लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र

नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदैछ। समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न आज (बिहीबार) संसदीय दलको बैठक बोलाइएको छ।

‘आज संसदीय दलको बैठक छ, सम्भवतः आजै हामीले सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौँ,’ माओवादी लुम्बिनी प्रदेश अध्यक्ष सुर्दशन बरालले बिएल नेपाली सेवासँग भने।

लुम्बिनीमा गत पुस २८ गते एमाले नेतृत्वको सरकार बनेको थियो। माओवादी केन्द्रसहित लाेकतान्त्रिक समाजवादी पार्टी (लाेसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा)काे समर्थनमा एमाले संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्री बनेका थिए। तर, केन्द्रमा गठबन्धन परिवर्तन भएसँगै त्यसकाे असर प्रदेशमा पनि परेकाे छ।

अहिले एमाले नेतृत्वकाे सरकार ढालेर नयाँ सरकार बनाउने तयारीमा नयाँ गठबन्धनका दलहरु लागेका छन्। त्यसकाे लागि माओवादीले सरकारलाई दिएकाे समर्थन फिर्ता लिन लागेकाे हाे। केन्द्रमा जस्तै एमाले र राप्रपालाई बाहिर राखेर नयाँ सरकार बनाउने गठबन्धनकाे तयारी छ।

८७ सदस्सीय लुम्बिनी प्रदेशसभा अहिले एमाले सरकारलाई ५८ जना सांसदकाे समर्थन छ। लुम्बिनीमा बहुमतकाे लागि ४४ सांसदकाे समर्थन आवश्यक पर्छ।

यदि माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिएमा मुख्यमन्त्री गिरीले त्यसकाे एक महिनाभित्र विश्वासकाे मत लिनुपर्ने हुन्छ। तर, माओवादीसहित गठबन्धनका अन्य दलहरुले विश्वासकाे मत नदिए सरकार स्वत: ढल्छ।

प्रकाशित मिति: : 2023-03-23 09:12:00

प्रतिकृया दिनुहोस्