पत्रकार रजनीश भण्डारीलाई अन्तर्राष्ट्रिय संस्था थेमिसकाे ‘स्पिक अप अवार्ड’ प्रदान 

पत्रकार रजनीश भण्डारीलाई अन्तर्राष्ट्रिय संस्था थेमिस २०२२ काे ‘स्पिक अप अवार्ड’ प्रदान गरिएकाे छ। 

थेमिसले आफ्नाे वेभसाटमार्फत् नेपाल इन्भेस्टिगेटिभ मल्टिमिडिया जर्नलिज्म नेटवर्क (निमजिन) का संस्थापक भण्डारीलाई नेपालमा भ्रष्टाचार उजागर गर्ने विभिन्न खाेजमुलक समाचार गरेकाे तथा नयाँ पुस्ताका खोज पत्रकारहरूलाई प्रशिक्षण दिएकोमा ‘स्पिक अप अवार्ड २०२२’ प्रदान गरिएको जनाएकाे छ।

थेमिस वित्तीय अपराधको विश्वव्यापी प्रभावलाई कम गर्न बेलायतमा स्थापित संस्था हो। थेमिसले विश्वमा वित्तीय अपराधको प्रभावलाई न्युन गर्न र वित्तीय अपराध विरुद्धको लडाइँमा संलग्न व्यक्ति र संस्थाहरूकाे याेगदानकाे कदर गर्दै विभिन्न क्याटेगाेरीका पुरस्कार प्रदान गर्छ। 

‘रजनीश भण्डारीले खोज पत्रकारितामार्फत् भ्रष्टाचारलाई उजागर गर्ने मात्रै होइन, कहिलेकाहीँ आफूलाई जोखिममा पार्ने काम समेत गर्नुभएकाे छ।  उहाँले पत्रकारहरूलाई पनि तालिम दिनुहुन्छ र खोजमूलक समाचार गर्न प्रेरित गर्नुहुन्छ। त्यसैले मैले रजनीशलाई थेमिस २०२२ स्पिक अप अवार्ड विजेताको रूपमा रोजेको छु,’ स्पिक अप अवार्ड श्रेणीकाे छनाेट समितिका संयाेजक एवम् वेस्ट मिडल्याण्ड्स पुलिसका सुपरिन्टेन्डेन्ट निक डेलले भने।

पत्रकार भण्डारीका खाेजमुलक समाचारहरू बीबीसी, द गार्डियन, द न्युयोर्क टाइम्स, ड्यूचे वेले, अल्जजीरा, कान्तिपुर टेलिभिजन लगायतका विभिन्न आउटलेटहरूमा प्रकाशित तथा प्रसारित छन्। उनले कूटनीतिक राहदानीकाे घोटालादुर्गम जिल्लामा खाद्यान्न वितरणमा भएको भ्रष्टाचारमानव बेचबिखन, भूकम्पपछिको पुनःस्थापना लगायतका समाचारहरू बाहिर ल्याएका छन्। 

सन् २०२० मा उनले निमजिनको स्थापना गरे, जुन एक गैर–नाफामुलक मिडिया संस्था हो। यसले सामाजिक न्याय र जवाफदेहिता सम्बन्धि खोजमूलक मल्टिमिडिया समाचारहरू उत्पादन गर्छ। निमजिनले पत्रकारहरूलाई खोजमूलक रिपोर्टिङ तालिम र मेन्टरसिप पनि प्रदान गर्छ। निमजिन ग्लोबल इन्भेस्टिगेटिभ जर्नलिज्म नेटवर्क (जीआईजेएन)काे सदस्य र अर्गनाइज्ड क्राइम एण्ड रिपोर्टिङ्ग प्रोजेक्ट (ओसीसीआरपी) काे साझेदार संस्था हाे। 

‘यो अवार्ड निमजिन र मेराेलागि गाैरवकाे विषय हो,’ भण्डारीले अवार्ड पाइसकेपछि भने, ‘म यो अवार्ड स्वतन्त्र प्रेस र स्वतन्त्र पत्रकारितामा विश्वास गर्नेहरुलाई समर्पित गर्दछु।’

 थेमिसले अवार्ड ट्रफी र सम्मानपत्र पठाइसकेकाे छ।

प्रकाशित मिति: : 2023-03-24 08:00:00

प्रतिकृया दिनुहोस्