कनकासुन्दरी गाउँपालिका- ५ लुड्कुकी १३ वर्षीया ममता बुढाकाे आर्थिक अभावका कारण काेहलपुरकाे शिक्षण अस्पतालमा मृत्यु भयाे।
बायाँपट्टीकाे फोक्सो सुकेको, टाउकोमा पानी जमेर इन्फेक्सन भएको र दायाँ पट्टीको शरीर चल्न छोडेको लगायतकाे रोगबाट ग्रसित ममता विगत पाँच दिनदेखि कोहलपुर मेडिकल कलेजको आइसियूमा बेहाेस अवस्थामा थिइन। बुधबार उपचारको क्रममा उनकाे मृत्यु भयाे।
आर्थिक अवस्था कमजोर भएका कारण थप उपचार हुन नसक्दा उनकाे मृत्यु भएकाे हाे। उनका बुबा र आफन्तले सहयोगकाे लागि अपिल गरेका थिए। तर, उनकाे उपचारको लागि सहयोग जुट्न सकेन।
राज्य संचालन हुने केन्द्रदेखि दुर्गम मानिने विकट सिंजाबाट उपचारका लागि निजी अस्पतालमा पुग्दा ममताका आफन्तले अस्पतालले ताेकेकाे खर्च व्यहाेर्न सकेनन।
शासन व्यवस्था संचालन गरिरहेकाहरु स्वास्थ्य, शिक्षालाई सुलव र प्रभावकारी बनाउने बचन दिन्छन। चुनावी घाेषणापत्रमा दुर्गममा स्वास्थ्य सेवा पुगाउनेदेखि जटिल प्रकृतिका राेगहरुकाे नि:शुल्क उपचार गरिदिने सम्मका बचा गरिन्छ। ती राजनीतिक पार्टी र नेताहरुले चुनाव जितेर सरकार बनाएर राज्यकाे स्राेतसाधनमाथि चरम दाेहन गर्छन। तर, उनीहरुले जनतासामु गरेकाे घाेषणापत्रका कागजी पानाहरु ट्वाइलेट पेपर बन्छन। परिणाम ममताहरु मरिरहन्छन्।
उसाे त देशकाे मुल कानुन भनिएकाे संविधानकाे माैलिक हकमै स्वास्थ्य नि:शुल्क भनिएकाे।
संविधानकाे धारा ३५ काे स्वास्थ्यसम्बन्धी हकका चारवटा उपधाराहरुमा भनिएकाे छ, 'प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित गरिने छैन। प्रत्येक व्यक्तिलाई आफ्नो स्वास्थ्य उपचारको सम्बन्धमा जानकारी पाउने हक हुनेछ। प्रत्येक नागरिकलाई स्वास्थ्य सेवामा समान पहुँचको हक हुनेछ। प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सरसफाइमा पहुँचको हक हुनेछ।'
तर, ममताकाे स्वास्थ्य सेवामा पहुँच पुग्न सकेन। परिणाम आइसियूमा उपचार गराइरहेकी उनी हाेस नखुलेरै मरिन।
ममताका मामा सन्तोष बाेहाेराका अनुसार डाक्टरहरले सल्लाहअनुसार भेन्टिलेटरमा राखेर उपचार गर्न सल्लाह दिएका थिए। भेन्टिलेटरमा प्रतिदिन १४ हजार बढी खर्च लाग्ने रहेछ। त्यही खर्चको जाेहाे नहुँदा उनकाे ज्यान गयाे।
भेन्टिलेटर राख्नलाई पैसा नहुँदा मृत्युकाे मुखमा पुगेकी ममताले अन्तत: याे संसार छाेडेकी छिन। उनले जाँदा जाँदै देशको स्वास्थ्य प्रणाली गरीब निमुखामुखी नभएकाे प्रमाणित गरेर गएकी छिन। शासकहरुकाे बाेली र व्यवहारमाथि एकपल्ट फेरि जनताले घिन मान्ने दिन आउन लागेकाे संकेत दिएकी छिन्।
बेहाेस छाेरीकाे अवस्था देखेर हरफरिएका उनका बुबाकाे अवस्था अहिले सम्हालि नसक्नु छ। इन्डिया गएर सामान्य व्यापार गरी परिवार चलाउँदै आएका उनले उपचारमा मनग्ये खर्च गर्न नक्दा छाेरी गुमाए।
तर, याे राज्यले आफ्नाे भविष्य गुमाएकाे छ। देशकाे शक्ति गुमाएकाे छ। भविष्यकी आमा गुमाएकाे छ। कम्तीमा पनि विदेश गएर शासकहरुलाई पाल्ने रेमिटेन्स गुमाएकाे छ।
गाउँले साथी भाइको सहयोगमा आइसियूमा राखेर उपचार भएपनि हाेस् नखुलेपछि भेन्टिलेटरमा लिनुपर्ने थियाे। त्यहीँ लिएर उपचार गर्न नसक्दा ममताले मृत्युुवर्ण गर्नुपरेकाे बाेहराले बताए।
उनले भने, 'आर्थिक अभावले भेन्टिलेटरमा लिन नसक्दा भान्जी गुमाउनु पर्यो। हेर्दा हेर्दै कलकलाउँदाे, लाउँलाउँ, खाउँखाउँ भन्ने उमेरमा मर्नुपर्ने स्थिति आयाे।'