देशको बारेमा प्रसंग चल्दा 'नेताहरुले देश खतम पारे' भन्ने वाक्य हामी सबैले भन्दै र सुन्दै आएको हो। अब यस्तै प्रसंगमा नेताहरुले के भन्छन्, त्यो पंक्तिकारलाई जानकारी छैन। किनकि पंक्तिकारको नेताहरुसँग कुनै हिमचिम र उठबस छैन। नेतासँग दोहाेरो चिनजान भनेको मेरो स्थायी ठेगाना रहेको काठमाडौँ वडा नम्बर १६ को वडाध्यक्ष र सदस्यहरुसँग मात्र हो, होइन भने लगभग सबै राजनैतिक पार्टीका नेताहरुसँग मेरो परिचय छैन।
केवल 'राजा चिनाई' मात्र हो, अर्थात् म सबै नेताहरुलाई चिन्छु तर उनीहरुले मलाई चिन्दैनन्। अरुहरुले विभिन्न नेताहरुको कुरा निकाल्दा फलानो कमरेड र ढिस्कानो दाजु भनेर कुरा गरेको सुन्दा मलाई एक किसिमको इर्श्या लागेर आउँछ। कहिलेकाहीँ सोच्छु, यो संसारमा नेताहरूसँग दोहाेरो परिचय नहुने मान्छे म एउटा मात्र हुँला कि अरु पनि होलान्?
दोहाेरो परिचय नभएपछि कसैसँग आशक्ति र घृणा हुने नै भएन र उनीहरुको समर्थन वा विरोधमा घाँटी सुक्ने गरी कराउनु पर्ने कारण र बाध्यता पनि भएन। तर देशको बागडोर समातेर बसेको भएर र देशको नागरिक भएको कारण साथै थोरै नै भए पनि कर तिर्ने कारणले उनीहरुको कार्य सम्पादनको बारेमा बोल्न पाउनु मेरो अधिकार हो।
मेरो विचारमा देश खतम पार्नुमा (यदि खतम छ भने) जति नेताहरूको हात होला, त्यति नै योगदान हामी जनताको पनि छ। पाँच वर्षमा एउटा भोट दिएको आधारमा (त्यो पनि हो कि होइन उसैलाई मात्र थाहा हुन्छ) सम्बन्धित नेतासँग पैसा, जागिरदेखि आफूलाई आवश्यक सबै कुराको माग गर्नु कति सान्दर्भिक होला? अवश्य पनि त्यस्ता मागहरु सम्भव हुँदैनन्।
जुन र जस्तो शासन व्यवस्थाको नाम दिए पनि सामान्य जनताको अधिकार भनेको हरेक पाँच वर्षमा (नियमित भयो भने) लाइन लागेर एउटा व्यक्तिलाई भोट दिने बाहेक अरु अधिकार हुँदैन। जनता मालिक हुन् भन्ने कुरा ब्यर्थ हो। यस्ता कुराहरु सुनेर केही क्षणको लागि खुशी हुन सकिन्छ तर यसको कुनै औचित्य छैन।
संविधान निर्माण गर्न नसकेर पहिलो संविधान सभा विघटन भयो। त्यसपछि निर्वाचन भएर दोस्राे संविधान सभा गठन भयो। एकपटक संविधान बनाउन नसकेर असफल भएकाहरुमध्ये नै करिब ५० प्रतिशतभन्दा बढी पुन: निर्वाचित भएर आए। जनताले भोट दिएर विजयी भएका मान्छेहरुको बारेमा बोल्नुभन्दा त्यस्ता असफल र खराब व्यक्तिहरुलाई नै पटकपटक चुनावमा विजयी गराउने जनताहरु यसमा बढी दोषी देखिन्छन्। अब गलत मान्छेलाई नीति निर्माण गर्ने स्थानमा पुर्याएपछि उसले असल नीति निर्माण गर्न सक्ने कुरा भएन।
दशौँ वर्ष राजनीतिको नाममा व्यक्ति हत्याको ताण्डब गरेको र गुड्दै गरेको बसमा बम विस्फाेटन गरेर निर्दोष मान्छेको ज्यान लिने, विवादास्पद छविका व्यक्तिलाई महत्वपूर्ण र संवेदनशील पदमा आसिन गराउनेहरुलाई चुनावमा भोट नदिएर पराजित गराउन सकेको भए जनता सच्चा छन् भन्ने बुझिथ्यो। तर त्यस्तै व्यक्तिहरु अत्यधिक मतले चुनाव जितेको देख्दा भोट दिने जनतालाई के भन्ने?
अझ आठौँ अच्चम त के छ भने राजनैतिक पार्टीहरुले गरेको विभिन्न घटनामा पीडित हुन पुगेका पीडितकै परिवारका सदस्यहरुले पनि फूलमालासहित त्यस्ता नेताहरुलाई सम्मान गरेको देख्दा यस्ता प्रकरणमा नेताभन्दा जनता खराब हुन् भन्ने मेरो बुझाइ छ। अरुबेला ती नेताहरुलाई तथानाम गाली गर्नेहरुले चुनावको बेलामा यिनीहरुको समर्थन वा विरोधमा आफ्नो बहुमूल्य उर्जा खर्च गरेको देख्दा हामीहरुले नेतालाई गाली गर्ने भनेको उनीहरुले हामीलाई वास्ता नगरेको र नबोलेको कारणले मात्र हो जस्तो लाग्छ।
चुनावको परिणामपछि फूलमाला, खादा र अबिरले ढपक्क ढाकिएको विजयी उम्मेदवारको दायाँबायाँ उभिएका कार्यकर्ताहरुको मुख हेर्नुपर्छ, तिनीहरु किन त्यति प्रफुल्लित भएका होलान्, बुझ्न सकिँदैन। मानौँ, उनीहरुले नै चुनाव जितेका छन् जसरी उभिएका हुन्छन्। आफूले भोट हाल्ने नेताको पक्ष र अर्को नेताको विपक्षमा सामाजिक सञ्जालहरुमा कुर्लेको देख्दा अर्को आश्चर्य लाग्छ। त्यस्ता अर्थहीन विषयमा लागेर समय फाल्नुभन्दा कुनै पुस्तक मात्र पढेर बस्यो भने ज्ञान आर्जन गर्न सकिन्छ। अब त्यस्तो गतिविधि गर्दा सम्बन्धित व्यक्तिले केही रकम दिएका छन् भने त्यो अर्कै कुरा हो।
यी र यस्तै कारणहरुले देश खतम हुनमा अर्थात् ओरालो लाग्नुमा नेताको मात्र होइन जनताको पनि त्यतिकै हात भएको पंक्तिकारलाई लाग्छ। सबै जनताले नेताको गलत कुरामा नभुलेर अर्थात् उनीहरुसँग कुनै अनुचित आशा नगरेर खबरदारी मात्र गर्ने हो भने पनि यस्तो दुरावस्था हुने थिएन। जबसम्म दुई चौटा मासु र एक बटुको रक्सीमा बिक्ने जनता हुन्छन्, त्यति बेलासम्म देश कहिले पनि माथि जान सक्दैन।
अरुबेला कुनै वास्ता नगर्ने र चुनावको मुखमा वरिपरि घुम्ने नेता र त्यस्ता नेताहरुको चिल्लो कुरा र दुई/चार सय रुपैयाँमा लोभिने जनता हुन्जेलसम्म कुनै ठुलो आशा गर्न सकिन्न। देशमा इमान्दार नेता र त्यस्ता नेताबाट कुनै किसिमको आशा नगर्ने जनता पनि नभएको होइन तर यस्तो वर्ग कि त 'माइनोरिटी' मा छन् कि त उनीहरु आगडि आउने आँट गरिरहेका छैनन्।
अन्तमा, नेतालाई मात्र एकनासले गाली नगरेर हामी जनताले पनि आफूले दिएको भोटको मूल्यको आशा नगर्ने हो भने केही राम्रो परिस्थितिको आशा गर्न सकिन्छ। होइन भने पछाडि नेतालाई गाली गर्ने र अगाडि पर्दा हात मोलेर उसको सबैभन्दा नजिक मै हुँ भन्ने प्रमाणित गर्न खोज्ने दोहाेरो मानसिकता राख्ने हो भने पुस्तौँ-पुस्तासम्म यस्तै नाटक भइरहने ठोकुवा गर्न सकिन्छ। जसले जस्तो र जसरी कराए पनि बेइमान नेता र लोभी जनता हुञ्जेल देशको अवस्था उस्तै र त्योभन्दा तल जाने पक्का छ।