देशका ठुला ओहोदामा पुगेर जनतालाई बाचा गरेको झुटा आश्वासन पूरा गर्न नसकेपछि आफ्नो अयोग्यता लुकाउन मिडिया र संचारकर्मीलाई कहिलेसम्म दोष दिने 'रवि दाई' र 'श्री आठ बालेन्द्र सरकार' ?
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्रता पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ।
आफूले गृहमन्त्री नपाएकाे झाेक्कमा सरकारबाट बाहिरिएकाे कारण रास्वपाका २० सांसद रविकाे आक्राेशकाे शिकार भएका छन्। उनको क्रोधको चपेटामा पर्ने ति सांसद त छँदै थिए, आफूले गरेको गल्तीकाे कारण पनि मिडियालाई देखाएर देशका सारा मिडिया र केहि नेतालाई गालीगलाैज पनि गरे।
आफूबिना रास्वपाको अस्तित्व नरहने मनसाय बोकेर हिंडेका रवि लामिछाने विवादै विवादको दलदलमा फसेका छन्। आफैँले सिर्जना गरेको दलदलमा फसेका उनलाई बाहिर निस्कन मुश्किल देखिन्छ।
आइतबार पत्रकार सम्मेलन गरेर सरकारबाट बाहिरिने निर्णय गरेका उनले आफ्नो धरातल नै बिर्सिएर टिकाटिप्पणी गरेका छन्। 'देश बिग्रिनुमा मिडिया कै हात रहेको' वक्तव्यका साथ उनले दुई घन्टे पत्रकार सम्मेलन गरेका थिए।
चितवन क्षेत्र न. २ बाट संसदीय चुनावमा उठेका रवि भारी मत प्राप्त गरेर विजयी भएका हुन्। उनको सफलताको पछाडि मिडियाको निकै ठूलो भूमिका छ।
कुनै राजनीतिक पृष्ठभूमि नभएका एउटा पत्रकारले नेपालको राजनीतिक परिदृश्य नै फेरिदियो। छोटो समयमा सफलताको छलाङ मारेका उनी सांसददेखि उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत भए। यद्यपि उनको कार्यकाल छोटो समयमा नै टुंगियो।
नेपाल बार संघका अधिवक्ताहरुले रविको दोहोरो नागरिकताविरुद्ध दर्ता गरेको रिटको सर्वोच्च अदालातले विपक्षमा फैसला सुनाएपछि बाध्य भएर उनले पदबाट राजीनामा दिएका हुन्।
गृह मन्त्रालयको ढिपीको परिणाम केहि नआएपछि रविले देशका सम्पूर्ण मिडियामाथि आफ्नो आक्रोश पोखे। गृहमन्त्री र उपप्रधानमन्त्री सम्मानीत पदबहार गरिसकेका व्यक्तिले तल्लोस्तरमा गिरेर बोल्नु अनैतिक हो र आफ्नाे अभिव्यक्तिले अरूलाई असर गर्छ भनेर नबुझ्नु उनकाे मूर्खता हो।
'१२ भाई' मिलेर देश बिगारेका जस्तो संघिन आरोप लगाउनु भन्दा अघि रविले आफ्नो कर्तुतको बारेमा किन सोचेनन्? दोहोरो नागरिकता र पासपाेर्टको प्रकरण जस्ता आरोप पुष्टि भएकाे व्यक्तिले अरुको चरित्रमाथि सवाल गर्नु कत्तिकाे उचित हाे?
त्यसो त आफूले पदभार गरेपछि मिडियालाई शत्रु ठान्ने रवि मात्र पहिलो नेता हाेइनन्। काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साहले नै यो प्रवृत्तिको थालनी गरेका हुन् भन्दा फरक नपर्ला।
स्थानीय तहको चुनाव अघि काठमाडौँको फोहोर व्यवस्थापनलाई मूख्य एजेन्डा बनाएर आफ्नो चुनावी अभियानको प्रचार गरेका थिए बालेन्द्र साहले। तर चुनावमा विजयी भएपछि हिमालयन टिभीका दुई पत्रकारलाई बालेन्द्रले दुर्व्यवहार गरेका थिए।
टेकुस्थित फोहोर संकलन केन्द्रमा रिपोटिङ गर्न गएका हिमालयनका प्रिन्स मिश्र र अबिष्ट लामामाथि दुर्व्यवहार गर्दै खिचेकाे भिडियाे झपार्दै डिलेट गर्न लगाए।
रवि र बालेन्द्रबीच थुप्रै भिन्नता छन्। आफ्नो राजीतिक यात्रा सुरु गर्नु भन्दा अघि दुवै आ–आफ्नो पेशामा आवद्ध थिए। एउटा पत्रकार त अर्को र्यापर। एउटा सांसद त अर्को मेयर। तर समानता एउटै–अलिकति पनि राजनीतिक अनुभव नभएकाे र चुनाव जित्न मिडियाको भूमिका रहेकाे। बालेनको सर्न्दभमा मूलत: स्वघोषित मिडिया 'रुटिन अफ नेपाल बन्द' अर्थात 'आरओएनबी' फेसबुक पेज।
करिब ३६ लाख फलोवर भएको पेज आरओएनबीले चुनावको समय बालेन्द्रको हरेक क्रियाकलापको अपडेट दियो। पेज हेर्दा त लाग्थ्याे बालेन्द्र साहको व्यक्तिगत पेज हो। आरओएनबीले आफ्नो ३६ लाख फलोवरमार्फत बालेन्द्रको छविलाई बढाइचढाइ देखायो। राम्रो–नराम्रो कामको खुलस्त रुपमा प्रचार गर्यो। र चुनावपछि पनि महानगर र बालेन्द्रको प्रवक्ता नै आरओएनबी भयाे।
काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेविरुद्ध महिला दुर्व्यवहार जस्तो अमानवीय अपराधको आरोप लाग्दालाग्दै पनि आरओएनबीले उनलाई 'काठमाडौँको सिङ्घम' जस्ता 'ट्याग' ले सम्मान गर्नु एउटा लज्जास्पद कुरा हो।
सामाजिक सञ्जालमा लाखौँ फलोवर बटुलेको एउटा पेजको दायित्व त्यही हो? आरओएनबीलाई कसले नियमन गर्ने? असनको खुला साँढे जसरी सामाजिक सञ्जालमा जे गर्दा पनि हुने? एउटा अपराधिक मानसिकता भएको व्यक्तिलाई संरक्षण दिने आरओएनबी जवाफदेहिता हुने कि नहुने?
'एथिक्स' र 'मोर्यालीटि' नै बिर्सिएर पैसाको पछि दौडिने एउटा फेसबुक पेजलाई परिचालन गरेर मेयर बालेन्द्रले जनमानसलाई 'ब्रेन वास' गरे। सवारी दुर्घटना जस्तो गम्भीर विषयको खिल्ली उडाउँदै एउटा 'ब्रान्ड' को प्रवर्द्धन गर्ने पेजलाई केहि कानुन लाग्दैन? छैन केहि नियम? आरओएनबीलाई एउटा मिडियाको दर्जा कसले दियो? र त्यस्ता नैतिकताहिन फेसबुक पेजलाई काखी च्यापेर प्रिन्स मिश्र र अबिष्ट लामा जस्ता अनुभवी पत्रकारलाई लात हान्नु भनेको सारा श्रमजीवी पत्रकारको पेटमा लात हाने सम्मान हाे।
चुनावी माहोलमा मिडिया 'म्यानिप्युलेट' गरेर चुनाव जितेपछि आफ्नो धरातल नै बिर्सिएर मिडियाविरुद्ध उजुरी गर्ने र आधारहिन आरोप लगाउने प्रवृतिको जग बसाल्दै छन् यी दुई राजनेता।
आलोचना खेप्न नसकेपछि जुन मिडियाले हिजोको दिनमा 'हिरो' बनायो त्यही मिडियालाई छिछि-दुरदुर गर्ने मनसायले संचारकर्मीहरु आजित भएका छन्। चुनाव अघि जनतालाई ठुला-ठुला आश्वासन दिएर जित्ने र काम गर्न नसकेपछि मिडियालाई दोष दिने? यो प्रवृत्तिलाई सामान्यीकरण गर्न खोज्ने रवि र बालेन जस्ता अयोग्य नेताहरुलाई जनताले कहिलेसम्म पत्त्याउने?
राष्ट्रिय समाचार समिति (रासस) बाट दुई–चार लाइन समाचार चोरेर जनतालाई भ्रममा राख्ने आरओएनबी जस्ता स्वघोषित मिडियाले संचारकर्मी र संचारमाध्यमको अर्थ नै उल्ट्याइदिएको छ। मेयर जस्तो जवाफदेही पदमा बसेर त्यस्ता पेजलाई प्रोत्साहन दिने हो भने देशमा श्रमजीवी पत्रकारको के खाँचो?
'रवि दाई' तपाईं त पहिले पत्रकार पनि हुनुहुन्थियो, तपाईंलाई के लाग्छ तपाईंले जे आक्षेप लगाउनु भयो, त्यो ठिक हो? बालेन्द्र साह त एउटा र्यापर हुन्, उहाँले मिडियाको महत्व नबुझ्नु स्वाभाविक नै हो तर तपाईंले त यो विषयमा सोच्न पर्ने कुरा हो।
बालेन्द्र सरकार, देशका जनताले 'युवा नेता' मा विश्वास गरेका छन्, जनताको विश्वासघात गरेर आफ्नो अयोग्यतालाई आरओएनबी जस्ता पैसामुखी पेज मार्फत नलुकाउनु होला।
मिडियाकाे भर्याङ चढेर सत्तामा पुगेका प्रतिनिधिले चुरीफुरी देखाउँछन् भने उनीहरूले याद गर्नुपर्छ कि जसलाई मिडियाले सत्तामा पुर्याउँछ उनीहरूलाई त्यही मिडियाले सडकमा उतार्न पनि सक्छ।