पाकिस्तानमा ८३औँ गणतन्त्र दिवस मनाइयो

बिएल संवाददाता

इस्लामाबाद

पाकिस्तानले बिहीबार ८३ औँ पाकिस्तान दिवस मनाएको छ। पाकिस्तानले हरेक वर्षको मार्च २३ लाई पाकिस्तान सङ्कल्प दिवस वा गणतन्त्र दिवसका रूपमा मनाउने गरेको छ।

सन् १९४० को मार्च २३ मा लाहोर सङ्कल्प पारित भएको दिनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ।

पाकिस्तानका राष्ट्रपति आरिफ अल्वी र प्रधानमन्त्री शाहबाज सरिफले छुट्टाछुट्टै सन्देश जारी गर्दै पाकिस्तानका संस्थापकहरूको ‘अथक सङ्घर्ष’प्रति श्रद्धाञ्जलि व्यक्त गरेका छन्।

राजधानी इस्लामाबादमा ३१ तोपको सलामी र प्रान्तीय राजधानीमा २१ तोपको सलामीका साथ पाकिस्तान दिवसको सुरुआत भएको थियो।

पाकिस्तानका संस्थापक पिता मोहम्मद अली जिन्ना र लाहोरका राष्ट्रिय कवि मोहम्मद इकबालको समाधिस्थलमा पनि गार्ड परिवर्तन समारोह आयोजना गरिएको थियो।

यसैबीच राष्ट्रपति भवनमा हुने भनिएको सैन्य परेड राजधानी इस्लामाबादमा भारी वर्षाका कारण स्थगित गरी शनिबारका लागि सारिएको राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

सङ्कल्प दिवसका अवसरमा देशभरका सबै प्रमुख सरकारी तथा निजी भवनमा राष्ट्रिय झण्डा फहराइएको थियो। पाकिस्तानको निर्माणमा लाहोर सङ्कल्पको महत्वको उजागर गर्न सहरहरूमा जुलुस प्रदर्शन र कार्यक्रमको आयोजना गरिएको थियो।

बिहीबार राष्ट्रपति भवनमा आयोजित एक समारोहमा राष्ट्रपति अल्वीले विभिन्न क्षेत्रमा रहेर देशका लागि उत्कृष्ट सेवा पुर्याएबापत उनीहरूलाई सम्मान, पुरस्कार तथा पदक प्रदान गरेका थिए।

प्रकाशित मिति: : 2023-03-24 05:54:00

प्रतिकृया दिनुहोस्