अमेरिकी सेनाद्वारा गोली प्रहार, खस्यो चिनियाँ सन्दिग्ध बेलुन

बिएल संवाददाता

वासिङ्टन डीसी

अमेरिकी सेनाले अमेरिकी आकाशमा उडिरहेको संदिग्ध चिनियाँ बेलुन गोली हानेर खसाली दिएको छ ।

बेलुन अमेरिकाको पूर्वी तटस्थित एटलान्टिक महासागरको कारोलिनाजनजिकै खसालेको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । 

चीनले मौसम अध्ययनका लागि उडाइएको बेलुन हावाले धकेलिएर अमेरिकी आकाशमा पुगेको दाबी गरेको थियो । चिनिया अधिकारीहरूले बेेलुन अमेरिकी आकाशबाट बाहिर ल्याउन प्रयास भैरहेको बताएका थिए । यहीबीचमा अमेरिकाले बेलुन नै खसाली दिएको हो । 

अमेरिकी रक्षा विभाग पेन्टागनका अधिकारीहरूले अर्को एक संदिग्ध चिनिया बेलुन ल्याटिन अमेरिकी आकाशमा देखिएको जनाएका छन् ।

यसरी एकपछि अर्को संदिग्ध बेलुन अमेरिकी आकाशमा देखिनुको मूल कारण जासुसी नै भएको अमेरिकी रक्षा अधिकारीहरूले दाबी गरेका छन् । यद्यपि, चिनिया अधिकारीहरूले भने उनीहरूको आरोप खण्डन गर्दै मौसमको अध्ययन गर्न बेलुन प्रयोग गरिएको बताएका छन् ।

अमेरिकी आकाशमा चिनिया जासुसी हुँदैआएको अमेरिकाले आरोप लगाउँदै आएको यो पहिलो घटना हैन । यसअघि पनि यस्ता आरोप-प्रत्यारोपहरू अमेरिका र चीनबीच लगाइदै आएका छन् । बेलुन प्रकरण त्यसैको पछिल्लो श्रृंखला हो ।  

यो प्रकरणले अमेरिका र चीनको सम्बन्ध अरू चिस्याएको छ । यही परिघटनापछि अमेरिकी विदेश मन्त्री ब्लिन्केनको आसन्न चिनियाँ भ्रमण पनि स्थगित भएको छ । 

अमेरिकाको घरेलु राजनीतिमा पनि यो एक मसला भएको छ । खासगरी दक्षिणपन्थी रिपब्लिकनहरूले यसलाई राष्ट्रपति बाइडेनविरूद्ध निशाना साँध्ने अर्को एउटा मौका बनाएका छन् । बाइडेन चिनियाँप्रति उदार रहेको ठान्ने उनीहरूले यो घटना त्यही उदारताको परिणाम भएको बताएका छन् । 

प्रकाशित मिति: : 2023-02-05 02:20:00

प्रतिकृया दिनुहोस्