बिहानको समय। सेती नदीको किनारबाट हुस्सु उडिरहेको थियो, आफ्नै गतिमा। गाडी दौडिरहेकै थिए। यात्रुको घुँइचो उस्तै थियो दिपायलस्थित पिपल्ला बजारमा। कहिलेकाहीँ सिट मिलाइदिनु न भनेर हात जोड्नुपर्छ त्यहाँका टिकट काट्नेहरूसँग।
बिहानैदेखि पर्खाइमा बस्दा पनि भनेजस्तो सिट पाइँदैन। धेरै बोल्न मिल्दैन। पैसा तिरेर पनि निरीह बनेर यात्रा गर्नुपर्छ। गाडीवालाको रबैया छुट्टै छ। टिकट काट्नेको शान छुट्टै छ। लाग्छ यात्रुहरू उनीहरूको निगाहले यात्रा गर्न पाइरहेका छन् जस्तो।
एकजना टिकट काट्ने कर्मचारी थिए। उनले चिनेका रहेछन् क्यार, देख्ने बित्तिकै नमस्कार गरे। मलाई बडो आश पलायो। मनमनै सोचेँ, ‘यिनले चिनेका रहेछन् र त मलाई नमस्कार गरे। अब त अगाडितिर सिट मिलाइ देलान्।’
म उनको छेवैमा गएर प्रश्न गर्छु, ‘मिल्छ भने मलाई अगाडितिर मिलाइदिनु होला है।’ हतारिएझैँ गरी बोले उनी, ‘हैन, हैन यो गाडीमा सिट मिलाउन सकिँदैन। अर्को आउँछ आधी घन्टापछि त्यसमा जानुहोला।’ ‘हवस्’ भनेर म सडक किनारमा उभिरहेँ।
करिब ४५ मिनेटपछि आइपुग्छ अर्को माइक्रो बस। दिपायलबाट चढ्ने यात्रुका लागि छोडिएको सिट जिल्ला सदरमुकाम सिलगढीबाटै रिजर्भ गरिएका थिए। दिपायल काउन्टरको कर्मचारी रिसले आगो बन्दै कराउन थाले, ‘बाह्र जना यात्रुको समूह नै छ यहाँ। यताबाट दिइने सिट पनि उतैबाट प्याक गरेर ल्याउने। त्यतिखेरै खवर गरिदिएको भए म यिनीहरूलाई अर्को गाडीमा पठाइ दिने थिएँ।’
म हतारहतार अन्तिम सिटमा गएर बसेँ। एकजना मान्छे ढोकामा उभिएर सिट मिलाउन थाले। सिलगढबाट अगाडिको सिटमा टिकट काटेर आएकालाई पछाडि बस्न बाध्य तुल्याए। अगाडि चालकको छेउमा दुई जना बस्न मिल्ने ठाउँमा ठेलाठेल गरेर तीन जना राखे। १८ जना यात्रुको लागि सिट भएको माक्रोमा २२ जना यात्रु राखे। म एकोहोरो हेरिरहेँ।
क्षणभरमै एकजना अधवैँसे मान्छेले ढोकामा उभिएर मलाई आदेश दिन थाले, ‘झोला काखमा राख्ने हैन, यता ल्याउनू त। छतमा राख्न लगाउँछु।’ झोला काखमा बोक्दा अरुलाई अप्ठेरो हुन्छ। तिनको भनाइको आशय थियो। झोलाविहीन हुँदा ठेलठाल गरेर चारजना अट्ने ठाउँमा पाँच जना राख्न मिल्छ।
म उनको आदेशलाई बेवास्ता गरेर प्रश्न गर्छु, ‘तपाईं को हो?’ बडा रवाफका साथ उत्तर फर्काउँछन् उनी, ‘म गाडी मालिक हुँ।’ कुनै शासकको भन्दा, कुनै भ्रष्ट नेता र कर्मचारीको भन्दा कम थिएन उनको शान। गाडी मालिक हुनु भनेको विश्वविजेता हुनुभन्दा नि बढी हो जस्तो हाउभाउ र चुरीफुरी थियो उनको।
‘उसो भए यो झोला लिनोस्। यसमा ल्याप्टप क्यामेरा सबै गरेर दुई लाखको सामान छ। कतै ठोकिएर बिग्रिन गए जिम्मेवार तपाईं बन्नुपर्ने होला,’ झोला उठाएर उनीतिर देखाउँदै भनेँ। यति सुनेपछि पुनः कड्किँदै भन्न थाले, ‘हामी कसैको सामान टुटफुटको जिम्मा लिन्नौँ। बडो ठुलो कुरा गर्छन् यार पेसेन्जर पनि।’
म काखमा झोला बोकेर चुपचाप बसिरहेँ। गाडीभित्र एकछिन मौनता छाउँछ। अगाडि-पछाडिका सिटमा हेर्छु भलादमी खालका पढेलेखेका बुज्रुकहरू देख्छु। तीन जना त नेपाल सरकारका अधिकृत नै थिए। ती सबै मौन। १८ जनाको क्षमता भएको गाडीमा २२ जना खाँद्दा पनि कोही बोल्दैनन्। अझै चिन्ताजनक विषय अगाडि दुई जनाको ठाउँमा चालकसहित चार जना बस्दा चालकलाई ड्राइभिङ गर्न कतिको सकस हुन्छ। कतै दुर्घटना भैहाल्दा जिम्मेवार को हुन्छ? कसैलाई केही पर्वाह हुन्न।
एकछिनमा गाडी हुइँकिन्छ। दिपायलबाट धनगढी पुग्न ६ घन्टा लाग्छ। साढे १२ बजे दिपायलबाट छुटेको गाडी धनगढी पुग्दा रात पर्छ भन्ने हेतुले रफ्तारमा दौडिन्छ। बाटोमा ट्राफिक प्रहरीले कतै नदेखे जस्तो गर्छन्। कतै रोकेर साइडमा लगी एकछिन के के कुरा गरेर पठाउँछन् थाहा हुँदैन। गाडी मालिक अन्य गाडीवालालाई फोन गर्दै भन्छन्, फलानो ठाउँमा चेकिङ छ है मैले त चिनेको भएर गाह्रो गरेन। तिमी विचार गर। भात्काँडामा एक्लो होटल भएको ठाउँमा गाडी रोकिन्छ। एउटा आवाज सुनिन्छ ‘खाना खाउँ है।’
खाना खानेबेलामा चालक छउमै बसेर उनीतिर प्रश्न तेर्स्याउँछु, ‘गुरुजी, यसरी अगाडि तीन जना यात्रु राख्दा चलाउन गाह्रो हुँदैन।’ सहज ढंगले उत्तर दिन्छन् उनी, ‘अब त बानी परिसक्यो। खासै केही लाग्दैन।’ पुनः प्रश्न गर्छु, ‘१८ जना क्षमता भएको गाडीमा २२ जना राख्नुभएको छ। यस्तो गर्न मिल्छ र?’ चालकले बोल्न नपाउँदै गाडी मालिक चर्को स्वरमा उर्फिन्छन्, ‘कतिपटक दुई जना चार जना यात्रु बोकेर हिँड्नुपर्छ। तेल खर्च नै उठ्दैन। के गर्ने त पाएको बेला नबोकी। हाम्रो समस्या कसैले बुझ्छ र? के कुरा गर्छन् यार पेसेन्जर पनि।’
खाना खाएर सिटमा बसेको मात्र के थिएँ। गाडी मालिक आएर पुन: आदेश दिन थाले, ‘तपाईं उता सर्नु त, त्यहाँ थप एक जनाको सिट बनाउनु पर्याे।’ लाग्थ्यो यात्रु त प्लास्टिकका साधन पो रहेछन्। गाडीवालको आवश्यकताअनुसार खुम्चिएर सानो रुप धारण गरिदिनु पर्ने। अब विस्तारै कन्चट तात्न थाल्यो। मैले सहज ढंगले भनेँ, ‘यो चार जनाको सिट हो। यहाँ ठाउँ नै छैन। हुँदैन। अब चाहिँ अति हुन थाल्यो है।’ ठाउँ बनाउनलाई ती सिटमै आएर जबरजस्त ढंगले सकिनसकी आफू बस्न खोजेर ठेलठाल गर्न थाले। ‘हुँदैन। यस्तो नगरिदिनोस्। पैसा तिरेपछि त सहज ढंगले जान पाउनु पर्याे नि,’ मैले रिस च्यापेर अनुरोध गरेँ। बाघ गर्जिएझैँ गर्जिए उनी, ‘यत्रा मान्छे कोही बोलेका छैनन् तँ किन बोलेको?’ अब पारा तात्यो। ‘ल राखेर देखाउनोस् त? गाडी छ भनेर रवैया देखाउने। लाज लाग्दैन...।’ यसरी मैले चर्को बोलेपछि उनले गाडीबाट झर्नसम्म भन्न भ्याए। मानौँ त्यो सडकको लालपुर्जासमेत उनकै नाममा छ। त्यहाँ हरेक दिन यात्रारत यात्रुमाथि उनको ठुलो निगाह रहेको छ। क्षणभरको भनाभनपछि अन्तमा भट्भटाउँदै तिनी अगाडि गए। एक जना यात्रुलाई ढोका छेउमा मुडामा बस्न लगाएर बाटोमा थपिएका यात्रुलाई ठाउँ बनाए। काचै खाउलाझैँ गरी बेलाबखत मलाई छड्के नजरले हेरिरहे। म आफ्नो ठाउँमा चुपचाप बसिरहेँ।
कुन ठाउँको भाडा कति हो सबैलाई थाहाँ हुँदैन। होचुवाको भरमा उठाउँछन्। बाटोमा चढ्नेले टिकट पाउँदैन। गाडीमा टिकटको ठेली राख्ने चलन छैन। बाटोमा चढ्ने यात्रुले टिकट पनि माग्दैनन्। ६ घन्टाको बाटोमा कुनै पनि प्रहरी चौकीमा तिनलाई यति यात्रु किन बोकेको भनी प्रश्न गरिएन। भेडाबाख्रा खाँदेझैँ गरी खाँदिरहे बाटोमा। भयपूर्ण यात्रामा सामेल भइरहेँ म। अत्तरिया पुगेपछि तिनले ढोकाछेउमा मुडामा बस्न लगाएका यात्रुले भाडा नदिएरै टाप ठोकिदिएछन्। धनगढी पुगुन्जेलसम्म ती बरबराइरहे।
अँध्यारो भइसकेको थियो। धनगढी बजारको एउटा चिया पसलमा एकातिर प्रदेश सरकार गठन र मुख्यमन्त्री चयनको बहस चलिरहेको थियो। अर्कोतिर विधिको शासनको चर्चा चलिरहेको थियो। यहाँ प्रायजसो मान्छेहरू बेथितिका विरुद्ध बोल्नु, विरोध गर्नुको कुनै औचित्य देखिरहेका छैनन्। कतिपय यस्तो अवस्था देखेर निराश प्राय: छन्। कतिपय आफ्नो काम फुत्काउन पाए पुग्यो भन्नेमा छन्।
नेताहरू आफ्नै मोजमस्तीमा रमाइरहेका छन्। व्यापारीहरूका आफ्ना छुट्टै लय छन्। छुट्टै रबैया छन्। ‘झोले’हरूको फुर्ति हेरिनसक्नु छ। सिद्धान्त र पार्टीको वकालत गर्नेहरू मानवताको वकालत गर्न जान्दैनन्। न्याय र अधिकारको वकालत गर्नेहरू फितलो कार्यान्वयन देख्छन् कि देख्दैनन्। सिद्धान्तका ठेली पल्टाउनेहरूलाई दूरदराजका निमुखाहरूको हकअधिकार र आफ्नै जीवनको सिद्धान्त नै थाहा हुँदैन।
चाकडी, चाप्लुसी, लुटपाट, भ्रष्टाचार र हैकमवादले जरा गाडिरहेको मेरो देशमा हिजोआज हरेक क्षेत्रमा जन्मिरहेका छन् मात्र सम्राटहरू। अचेल आदर्शको पछ्यौरी ओढेको देखाउनेहरू पनि ओढिरहेका भेटिन्छन् मात्र आडम्बरको खोल। जताततै फुटिरहेका छन् अराजकताका मूलहरू। अनि म सम्झिन्छु, चार वर्षअघि देउसराले तेर्स्याएको प्रश्न, ‘गोसाई, सबै नौलो संविधान आयो भन्दा। नौला कुरा के-के हुन लाग्या छन् यै देशमी ?’