रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति हुने दिशामा धेरै अगाडि पुगेका छन्। आज शनिबार कृष्णप्रसाद सिटौलालाई उम्मेदवार बनाउनुपर्ने त्यस्तो कुनै अप्रत्यासित र अतिरिक्त कारण नेपाली कांग्रेसलाई आइपरेन भने कांग्रेसको प्रस्ताव र आठदलीय गठबन्धनको समर्थनमा पौडेल राष्ट्रपति उम्मेदवार हुनेछन्। र, मतभारको अंकगणितमा यो गठबन्धन भारी मतले बहुमतमा हुने भएकाले सम्भवत: एमालेले हार्नलाई उम्मेदवार उठाउने छैन। अन्तत: पौडेल एक किसिमले राष्ट्रिय सहमतिको राष्ट्रपति उम्मेदवार बन्नेछन्।
आठदलीय गठबन्धनले राष्ट्रपति उम्मेदवारीको टुंगो लगाएसँगै नेपालको सत्ता राजनीति फेरि पुरानै कोर्समा आइपुगेको छ। चुनावताकाको कांग्रेस नेतृत्वको गठबन्धनमा अरू ती दल थपिएर आठदलीय बनेको छ। यो गठबन्धन बनेसँगै एमाले नेतृत्वको सत्ता गठबन्धन दुई महिनामै तुहिने अवस्थामा पुगेको छ। यद्यपि, यो गठबन्धन तुहिएको औपचारिक घोषणा हुन भने बाँकि छ।
यसबीचमा कांग्रेस समर्थित गठबन्धन टुट्दा एमाले र अन्य पार्टीले जुन असम्भव सफलता हात पारे, त्यो सबैका सामु छर्लङ्गै छ। एमालेको भागमा सभामुख, उपप्रधानमन्त्री र मन्त्रीहरू, प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरू, सभामुख उपसभामुखलगायतका लाभको पदको लामो सूची बन्छ। त्यसैगरी रास्वपाको सभापति रवि लामिछानेलाई हात परेको उपप्रधानमन्त्री तथा गृहमन्त्री र त्यो दलबाट भएका मन्त्री र उपसभामुखको सूची पनि उल्लेखनीय छ। अझ, राप्रपाले अध्यक्ष राजेन्द्र लिङ्देनका लागि उपप्रधानमन्त्री, अन्य तीन मन्त्री मात्र हात पारेन, प्रदेशमा सभामुख र मन्त्रीहरू नै हात लगायो।
यी सबै अघिल्लो गठबन्धन टुटेबापत ओलीले पासा पल्टाउँदा एमालेलाई प्राप्त अवसर र च्याँखे दाउ थापेका रास्वपा र राप्रपाको भागमा परेका लाभका पद थिए। एक किसिमले भन्ने हो भने यी पदहरू धेरैका लागि न भूत न भविष्य नै हुन्।
अब यो एक किसिमले बिगत भैसक्यो। कसैले चाहे पनि, नचाहे पनि विगतलाई टुलुटुलु हेर्न मात्र सकिने हो, सच्याउन सकिने हो। धेरैमा यसले दिने शिक्षा ग्रहण गरे आइन्दा आफूलाई सच्याउने हो। यी घटनाक्रममा जोडिएका सम्बन्धित सबैले त्यसो गरे उनीहरूका लागि त राम्रो हुन्छ नै, देश र जनताका लागि पनि फलदायी नै हुन्छ। लिन्छन्, लिदैनन् त्यो त फेरि पनि समयकै ऐनामा हेरौला।
पछिल्लो राजनीतिक विकासक्रमसँगै तत्कालका लागि नेपालको राजनीति केही समयका लागि स्थीर होला कि जस्तो देखिएको छ। तर, यो यथार्थ हैन, नेपालको सत्ता राजनीति अरू बढी अस्थिर र पेचिलो बाटोतिर मोडिएको छ। यो क्रम कम्तिमा पनि बर्तमान संसदको पाँचवर्षे कार्यकालसम्मै जारी रहने छ।
यो परिघटनाका लागि दोषी को ?, अनुमान लगाउनै पर्दैन, उत्तर घाम जतिकै छर्लङ्ग छ। यसको मूल दोषी देउवा, प्रचण्ड र ओली नै हुन् । तर, उनीहरूलाई मात्र दोष दिएर पुग्दैन, उनीहरूलाई त्यो अवस्थामा पुर्याउन अरू पनि सहायक दोषी छन्। खण्डित जनादेश दिएर त्रिशंकु संसदको जनादेश दिने नेपाली जनता पनि कम दोषी छैनन्। देशको अवस्था र जनताको चेतनास्तर नबुझी मिश्रित निर्वाचन परिणाम अंगाल्ने संविधानसभा पनि उत्तिकै दोषी छ। यस अतिरिक्त नयाँ र स्वतन्त्रका पछि लागेर बहुमतमाथि कैँची लगाउने यो वा त्यो कलेबरका मिडिया र मिडियाकर्मी पनि पानीमाथिका ओभानो छैनन्।
नेपालमा एकले अर्कालाई चोर औला ठड्याउनु सनातनी नै हो। जो कोही पनि आफ्नो भागको दोष नलिएर अरूलाई नै थोपर्ने गरिरहेका हुन्छन्। यो दोष थोपाराथोपरमा सघाउने हली, बाउसे र रोपारहरूको कुनै कमी छैन। अझै पनि नेपाल लगभग वादका आधारमा विभाजित छ, विषयमा आधारित भएर विचार निर्माण गर्नेको संख्या ज्यादै न्यून छ।
पुस १० यताका दुई महिनामा जे जस्तो राजनीतिक परिदृश्य देखा पर्यो, त्यसले नेपालको राजनीतिको मूल चरित्रमा कुनै फरक पारेको छैन। यो जुन गिजोलिएको अवस्थामा थियो, अहिले पनि त्यही छ। तर, यसका केही सकारात्मक पक्ष पनि छन्। जस्तो कि, खण्डित जनादेशअनुसार नै संसदको दोस्रो ठूलो दलले सभामुख पाएको छ, के के न गर्छु भनेर संसद छिरेका राजेन्द्र लिङ्देन र रवि लामिछानेको सक्कली लोभीपापी अनुहार पनि देखिएको छ। कांग्रेसले पहिलो कार्यकाल प्रधानमन्त्री हुने हठको मूल्य तिरेको छ। उसले राष्ट्रपति र प्रधानमन्त्री दुबै चाहिने भनेर लिएको अड्डीले आफ्नो सौदाबाजी गर्ने ठूलो शक्ति गुमाएको छ। प्रचण्ड पदका लागि जे पनि गर्छन् भनेर भाष्य निर्माण भए पनि पद र पावरका हिसाबले उनले त्यति धेरै गुमाएका छैनन्। माधव नेपाल अरू शक्तिशाली भएका छन्। उनका लागि दोस्रो कार्यकालका लागि प्रधानमन्त्री नै हात लाग्ने भएको छ।
समग्रमा हेर्दा पहिलो चरणमा देउवाले धेरै खोज्दा धेरै गुमाए भने दोस्रो चरणमा ओलीले धेरै खोज्दा अझ धेरै गुमाए। सम्भवत:ओली र उनको पार्टी एमाले अब कहिलै शक्तिमा फर्कने सम्भावना देखिदैन। ओलीले थोरै मात्र वुद्धि पुर्याएको भए नेकपा ब्युतिन्थ्यो, माधव नेपाल राष्ट्रपति भएपछि नेकपा एकीकृत समाजवादीको पनि सुरक्षित अवतरण हुन्थ्यो, आफ्नो राजनीतिक जीवनको उत्तराद्धमा न्पालको कम्यनिष्ट आन्दोलनलाई पनि योगदान गरेको ठहर्थ्यो।
तर, आफूलाई मात्र केन्द्रमा राखेर सोच्ने मनोगतवादी सोच र पेटी स्वार्थबाट माथि उठ्नै नसक्ने पेटीबुर्जुवा रोगका कारण ओलीले राजनेता हुन पाएको फेरि एउटा मौका पनि नराम्ररी गुमाए। यद्यपि, न ओलीले त्यसरी सोच्छन् न उनका अनुयायीहरू नै त्यो कोणबाट सोच्न सक्ने स्थितिमा छन्।
प्रकारान्तरमा, वैचारिक धरातलमा दुई ध्रुवमा ध्रुवीकरण हुने एउटा सुनौला मौका देशले गुमायो। फरक सोच र कोणका दलहरूको सत्ता गठबन्धन नेपालका लागि स्थायी समाधान हैन, यो आवधिक सत्ता प्रवन्धन मात्र हो। अन्तत: समृद्ध नेपाल र सुखी नेपालीका लागि वैचारिक धरातलको दुईदलीय व्यवस्थामा नगई सम्भव छैन। नेपालमा धेरै दल, नेता र कार्यकर्ता नै राजनीतिक अस्थिरकता कारक हुन्। यो संख्याको बन्ध्याकरण नगरी न नेपाल समृद्ध हुन्छ, न नेपाली सुखी हुन्छन्।