प्रदेश १ मा राप्रपाले तत्काल सरकार नछाड्ने

File Photo
File Photo

प्रदेश १ सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तत्काल नबाहिरिने भएको छ। राष्ट्रिपति निर्वाचनका विषयलाई लिएर केन्द्रीय राजनीतिमा आएको फेरबदलका कारण राप्रपाले शनिकार संघ र प्रदेशका सबै सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार राप्रपाले संघीय सरकार र केही प्रदेश सरकारबाट बाहिरिएको छ। तर, प्रदेश १ मा भने तत्काल राप्रपाले सरकार नछाड्ने भएको हो।

राप्रपा संसदीय दलका नेता तथा उद्योग, कृषि तथा सहकारीमन्त्री भक्तिप्रसाद सिटौलाले प्रदेश १ को राजनीतिक अवस्थाका कारण सरकार छाडिहाल्नुपर्ने परिस्थिति नभएको बताए। उनले भने, 'प्रदेशको राजनीति विशिष्टिकृत छ, त्यसैले तत्काल सरकारबाट छोड्ने परिस्थिति बनेको छैन।'

उनले आज साँझ पार्टीको प्रदेश समितिको बैठक बस्ने तयारी भएको पनि बताए। उनले पार्टी केन्द्रको निर्देशनअनुसार आज मुख्यमन्त्रीसमक्ष राजीनामा दिने तयारी गरेका थिए।

प्रदेश १ का राप्रपाका ६ सांसद छन्। राप्रपाले नेकपा एमालेसँग सहकार्य जारी रहने बताएको छ। एमाले र राप्रपा मिल्दा प्रदेशमा ४६ सांसद छन्। ९३ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ४७ सांसद चाहिन्छ।

हाल नयाँ बनेको गठबन्धनका नेपाली कांग्रेसका २९, माओवादी केन्द्रका १३, एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद गरी ४७ सांसद भए पनि माओवादी केन्द्रका सांसद बाबुराम गौतम सभामुख छन्।

प्रकाशित मिति: : 2023-02-26 11:04:00

प्रतिकृया दिनुहोस्