भारतको तामिलनाडुमा पटाका कारखानामा विस्फोट हुँदा ८ जनाको मृत्यु

बिएल संवाददाता

नयाँ दिल्ली

भारतको दक्षिणी राज्य तामिलनाडुमा रहेको एक पटाका कारखानामा बुधबार भएको विस्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु हुनुका साथै अन्य १६ जना घाइते भएका छन्।

तमिलनाडुको राजधानी चेन्नईबाट करिब ८० किलोमिटर दक्षिणपश्चिममा रहेको काँचीपुरम जिल्लाको कुरुभिमलाई क्षेत्रमा रहेको एक कारखानामा पटाकामा प्रयोग हुने कच्चा पदार्थमा अचानक आगलागी भएपछि विस्फोट भएको थियो।

काँचीपुरम कर कार्यालयका अधिकारीकाले घटनाको पुष्टि गर्दै भने, 'कुरुभिमलाई क्षेत्रमा रहेको एक पटाका कारखानामा आज विस्फोट हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य तीन जनाको अस्पतालमा मृत्यु भएको छ।'

 अधिकारीहरुका अनुसार घाइतेमध्ये १३ जनालाई काँचीपुरम सरकारी अस्पतालमा भर्ना गरिएको छ भने तीन जनालाई उपचारका लागि चेन्नईको दुई अस्पतालमा पठाइएको छ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ।   विष्फोटपछि कारखानामा आगो लागेको थियो र आसपासमा पटा पड्किएको आवाज गुञ्जिएको थियो। 

 एक वरिष्ठ प्रहरी अधिकारीका अनुसार एउटा भवन भत्किएको र २५ जनाभन्दा बढी मानिस काम गरिरहेको कारखानामा उद्धार कार्य जारी छ।

प्रकाशित मिति: : 2023-03-23 05:34:00

प्रतिकृया दिनुहोस्