अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पद्वारा आफू मंगलबार पक्राउ पर्न लागेको दाबी, अमेरिकामा तनाव

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई मंगलबार गिरफ्तार गर्न लागिएको दाबी सार्वजनिक गरेर एक किसिमको सनसनी मच्चाइदिएका छन् । उनले शनिबार विहान आफ्नै सोसल मिडिया प्लेटफर्क ट्रुथ सोसलमार्फत् यस्तो सूचना ट्रायल बलुन गरेर  यस्तो सनसनी फैलाइ दिएका हुन् ।

उनल् आफ्ना समर्थकहरूलाई प्रतिरोधमा उत्रन आव्हान गरेर अमेरिकामा मुठभेडको स्थितिसमेत सिर्जना गरिदिएका छन् ।

ट्रम्पले म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयको गोप्य सर्कुलरको हवाला दिदै आफूलाई पक्राउ गर्न लागिएको दाबी  गरेका छन् ।

ट्रम्पमाथि २०१६ मा राष्ट्रपति उम्मेदवार हुनुपूर्व उनले यौन सम्बन्ध राखेकी पर्न स्टार स्ट्रमी डेनियल्सलाई एकलाख ३० हजार अमेरिकी डलर दिएर मुखमा बुजो लगाइदिएको आरोप छ । उनले त्यो पैसा चुनावका लागि उठाएको चन्दाबाट भुक्तानी दिएका थिए ।

ट्रम्पको यो मुद्दालाई अगाडि बढाइरहेको म्यानहटन डिस्ट्रिक्ट एटोर्नी कार्यालयले उनका तत्कालिन कानूनी सल्लाहकार माइकल कोहेनको साविती वयानका आधारमा फौजदारी मुद्दा लगाउन लागेको बताइएको छ । फौजदारी मुद्दा लाग्यो भने ट्रम्प पक्राउ पर्नेछन्  र २०२४ मा राष्ट्रपतिको उम्मेद्वार हुन पाउँने छैनन् ।

यतिबेला  ट्रम्प २०२४ को राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीको उम्मेद्वारी आकांक्षी हुन् । उनले उम्मेद्वारी घोषणा गरेर प्राइमरी  क्याम्पेन अगाडि बढाइरहेका छन् ।

ट्रम्प र उनका समर्थकहरू ट्रम्पलाई २०२४ को राष्ट्रपति चुनावमा उम्मेद्वार हुन नदिन डेमोक्रेटहरूले नियोजित रूपमा मुद्दा अगाडि बढाइरहेको बताउँछन् । अहिलेसम्म अमेरिकाका कुनै पनि राष्ट्रपतिलाई फौजदारी मुद्दा लगाइएको छैन । यही नजिरका आधारमा ट्रम्प आफूलाई कुनै पनि किसिमको मुद्दा नलाग्ने बताइरहेका छन् ।

तर, डेमोक्रेटसहरू ट्रम्पको दाबी अस्वीकार गर्दै कानूनभन्दा माथि कोही पनि नरहेको बताउँछन् । उनीहरू भन्छन्, चुनावका लागि उठाएको चन्दाबाट यौनसम्बन्ध राखेकी पर्न स्टारलाई भुक्तानी दिने कुरा कुनै पनि अर्थमा मान्य हुदैन । त्यसका लागि कानूनले आफ्नो बाटो लिन्छ  र ट्रम्प अहिले राष्ट्रपति नभएर एक सामान्य अमेरिकी नागरिक भएकाले उनीमाथि अरूलाई जस्तै कानून लाग्छ । 

अब हेर्नुछ, मंगलबार के हुन्छ ? ट्रम्प पक्राउ पर्छन् वा यो ट्रम्पको अर्को एक समर्थक उचाल्ने हर्कत मात्र हुन्छ?

प्रकाशित मिति: : 2023-03-19 09:05:00

प्रतिकृया दिनुहोस्