विकासको पर्खाइमा ‘सूर्य ओढार’

बिएल संवाददाता

अर्घाखाँची
File Photo
File Photo

कपिलवस्तुको सीमा नजिकै पर्छ सूर्य ओढार। बाणगङ्गा क्षेत्रको पूर्वपश्चिम राजमार्गबाट उत्तरी क्षेत्रको जंगली एरिया कटेर सूर्य ओढार पुग्न सकिन्छ।

विगतमा खासै चर्चामा नआएको यो स्थान पछिल्लो समय  चर्चामा आएको छ।

कपिलवस्तुसँगै सीमा जोडिएको अर्घाखाँचीको शीतगङ्गा नगरपालिका–१४ पावरा–विक्रम गाउँ नजिकै यो स्थान रहेको छ। स्थानीयले सूर्य ओढारका रूपले चिन्ने गरे पनि यसको महत्त्व बुद्धसँग जोडिन पुगेको जनाइएको छ।

बुद्धसँग सम्बधित रहेर यसको खोज र अनुसन्धानमा लागेका पोमनारायण पौडेल सूर्य ओढारका रूपमा चिनिने यो स्थान बुद्धको देशनालय रहेको बताउँछन्। लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थी समेत रहेका उनी भन्छन्, ‘कपिलवस्तु महावन क्षेत्र हो, जसअन्तर्गत यस ठाउँ बुद्धले त्यस बेलाका देवता र दानवलाई देशना गरेको हिसाबले यो ठाउँ महत्त्वपूर्ण छ। शाक्यमुनी गौतम बुद्धले ज्येष्ठ पूर्णिमाको राति यहाँ देशना गर्नुभएको थियो।’

महासमय सूत्र बुद्धकालीन समयमा सुनाउने सूत्र हो। बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र कपिलवस्तु भूमिमा देवतादेखि दानवसम्मलाई महासमय सूत्र सुनाउने गर्थे। त्यो सुनाउने स्थान कपिलवस्तु महावन हो। यो महावनलाई व्याख्या गरिएअनुसार पर्वत शृंखला नजिकै, एक नदी र गुफा क्षेत्र रहेको बौद्धग्रन्थमा उल्लेख रहेको उनले बताए।

उनका अनुसार त्रिपिटकमा गरिएको ब्याख्याअनुसार कपिलवस्तु महावनमा बुद्धले देशना गरेको र जहाँ युगान्दर पर्वत, भागीरथि नदी र एक गुफा रहेको भन्ने छ। यो स्थान कपिलवस्तुका अन्य कुनै स्थानमा नभएकाले ब्याख्या गरिएअनुसार सबै कुरा यहाँ मिलेको उनले दाबी गरे।

सूर्य ओढार पहाड नजिकै छ। यसको नजिकै भागीरथि नदी (बाणगङ्गा) बग्छ भने एक गुफा यसलाई सूर्य ओढारका नामले चिनिन्छ। बौद्धग्रन्थमा उल्लेख भएअनुसार यस ठाउँको खोज र अनुसन्धानमा विद्वानहरू लागिपरेका छन्। विपस्यनाका वरिष्ठ सहायक आचार्य अक्कलध्वज गुरुङका अनुसार कपिलवस्तु महावन भागीरथि नदीको आसपास भएको बताए। जीवनभर बुद्धका अध्ययनमा लागेका अनुसार कपिलवस्तु महावनमा बुद्धले गरेको देशनालयस्थल सूर्य गुफा नै हो।

बुद्धले २९ वर्ष विताएको तिलौराकोट र बुद्धले बुद्धत्व प्राप्त गरी फर्केर आएको कुदानको ठीक उत्तरमा यो क्षेत्र पर्छ। तिलौराकोटमा हाल उत्खनन भइरहेको छ। यसक्रममा बौद्धकालीन संरचना थप भेटिने क्रममा छन्। पौराणिककालमा भागीरथी नदीले चिनिएको बाणगङ्गा नदी नजिकै रहेको तिलौराकोट र बुद्धले देशना गरेको उत्तर क्षेत्रको भागीरथी नदी नजिकै सूर्य गुफा परेका कारण यसको तथ्यलाई थप पुष्टि गरेको शीतगङ्गा नगरपालिकाका पूर्व उपप्रमुख टीका रेश्मीले बताइन्।

प्रकाशित मिति: : 2023-03-26 08:42:00

प्रतिकृया दिनुहोस्