पोहोर साल नेपालमा भारतबाट १४ फेब्रुअरीमा करोडौंको गुलाबको फूल आयात भयो रे। त्यो फूल सायद केही दिन सुकेर बाहिर फालियो। यो वर्ष गुलाबको फूल आयात हुन रोकियो रे।
भ्यालेन्टाइन्स डेमा प्रेमी–प्रेमिकाले एकअर्कालाई गुलाबको फूल दिएर प्रेम दर्शाउँछन्। त्यसरी फूल दिनेहरूले कहिले पनि विचार गरेका छैनन् होला कि फूल पनि खान सकिन्छ।
गुलाबको फूल सूक्ष्म पोषणयुक्त तत्त्वले भरिपूर्ण छ भन्ने विचार गरिँदैन। फूलको सौन्दर्य हेरेर रमाएपछि त्यही फूल खान पनि सकिन्छ भन्ने कसलाई विश्वास लाग्छ र!
गुलाबको फूलले विभिन्न स्वास्थ्य समस्यालाई रोक्न सक्छ, केही साधारण समस्या ठिक पार्न सक्छ भनी नेपालको आयुर्वेद ग्रन्थ ‘चन्द्र निघण्टु’मा पनि लेखिएको छ। रङ्गीचङ्गी गुलाबमा ९५ प्रतिशत जलांश हुन्छ।
अर्थात् कब्जियतको समस्या हल गर्न यसले केही मद्दत गर्न सक्छ। यसमा थोरै मात्रामा भिटामिन ‘सी’ हुन्छ, केही रेसादार पदार्थ पनि हुन्छ। गुलाबको फूलमा सूक्ष्म पोषक तत् हुन्छ। फूलको पातबाट गुलकन्द, सर्वत बनाइन्छ। गुलाबजल बनाएर सुगन्धका लागि प्रयोग गरिन्छ।
म गुलाबको फूलको पात फलफूल र दहीको सलाद बनाउँदा माथिबाट छर्छु। सानो–सानो टुक्रा पारेर प्रेमीले दिने सौगात गुलाबको फूलमा विभिन्न किसिमका रसायन मिसाएर लामो समयसम्म ताजा राख्ने कोसिस गरिएको छ भने त्यो प्रयोग नगरेकै वेश।
आफैंले करेसाबारी, बगैंचामा कुनै बाहिरी औषधि नमिसाई हुर्काइएको गुलाबको फूल भने मजासँग प्रयोग गर्न सकिन्छर। बगैंचामा फुलेको फूल भगवानलाई चढाएपछि ‘प्रसाद’ बन्छ। त्यो प्रसाद सुकेपछि गुलाबको पत्ता पानीमा उमालेर वा तातो पानीमा हालेर केही छिन् राखेपछि मिठो बास्ना आउँछ। त्यसलाई मजासँग पिउन सकिन्छ, चियाजस्तै।
गुलाबको अत्तरमहङ्गो हुन्छ र हामी धेरै जनाको ‘अर्थ’ अवस्थाले किन्न पनि सकिँदैन होला। मेरी एक साथीले घरमा बास्नायुक्त तेल बनाउने जुक्ति निकालिन्। अमेरिकामा रहेकी उनी गुलाबको पातलाई तातो ओलिभको तेलमा राखेर विशेष तेल बनाउँछिन्। उनले आफ्नो छालामा मसाज गर्न त्यसलाई प्रयोग गर्छिन्। मैले उनलाई ओलिभको तेलको सट्टा तोरी वा तिलको तेलमा पनि राखेर बनाउन सकिन्छ कि भनेर सोधेको थिएँ। अमेरिकामा त्यस्तो तेल प्रयोग नहुने भएकाले उनले अनभिज्ञता जनाइन्।
त्यो तेल (गुलाब र ओलिभबाट बनेको) उनी राति सुत्दाअनुहार, हात र खुट्टामा प्रयोग गर्छिन्। आफ्नो बगैंचाका गुलाब फूल भएकाले तिनमा रसायन नहुनेमा उनी ढुक्क छिन्।
म मेरो बगैंचामा फुलेको गुलाब खान्छु। हाम्रो पालामा प्रेम दर्शाउन गुलाबको फूल दिने चलन थिएन। गुलाबको फूलको सट्टा कसैले पसलमा लगेर जेरी–स्वारी र एककप चिया खुवायो भने ठूलो कुरा हुन्थो र बढी प्रेम दर्शाएको मानिन्थ्यो।
गुलाबजलको प्रयोग छालाको सौन्दर्य बढाउन प्रयास हामी सबैले प्रयोग गर्छौं। मेरा केही साथीले गुलाब पिसी त्यसमा दही र बेसन मिसाएर लगाउँछन्। गुलाबको पात अनेक थरीका साबुन बनाउन प्रयोग गरिन्छ।
साबुनको विज्ञापनमा गुलाबको फूलमा नुहाएर निस्केकी अभिनेतृ देखाएर त्यस्तै साबुन किन्नुपर्छ भनी लोभ्याइन्छ। यस्तो विज्ञापनमा भने म विश्वास गर्दिन। मुखमा घाउ हुँदा मेरी बज्यै गुलाबको फूल पानीमा पकाएर त्यसले कुल्ला गर्नुहुन्थ्यो।
भारतका केही गाउँमा गुलाबको फूल धेरै प्रयोग गरेको देख्दा मलाई अचम्म लागेको थियो। बगैंचामा फुलेको गुलाबको फूल पानीमा भिजाउने र बिहान उठ्ने बित्तिकै त्यो पानी र भिजाएको गुलाफ संँगै खाँदा पेट स्वस्थ राख्न मद्दत मिल्छ भन्नेहरू त्यहाँ थिए। नेपालको तराईतिर बजारबाट किनेको गुलाफजलको सर्वत पाहुनालाई दिने चलन छ।
त्यसको सट्टा बारीको गुलाबको फूल पिसेर गुड (सख्खर) मिलाएर खुवाए बढी स्वस्थकर हुन्थ्यो, पैसा बच्थ्यो। गुलाब उपहार दिनमात्रै होइन, प्रयोग गर्न पनि सिकौँ।