निम्न वर्गलाई लक्षित गरेर पठनपाठनकाे आधार तयार पारेका छाैं: प्रधानाध्यापक राेकाया

जुम्ला सदरमुकाम खलंगा बजारबाट दक्षिणतिर देवदार र सल्लाकाे जंगलले ढाकिएकाे एउटा विद्यालय छ। शान्त वातावरणमा रहेकाे विद्यालयकाे नाम हाे रत्नचूडेश्वर मावि। जहाँ १२ सम्मकाे पढाइ हुन्छ।

कक्षा ११ र १२ मा हरेक वर्ष उत्कृष्ट नतिजा ल्याउने विद्यालयकाे व्यवस्थापन पछिल्लो समय चुस्त बन्दै गइरहेको छ।

विद्यालय आकर्षणकाे केन्द्र रहनु, शान्त वातावरण र कक्षा ११-१२ काे नतिजाले मात्रै हाेइन। विद्यालयले आफ्नै जग तयार पार्ने प्रयत्न गर्नु र भविष्य सुनिश्चित हुने माहाेल बनाउँदै जानु हाे।

जसका निम्ति विद्यालयले निजी स्राेतका शिक्षक राखेर कक्षा एकदेखि ५ सम्म अंग्रेजी माध्यमबाट अध्यापन गराइरहेकाे प्रधानाध्यापक कृष्ण बहादुर राेकायाले बताए।

'हामीले पहिलो वर्ष नर्सरी र केजीबाट अंग्रेजीमा पढाउन सुरु गरेका थियौं। त्यसपछि हरेक वर्ष एक कक्षा बढाउँदै लगेका छाैं,' उनले भने, 'याे वर्ष हामी कक्षा पाँचसम्म अंग्रेजी माध्यममा पढाउँदैछाैं। अब हरेक वर्ष बढाउँदै जाने याेजना रहेकाे छ।'

तल्लो तहमा प्राय: निम्न आयस्रोत भएका अभिभावक र त्यसमा पनि अधिकांश दलित समुदायका विद्यार्थी मात्र पढिरहेको हुँदा उनीहरुलाई प्रतिस्पर्धी बजारमा पुगाउन अंग्रेजी माध्यम सुरु गरिएकाे प्रधानाध्यापक राेकायाले थपे।

'हाम्राे विद्यालयकाे कक्षा ११, १२ मा जिल्लाभरबाट विद्यार्थी पढ्न आउँछन्। एक से एक राम्रा विद्यार्थी छानेर भर्ना लिन सक्ने स्थिति छ,' उनले थपे, 'तर विद्यालयको क्याजमेन्ट एरिया साँघुराे हुँदा र नेपाली माध्यमबाट मात्रै अध्ययापन हुँदा तल्लो तह सबै विद्यार्थीकाे राेजाई बन्न सकिरहेकाे छैन। त्यसैले जग बसाल्न तल्लो तहबाटै अंग्रेजी माध्यमबाट पढाइ सुरु गरेका छाैं।'

अहिले अंग्रेजी माध्यममा कक्षा १ देखि पाँचसम्म अध्ययन गरिरहेका अधिकतम विद्यार्थी दलित समुदायकै भएकाे निजी स्राेतकी शिक्षिका चन्द्रकला राईले बताइन्।

'घरकाे वातावरण शिक्षा हासिल गर्नलाई उपयुक्त नभए पनि विद्यार्थी निकै टाँठा छन्। उनीहरु हिलाेमा फुलेका कमल जस्तै हुन,' उनले भनिन्, 'अब उनीहरु अन्य निजी स्कुलका विद्यार्थीसँग प्रतिस्पर्धा गर्न सक्छन्। हामीले त्याे अभ्यास गर्दा उनीहरु टाँठा देखिए।'

अंग्रेजी माध्यमबाट शिक्षा आर्जन गर्न चाहने आफ्नै गाउँका अभिभावकले आफ्ना छाेराछाेरी विद्यालयमा नपठाउँदा विद्यार्थी संख्या कम हुँदै गयाे। एकातिर क्याजमेन्ट एरिया सानाे हुँदा र अर्काेतिर आफ्नै गाउँका अभिभावकले विद्यार्थी नपठाउँदा स्कुलकाे शैक्षिक स्तर खस्कँदै गएकाे भ्रम पर्न थाल्याे।

विद्यालयकाे जनशक्ति सक्षम हुँदा पनि अध्यापनकाे माध्यमका कारण विश्वास पाउने वातावरण बनाउन अंग्रेजी माध्यम सुरु गरिएकाे सहायक प्रधानाध्यापक कुलराज देवकोटाले बताए।

'यसकाे लाभ अहिले दलित समुदायले लिइरहेको छ। अब सबैले लिने वातावरण बनाउँदैछाैं। स्कुल सबैकाे गन्तव्य बनाउने साेच राखेर अगाडि बढिरहेका छाैं,' उनले भने, 'एउटा समुन्नत समाजको परिकल्पना गर्न शैक्षिक स्तरलाई ध्यान दिनैपर्छ। अहिले हामीले हाम्रो सबै उर्जा त्यसैमा केन्द्रित गरेका छाैं।'

पछिल्लो समय विद्यालयकाे पूर्वप्राथमिक तहदेखि कक्षा पाँचसम्म पढाउने चार जना शिक्षक नियुक्ति गरी पठनपाठनको तयारी भइरहेको प्रधानाध्यापक रोकायाले बताए।

'आधार मुख्य कुरा भएकोले अंग्रेजी माध्ययमलाई ध्यान दिएका छौं। त्यसका लागि अंग्रेजी माध्यममा लामो समय पढाउनुभएका शिक्षकलाई निजी स्रोतबाट भर्ना गरेका छौं। हामीले याे तीन वर्षमा समुदाय र अविभावकले विश्वास गर्ने खालको नतिजा दिन सकेका छाैं। यही नै हाम्रो उपलब्धि हाे,' उनले भने।

अन्य सरकारी विद्यालय मिन पचासकाे विदा भनेर बन्द भएकाे समयमा रत्नचुडेश्वर माविले नियमित रुपमा विद्यार्थी भर्नाको लागि घरदैलो अभियान चलाइरहेको छ भने कक्षा सञ्चालनसमेत गरिरहेकाे छ।

यसको प्रतिक्रिया सकारात्मक आएकाले विद्यालय परिवार उत्साहित भएको सहायक प्रधानाध्यापक कुलराज देवकोटाले बताए।

'हाम्राेतर्फबाट कमीकमजोरी भएकाे भए पनि सुधार्छाैं भनी समुदाय र अभिभावकसँग बाचा गरेका छौं,' उनले भने, 'यसमा सबैको साथ सहयोग चाहिन्छ। रचनात्मक सल्लाह, सुझाव र आलोचनाको अपेक्षा राखेका छौं।'

यतिबेलाकाे घरदैलो अभियानमा धेरैजसो अभिभावकले सरकारी स्कुलमा पढाउने शिक्षकले आफ्ना छाेराछाेरी पनि सरकारी स्कुलमा पढाउनुपर्ने भनी राेखेकाे माग अनुसार आफूहरु तयारीमा लागेकाे प्रधानाध्याप राेकायाले थपे।

'हामीले विद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारीका छाेराछाेरीलाई पनि आफ्नै स्कुलमा भर्ना गराएका छाैं। याे वर्ष कुनै पनि शिक्षकका छाेराछाेरी निजी स्कुलमा पढ्ने छैनन्,' उनले भने, 'माघ २२ गतेभित्र भर्ना गर्न आउने विपन्न बालबालिकालाई हाउस ड्रेस नि:शुल्क दिने याेजना बनाएका छाैं।'

जुम्लाको खलंगा बजारको किनारामै रहेको रत्नचूडेश्वर माविको भौगोलिक अवस्थिति अत्यन्तै मिलेको र लोभलाग्दो छ। अध्ययनका लागि जिल्लाकै उत्कृष्ट पुस्तकालय छ। समग्रमा पठनपाठनकाे शान्त वातावरण छ।

अहिले विद्यालयमा सरकारकाे विग विद्यालयकाे याेजना परेकाे छ। जसअन्तर्गत ठूला भवन बन्दैछन्। करिब २९ करोडकाे क्रमागत याेजनाअन्तर्गत डीपीआर भइसकेको छ। एक कराेडकाे भवन याे आर्थिक वर्षभित्र बन्नेछ।

प्रकाशित मिति: : 2023-02-02 14:06:00

प्रतिकृया दिनुहोस्