनबोर्डहरूमा विदेशीलाई राम्रो व्यवहार गर्न अपील गरिएको छ। कतिपय बोर्डमा सामाजिक सञ्जालमा अश्लील तस्बिरहरू पोस्ट नगर्न लेखिएको छ। बिकिनीजस्ता कपडाहरू सही ठाउँमा लगाउनुपर्ने स्थानीयहरू बताउँछन्। विदेशीहरूले नियम उल्लंघन गरेमा जरिवाना हुने र देश निकाला गर्न सकिने समेत निर्देशन दिइएको छ।

अहिले बालीमा चर्को बहस चलिरहेको छ, गभर्नरले रुसी र युक्रेनी नागरिकलाई एउटै समूहमा राखेकोमा इन्डोनेसियाका लागि युक्रेनका राजदूत भासिल हमियानिनले आपत्ति जनाएका छन्। उनले गभर्नरलाई भेटेर इन्डोनेसिया सरकारको तथ्याङ्कअनुसार गत साता बालीमा ५६ वटा दुर्घटना रुसी नागरिकले गराएको स्मरण गराएका छन्। उनका आफ्ना नागरिक युद्धका कारण बालीमा बस्न बाध्य छन्, तर प्रायः आफ्नो देश फर्कन चाहन्छन्।

सामाजिक सञ्जालमा भेटिएको भिडियोमा एक रुसी युवा बालीको पवित्र पहाडमा लुगा लगाउँदै थिए भने अर्को भिडियोमा कथित रुसी युवाले स्थानीय सुरक्षा गार्डसँग झडप गरेका थिए। पवित्र पर्वतमा लुगा लगाउने रुसी युवा युरी चिलिकिनले गत बिहीबार माफी मागेका थिए। गत सेप्टेम्बरमा मस्कोबाट बाली गएकी ३३ वर्षीया इन्जिनियर एलेना पोज्न्याकोभाले रुसी नागरिकको असभ्यता देखेर आफूलाई लाज लागेको बताएकी छिन्।

एलेना आफ्नो पति छोरीसँग बस्छिन्। उनले रुसी नागरिकको अभद्र व्यवहार धेरै पटक देखेको बताइन्। तर, स्थानीयको आक्रोशका बाबजुद पनि उनीहरूको आतिथ्यमा कुनै फरक नपाएको उनी बताउँछिन्। इन्डोनेसियाको कानुन र मानव अधिकार मन्त्रालयका अध्यागमन महानिर्देशक सिल्मी करिमले बालीका गभर्नरले भिसा अन अराइभल अन्त्य गर्न गरेको अनुरोधलाई अझै पनि विचार गरिँदै आएको बताइन्। थाइल्याण्डको फुकेट–टापूमा पनि थुप्रै रुसी पर्यटक छन्।

(यो सामग्री द न्युयोर्क टाइम्सको सहयोगमा तयार पारिएको हो।)

प्रकाशित मिति: : 2023-03-28 06:06:00

प्रतिकृया दिनुहोस्