‘थापाथली दरबारकी नैनशोभा केटीलाई भोटमा लगेर बेच्नू’ भनी श्री ३ जंगबहादुरबाट आदेश भयो । आदेशबमोजिम १९२४ सालको हिउँदमा दुई सिपाहीले नैनशोभालाई कुती पुर्याए । त्यहाँका ढेवा झुम्पुनुहरूले भोट सरकारको अनुमतिबिना केटीलाई ल्हासा जान नदिने भनी रोके । नेपालबाट पुनः पत्र लेख्नुपर्यो । थापाथली दरबारकी केटी हो भन्ने साँचो कुरा नभनी ‘वकिलकी कमारी हो, उनलाई काम गर्न हर्जा भयो भनी सिपाही लाएर पठाइदिएको’ भनी ढाँटेर पत्र लेखियो र यस कुराको सूचना वकिल जितमानसिंहलाई पनि दिइयो ।
‘त्यो केटी चाँडै बेच्नू, बेचेपछि फलाना ठाउँमा यति रुपैयाँमा बिक्री भई भन्ने खबर लेख्नू, नबिकुन्जेल आफ्नै साथमा राख्नु, कतै भागीनासी जान नपाओस्’ भन्ने आदेश पनि यताबाट चिफसाहेब रणोद्दीपसिंहद्वारा वकिल जितमानसिंहकहाँ पठाइयो । १९२५ कार्तिकसम्म नैनशोभा बिकेकी थिइनन् । इतिहासकार ज्ञानमणि नेपालको पुस्तक ‘नेपाल निरुक्त’मा उल्लेख छ, ‘दरबारकी केटी श्री ३ को आदेशले किन बिक्री गरिन भोट ल्हासा पठाइएको हो अझै स्पष्ट हुन सकेको छैन । यसरी भोटमा नेपाली केटी कति बिके, कति नेपाली नारी भोटनारी बने ? तिनका शाखासन्तान त्यहाँ कति कहाँ फैलिए ? समाजशास्त्रको यो एउटा अनुसन्धेय विषय बनेको छ ।’