मैले थाहा पाउँदादेखि घरमा एउटा सानो भाँडो थियो। छिनछिनमा अलगअलग कुरा गर्ने, कहिले गित सुनाउने, कहिले देशविदेशका खबर सुनाउने त्यो भाँडो अचम्मको लाग्थ्यो। त्यो सानो भाँडोमा बसेर यसरी गित गाउने, खबर भन्ने कति सानो मान्छे होला भन्ने खुल्दुली लागिरहन्थ्यो। तर त्यसलाई छुने वा चलाउने अनुमति हामी साना केटाकेटीलाई थिएन। हामीलाई बरु भनेजस्तो लुगा थिएन तर त्यो सानो भाँडोलाई भने चिटिक्क परेको बुट्टे कपडाको झम्कनासहितको खोल लगाइएको थियो। कपडामा फित्ता लगाएर घरको भित्तामा झुण्ड्याउने गरिएको थियो त्यो।
पहाड घर तेह्रथुमको तत्कालीन श्रजुङगाउँ पञ्चायत हाल मेन्छेयाम गाउँपालिकामा करिब २०४५/०४६ सालतिरको सम्झाना आउँछ। सायद बुबाले धनकुटा पाख्रिबासमा रहेको कृषि केन्द्रमा काम गर्दा किनेर ल्याउनुभएको थियो होला। पानासोनिक ब्राण्डको रेडियो सेट रहेछ त्यो अचम्मको भाँडो।
पछि मधेस झर्दा घरका मालसामान संगै परिवारको एक सदस्य बनेको त्यो रेडियो पनि छुट्ने कुरै भएन। पहाडमा हुँदा घरको भित्तामा झुण्डिने त्यो रेडियो मधेस झरेपछि काकाको कोठामा कैदी बन्यो। धेरै पुरानो बनिसकेको रेडियोको मिटरको तारसमेत चुँडिएर काकाले गाँसेर बनाउनुभएको थियो। रेडियो सेट पुरानो भएर बाहिरबाट अर्को तारले बाँध्नुपरेको थियो।
सायद २०५२ सालसम्म हाम्रो घरमा त्यही पुरानो रेडियो थियो। त्यो रेडियो बिग्रिएपछि अरु नयाँ रेडियो किनिए। मलाई पहिल्यैदेखि रेडियो अत्यन्तै मनपर्ने। स्कुल छुट्टी भएर घर आएर भैंसी चराउन जाँदा पनि रेडियो बोकेरै जान्थेँ। रेडियो नेपालदेखि अल इण्डिया रेडियोसम्मका गित बज्ने समय र कार्यक्रम पुरै याद थियो। चाइना रेडियो इन्टरनेशनल (सिआरआई) मा सहभागिताको लागि पत्राचार गर्नेदेखि रेडियो कार्यक्रममार्फत पत्रमित्रता गर्नेसम्मका गतिविधिमा संलग्न हुन्थेँ।
गाउँका साथीभाइले म घरमा भए/नभएको पनि रेडियो बजेको छ वा छैन भनेर थाहा पाउँथे। सायद २०५५ सालतिरको तिहारमा काठमाडाैँ दिदीकोमा टिका लगाउन आउँदा दिदीको घरमा युटिएलको टेलिफोन सेट थियो। त्यसैबाट रेडियो नेपालको राजधानीको सन्देश कार्यक्रममा सहभागी भएर गाउँमा आफ्नो सन्देश पठाएँ। पछि तिहार सकेर घर आउँदा ‘नानी तँ रेडियोमा बोलिछस् नि! अस्ति भट्टराई माइलाको छोराले सुनेको रहेछ’ भनेर आमाले भन्दा कम्ता गजक्क परिएन।
मलाई सानैदेखि रेडियोको अत्यन्तै ठुलो सौख थियो। खेत जोत्न जाँदा वा बिउ काढ्दा पनि आलीको डिलमा रेडियो बजिरहेको हुन्थ्यो। पानी पर्दा रेडियोलाई घुम ओडाएर आफू भिज्दै काम गर्थें। पछि झापाको बिर्तामोडमा रहेको कञ्चनजंघा एफ.एमले गाउँ-गाउँमा श्रोता क्लब बनाउँदा हामीले पनि बालुबाडी (हाल कचनकवल वडा नम्बर ७) मा दिपज्योती कञ्चनजंघा एफ.एम रेडियो श्रोता क्लब गठन गरेका थियौं। म श्रोता क्लबको सचिव, गाउँमा केही गतिविधि भए भने समाचार बनाएर पठाउने गर्थें। श्रोता क्लबको कार्यक्रममा दुई पटक सहभागी भएर अन्तर्वार्ता पनि दिएको थिएँ।
रेडियोमा बोलेपछि गाउँमा चर्चा नै अर्कै, कुनै कार्यक्रममा आफ्नो उपस्थिति नै अर्कै हुन थाल्यो। गाउँमा श्रोता क्लबको माध्यमबाट र अन्य सामाजिक कार्यको माध्यमबाट हाजिरिजवाफ, नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गर्थ्याैँ। कार्यक्रमको सञ्चालक म नै हुन्थें। कार्यक्रम सञ्चालन एकदमै राम्रो छ भनेर अग्रज र साथीभाइ हौस्याउँथे।
२०६३ सालमा दमकमा सप्तरङ्गी एफ.एम खुल्दैछ र त्यसमा काम गर्नका लागि तालिम सञ्चालन हुने पत्रिकामा सूचना छापिएको थियो। साथीभाइहरुले रेडियोमा तिम्रो नाम निस्कन्छ भन्दै हौस्याउन थाले। तालिम लिन आएको पछि नाम पनि निस्कियो। त्यस बखत म गाउँमै एउटा सामाजिक संस्थाको सामाजिक परिचालक र अर्को गैह्रसरकारी संस्थामा काम गर्थें। आम्दानी राम्रै थियो। म दुई ठाउँबाट तलब खान्थें, रेडियोमा काम गर्दा एउटाबाट आउने जति तलब पनि नआउने।
असमञ्जसका बीच बालुबाडीबाट २०६४ सालमा दमक आएँ। पहिलो दिन रेडियोमा कार्यक्रम सञ्चालन गरेर बाहिर निस्कँदा गुलाबको फूल लिएर ५ जना श्रोता आउनुभएको थियो। सांगितिक कार्यक्रमको सञ्चालक भएकाले ग्ल्यामरको दुनियाँको रमाइलो पनि अनुभूति गर्न पाइयो। बजारमा निस्कँदा आफैँले बोलेको विज्ञापन रेडियोमा बजेको सुन्दा गजक्क परिन्थ्यो।
२०६१ सालमा कञ्चनजंघा रेडियो श्रोता क्लबबाट सुरु भएको रेडियोको यात्रा २०६३ सालदेखि दमक आएर सप्तरङ्गी एफ.एममा जोडियो र हाल पनि निरन्तर छ। रेडियोसंगको मेरो नाता सम्बन्ध उस्तै प्रगाढ छ।
विगतमा वस्तु गोठालो जाँदा बुबाबाट लुकाएर रेडियो बोकेको दिन र अहिले दैनिक रेडियोमा समाचार वाचन गर्दाको दिनसम्ममा रेडियोसंग कति किसिमका सम्झना र क्षणहरु जोडिएर आए होलान्। कस्ता-कस्ता पलहरु बिते होलान्। तर पनि रेडियोप्रतिको माया र प्रगाढता उस्तै र कलिलै छ। रेडियोसंगको यो अजम्बरी नाता कायमै रहने छ।
(लेखक गिरिराज भट्टराई ब्रोडकाष्टिङ एसोसिएसन अफ नेपाल(बान) प्रदेश १ अध्यक्ष र सप्तरङ्गी एफ.एम. प्रबन्ध निर्देशक हुन् )