नवनिर्वाचित राष्ट्रपतिललाई कसले गराउँछ सपथग्रहण ?

फाइल तस्विर
फाइल तस्विर

आज नेपालले गणतन्त्रात्मक शासन व्यवस्थाको तेस्रो राष्ट्रपति पाउँदैछ। १० दलको समर्थनमा सत्तारुढ गढबन्धनबाट नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेबाट सुवासचन्द्र नेम्वाङ राष्ट्रपतिका लागि चुनावी मैदानमा छन्।

राष्ट्रपति चयनका लागि आज भएको मतदान सकिएको छ। केही समयमै राष्ट्रपतिको अन्तिम मत परिणाम सार्वजनिक हुनेछ। मतपरिणामअनुसार निर्वाचित राष्ट्रपतिको भोलि (शुक्रबार) पद तथा गोपनीयताको सपथग्रहण हुनेछ।

चासो हुन सक्छ, देशकै प्रमुखलाई कसले सपथग्रहण गराउँछ। संविधानअनुसार राष्ट्रपतिलाई प्रधानन्यायधीशले सपथग्रहण गराउनुपर्ने व्यवस्था रहेको छ। संविधानको भाग ६ को धारा ७१ मा राष्ट्रपति र उपराष्ट्रपतिको शपथग्रहणको व्यवस्था गरिएको छ।

उक्त धारामा भनिएको छ, ‘राष्ट्रपति र उपराष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नुअघि संघीय कानुन बमोजिम राष्ट्रपतिले प्रधानन्यायाधीश समक्ष र उपराष्ट्रपतिले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिनु पर्नेछ।’

संविधानको व्यवस्थाअनुसार अब निर्वाचित हुने राष्ट्रपतिले कायमुकायम प्रधानन्यायधीश हरिकृष्ण कार्कीबाट सपथग्रहण गर्नुपर्नेछ।

प्रकाशित मिति: : 2023-03-09 16:16:00

प्रतिकृया दिनुहोस्