‘देशभित्र रोजगार मिल्दैन र युवा विदेशिन्छन्’ भन्नेकुरा त कसैबाट पनि लुकेको छैन। तर विदेशमा पुगेका नेपालीहरूको अवस्था कस्तो छ भन्नेकुरा यी देशभित्र बसेर सत्ता, पद-प्रतिष्ठाको लागि एकअर्कामा लड्नेहरूले कहिले सोच्ने? नेपालका युवा मात्रै होइन, बाल मजदुरदेखि वृद्धावस्थाका व्यक्तिहरूको लाम-लस्कर देशका कैयाैँ नाकाहरूबाट दिनहुँ हजारौँको संख्यामा भारत छिर्छन्।
उनीहरू खास गरेर नेपालको पहाडी क्षेत्रका हुन्छन्। उनीहरू चिसो हवापानीमा जन्मिए, हुर्किए रोजिरोटीको लागि त्यस्ताे ठाउँमा पुग्छन्, जहाँ आफ्नो अनुकूल वातावरण नभएपछि अकालमै ज्यान गुमाउँछन्। कयौँ रोगी भएर फर्किन्छन्।
कामको खोजीमा गएका श्रमजीविहरूको परिश्रम उसैले तोक्छ र परिश्रमिक पनि उसैले तोक्छ। त्यसैमा खुसी भएर आफ्नो युवा जोस जाँगर अर्काको देशलाई वा धनाढ्यलाई नेपालीहरूले खर्चिएका हुन्छन्।
सुगौली सन्धिपछि गोर्खा भर्ति केन्द्र खोलेर यो देशका युवाहरूको रगत पसिनाले छिमेकीले आफ्नो देशको रक्षा गरे। देशको विकास गर्ने छिमेकीको योजनाअनुसार अहिले पनि त्यो परम्परा चल्दै आएको छ। सुगौली सन्धिपछि अर्ध उपनिवेशिक अवस्थामा झरेको देश अहिले पनि उम्किन सकेको छैन।
अहिले त झनै देशको अवस्था नाजुक हुँदै गएको छ। अहिले भारत मात्रै होइन, अन्य कैयाैँ देशहरूमा नेपाली मुलका नागरिकहरूले आ-आफ्नो पसिना बगाएका छन्, त्यो पनि निम्न ज्यालामा जोखिमयुक्त कार्य गरेर।
हाम्रो देशमा जुन सरकार आएपनि त्यसले विदेशीसँग श्रम सम्झौता त गर्छ तर त्यो सम्झौतामा थुप्रै असमान र त्रुटी हुन्छन्। त्यो भन्दा पनि लागु गर्ने क्रममा हामीसँग सधैँ पक्षपात भएको हुन्छ। हामीले छिमेकी मुलुक भारतसँग भएका सन्धि सम्झौतालाई नियाल्ने हो भने पनि त्यसबारे प्रष्टै हुन्छ।
सुगौली सन्धि त सन्धि नै होइन, बरू एकलौटे र दबाबमा भएको सन्धि थियो। त्यसले हाम्रो विशाल भू-भाग टिष्टादेखि सतलजसम्मको खोस्यो। बरू पछि नयाँ मुलुक फिर्ता भयो तर ठूलो भू-भाग आज पनि छिमेकमै छ।
भारतको आजादीपछि शान्ति तथा मैत्री सन्धि भयो। त्यसका दशवटै धारा पढेपछि त्यो सन्धि कुन नियतबाट भएको थियो भन्ने कुरा प्रष्टै हुन्छ। जुन धारा हाम्रो पक्षमा छ। जस्तै- धारा आठ र एक, त्यसलाई भारतले लागु नै गरेन न हाम्रो देशका शासकहरूले त्यो धारालाई लागु गर्न दवाब दियो। उक्त सन्धिका धारा आठले 'योभन्दा पहिलेका तमाम सन्धि सम्झौता र कवुलियतलाई खारेज गरेको बताएको छ।' तर त्यसबारे कसैले पनि विराेध गरेन।
हिजोसम्म जसले सन् १९५० लाई असमान सन्धि भनेर खारेजीको माग गर्दै आएका थिए, उनीहरूले पनि बेला बखतमा अन्य गोप्य सम्झौताहरू गर्दै आएका छन्।
सवाल त सबैभन्दा जटिल के छ भने सन्धि भन्दा पनि गोप्य सम्झौताले गर्दा देशको गरिमा झन् पछि झन् तरल बन्दै गएको छ। मैले विगतका दिनहरूमा लगातार लेख्दै आएको छु, परदेशी नेपालीहरूको चरम अवस्थाको बारेमा।
भारतमा नेपालीहरूको दर्दनाक अवस्था छ तर सरकार मौन हुन्छ। उनीहरूलाई झुठा आरोपमा फसाइन्छ, चेलिबेटीको बलात्कार हुन्छ। आवागमन गर्दा लुटपाट हुन्छ तर पनि सरकार मौन हुन्छ। चेलीको बलात्कारपछि हत्या हुन्छ, सरकार मौन छ। तुइन काटेर नागरिकको हत्या हुन्छ। देशभित्र विदेशी पल्टन आएर खानतलास गर्छन्, यी यावत अन्याय अत्याचारका बाबजुद सरकार बोल्दैन।
खास गरेर प्रवासीहरूको अविभावक को हो? उनीहरूलाई सरकारको बारेमा ‘कागलाई बेल’जस्तै भएको छ। मतदानको बेलामा विभिन्न पार्टीहरूले आ-आफ्ना संघसंगठन बनाएर मतदान गर्न त बोलाउँछन्, दबाब दिन्छन् तर त्यसपछि उनीहरूको काम सकियो। ‘चाहिँदाको भाँडो नचाहिँदाको ठाँडो’ बनाएका छन्, कयौँ राजनीतिक पार्टीहरूले।
भारतमा सामाजिक संगठनमा आवद्ध भएकाहरूले खाइ-नखाई दुःख, कष्ट झेलेर स-साना झै-झग्डाबाट लिएर ठुलाठुला समस्याहरूको समाधान गर्दै आएको जगजाहेर छ। तर सरकारले भारतस्थित नेपालीहरूको पक्षमा कुनै पहल गर्दैन। भारतस्थित सामाजिक संगठनको भूमिकालाई ध्यानमा राखेर उनीहरूले गर्दै आएको योगदानलाई न सम्मान गर्छ, न प्रोत्साहन गर्छ। आखिर सरकार र सरकारले त्यहाँ राखेको राजदूत के का लागि हुन्? त्यो पनि त्यहाँका श्रमजीविहरूले बुझ्न सकेका छैनन्।
भारतका विभिन्न राज्यहरूमा नेपाली श्रमजीविहरू कार्यरत छन्। तीमध्ये धेरैजसो अपहेलित र तिरस्कार भएका छन् तर त्यसबारेमा सरकारले कुनै पनि चासो देखाउँदैन।
आजको यो विज्ञानिक युगमा टेक्नोलोजीले सम्पन्न भएको समाजमा पनि छिमेकी मुलुकबाट रिटायर्ड भएका कर्मचारीहरूलाई पेन्सन प्राप्त गर्न वैशाखीको सहारामा आफूले काम गरेको आफिसमा पुग्नुपर्छ। त्यसको बारेमा कुनै राजनीतिक पार्टीले पनि आवाज उठाउँदैन। किन सरकार माैन बस्छ?
नेपाल र भारतको बीचमा भएको शान्ति तथा सन्धिअनुसार आम नेपालीलाई पनि अधिकार दिलाओस्। अन्यथा त्यो सन्धिको कुनै पनि औचित्य छैन। अहिले सरकारमा बसेकाहरूको राजनीति गर्ने थलो पनि त्यही भारतमा कार्यरत गरिब श्रमजीविहरूको छाती हो। तर उनैको भविष्यसँग खेलवाड गर्दै ‘चाहिँदाको भाँडो’ मात्र बनाउँदै आएका छन्।