कोलम्बियाको कोइला खानीमा विस्फोट, कम्तीमा ११ जनाको मृत्यु

सांकेतिक तस्बिर
सांकेतिक तस्बिर

मध्य कोलम्बियाको कोइला खानीमा विस्फोट हुँदा कम्तीमा ११ जनाको मृत्यु हुनुका साथै अन्य १० जना फसेको कुन्डिनामार्सा क्षेत्रका गभर्नरले बुधबार बताका छन्।

गभर्नर निकोलस गार्सियाले ब्लु रेडियोलाई बताएअनुसार एक कामदारको उपकरण पत्थरमा ठोकिएर निस्केको झिल्कोले खानीमा चुहावट भएको ग्यास टिपेपछि खानीमा विस्फोट भएको हो।

अग्निनियन्त्रक र उद्धारकर्मीहरू खानीको प्रवेशद्वारमा उद्धारका लागि पुगेको स्थानीय सञ्चारमाध्यमका तस्बिरहरूमा देखाइएको छ भने मृतक श्रमिकका केही नातेदारहरू आफ्ना प्रियजनहरूको बारेमा जानकारीको पर्खाइमा बसिरहेका छन्।

गार्सियाका अनुसार श्रमिकहरू नौ सय मिटर (दुई हजार नौ सय ५० फिट) जमिनमुनि फसेकोले खोजीमा खटिएका एक सयभन्दा बढी उद्धारकर्तालाई उनीहरूसम्म पुग्न कठिन भएको थियो।

उनले भने, 'खानीमा विस्फोटपछि चाँडै नै अक्सिजन कम हुने भएकोले उनीहरूलाई जीवितै उद्धार गर्न असम्भव भएको हो।'

तेल र कोइला कोलम्बियाको मुख्य निर्यात हो भने खानीमा हुने विस्फोट र दुर्घटनाहरू बारम्बार हुने गर्छन्। 

गत अगष्टमा मध्य कुन्डिनामार्सा क्षेत्रमा रहेको अवैध कोइला खानीबाट नौ जना मजदुरलाई उद्धार गरिएको थियो।

सन् २०२१ मा, चौथो ठूलो ल्याटिन अमेरिकी अर्थव्यवस्थामा खानीका घटनामा एक सय ४८ जनाको मृत्यु भएको थियो।

प्रकाशित मिति: : 2023-03-15 21:33:00

प्रतिकृया दिनुहोस्