यस्ताे छ पशुपतिमा महाशिवरात्रिकाे तयारी (भिडियाे)

BreaknLinks
BreaknLinks

महाशिवरात्रि आउन केही दिन मात्रै बाँकी छ। शिवरात्रिकाे रमझम सुरु भएसँगै पशुपति क्षेत्रमा भारत, मलेसिया र इन्डाेनेसियाबाट आउने साधु सन्तहरुकाे चहलपहल पनि बढ्न थालेकाे छ।

भव्य र सभ्यका साथ मनाइने शिवरात्रिको तयारी अन्तिम चरणमा पुगेको पशुपति विकास कोषले जनाएको छ। अघिल्लो सालकाे तुलनामा यसपटक दर्शन गर्न आउने दर्शनार्थीहरुको संख्या बढ्ने सम्भावना रहेको कोषकाे अनुमान छ।

‘यसपटक महाशिवरात्रिमा जगन्नाथपुरीस्थित गोवर्द्धन मठका स्वामी श्री निश्चलानन्द सरस्वती शङ्राचार्य ज्यूकाे उपस्थिति रहने भएकोले भक्तजनहरुको संख्या बढ्ने सम्भावना छ’, पशुपति काेषका प्रवक्ता रेवतिरमण अधिकारी भन्छन्, ‘यसपटक २० लाखभन्दा बढी भक्तजनहरुको सहभागी हुन सक्नेछ।’

विगतमा भन्दा यसपटक भक्तजनहरुको संख्या बढ्ने भएको कारण पशुपतिनाथमा हुने भीडभाडलाई व्यवस्थित बनाउनका लागि १० हजार स्वयंसेवक खटाइने उनले बताए।

‘सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन हुनेछन्, उनले भने, ‘सादा पोसाकमा पनि प्रहरी परिचालन गरी मेला क्षेत्रको अनुगमन गरिने छ।’

त्यसैगरी पूजा तथा दर्शनका लागि चारओटा छुट्टा–छुट्टै लाइनको व्यवस्था गरिएको उनले बताए। मित्रपार्क तथा गौरीघाट भएर उमाकुण्ड–दक्षिणामूर्ति हुँदै रुद्रगाडेश्वर उत्तरढोकाबाट एक लाइन, जयवागेश्वरी–इँटापाखा भएर भुवनेश्वरीस्थित फलामको सानो ढोका हुँदै पश्चिम ढोकाबाट एक लाइन व्यवस्था गरिएको छ भने यस्तै बत्तीसपुतली–गौशाला तथा एयरपोर्ट तीलगंगा भएर पिंगलास्थान–सुमार्गी भवन अगाडि भएर चार शिवालय पञ्चदेवलहुँदै दक्षिण ढोकाबाट दुईवटा लाइन रहने उनले बिएल नेपाली सेवालाई बताए।

शिवरात्रिका दिन बिहानकाे ३ बजेदेखि नै मन्दिरकाे चारवटै ढाेका खुलिने बताउँदै उनले भने, ‘वृद्धवृद्धा र शारीरिक रुपमा कमजाेर भएका व्यक्तहरूले दर्शन गर्नका लागि लाइन बस्न जरुरी छैन। उहाँहरुलाई दर्शन गराएर पठाउने हाम्राे जिम्मेवारी हाे।’

शिवरात्रिका दिन दर्शन गर्न आउने दर्शनार्थीहरुलाई कुनै किसिमको समस्या नपरोस् भन्ने उद्देश्यका साथ पशुपति कोष तयारीमा केन्द्रित रहेको अधिकारी बताउँछन्।

शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुलाई पशुपति कोषको आग्रह– महँगो सामान बाेकेर नआउनुहोस्

महाशिवरात्रिका दिन पशुपति क्षेत्रमा लाखौँ संख्यामा मानिसको घुइँचो लाग्ने भएकोले महँगो सामान नल्याउन पशुपति काेषकाे आग्रह छ।

भगवान महादेवको दर्शन गर्न आउने सबै भक्तजनहरु असल हुन नसक्ने उनकाे बुझाइ छ।

‘शिवरात्रिका दिन भीडभाड हुने भएकाले भारी गरगहना र महँगा मोबाइल फोन हराउन सक्छन्’, उनी भन्छन्, ‘भक्तजनहरु स्वंयमले पनि आफ्नो सामानको ख्याल राख्नु जरुरी छ।’

त्यसैगरी पशुपतिमा दर्शन गर्न आउने दर्शनार्थीहरुलाई भद्र भएर आएर शिवरात्रि सभ्य र भव्यका साथ मनाउनका लागि उनी आग्रह गर्छन्। 

प्रकाशित मिति: : 2023-02-15 18:10:00

प्रतिकृया दिनुहोस्