जुम्ला बहुमुखी क्याम्पसकाे निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न 

साबिककाे कर्णाली अञ्चलमा त्रिभुवन विश्वविद्यालयकाे एकमात्र आंगिक क्याम्पस जुम्ला बहुमुखी क्याम्पसकाे निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएकाे छ।

२०६५ सालपछि निर्वाचन हुन नसकेको जुम्लाका बहुमुखी क्याम्पसमा लामाे समय पछि धाँधलीरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न पाउँदा क्याम्पस परिवार खुसी भएकाे निर्वाचन अधिकृत तथा उपप्राध्यापक प्रकाशचन्द्र खत्रीले बताए।

'विद्यार्थी संगठनहरुबीच हुने विवादका कारण निर्वाचन स्थगित हुँदै आएपनि यतिबेला मर्यादित रुपमा निर्वाचन गर्न पाउँदा हामी हर्षित छाैं,' उनले भने, 'हामीलाई विद्यार्थी संगठनले साथ दिए।'

उनले निर्वाचित भएर आउने प्रतिनिधिमुलक संस्था नहुँदा कयौंपटक क्याम्पसलाई अप्ठ्यारो परेकाे समेत बताए।

उनका अनुसार कुल सात सय ८२ विद्यार्थी भर्ना भएका मध्ये पाँच सय २८ जनाले मात्रै परिचयपत्र लिएका थिए। मतदानमा भने ५१३ जना विद्यार्थीले भाग लिएका थिए। जसमध्ये पुरुष दुई सय छ जना छन् भने महिला तीन सय सात जना रहेका छन्।

देशका तीन ठूला पार्टीहरु कांग्रेस, एमाले र माओवादीका जनवर्गीय संगठनहरु नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीसहित राप्रपाकाे राप्रविसंघ, विप्लवकाे अखिल क्रान्तिकारी विप्लव, नेमकिपाकाे नेक्राविसंघ चुनावी प्रतिस्पर्धामा थिए।

जुम्ला बहुमुखी क्याम्पसमा शिक्षाशास्त्र संकायमा स्नातक र स्नातकोत्तर तह तथा व्यवस्थापन संकायकाे स्नातक तहमा अध्यापन भइरहेको छ।

निर्वाचन सकिए लगत्तै विद्यार्थी संगठनकाे राेहबरमा मुचुल्का उठाई सिल गरिएकाे संयाेजक खत्रीले बताए। उनका अनुसार अपरान्ह छ बजेबाट मतगणना सुरु हुनेछ।

प्रकाशित मिति: : 2023-03-19 16:16:00

प्रतिकृया दिनुहोस्