फेब्रुअरी, १ अर्थात् त्यो ‘कालो दिन’। म्यान्मारी सेनाले नागरिक सत्ता कब्जामा लिएर ‘कू’ गरेको दिन।
म्यान्मारमा सेनाविरूद्धकाे प्रदर्शन जारी छ। तर निर्दयी सेनाले शान्तिपूर्ण आन्दाेलन दबाइरहेको छ। प्रजातन्त्र खाेज्दै हिँडिरहेका स्वतन्त्र नागरिकमाथि क्रूर सेनाले दुःख थपिरहेकाे छ। बर्मेली नागरिकले सैन्य आतंक थेगेकाे आज ठ्याक्कै दुईवर्ष पुग्यो।
चीन, थाइल्यान्ड, लाओस्, बंगलादेश र भारतजस्ता विशाल राष्ट्रले घेरिएको एउटा सुन्दर मुलुक ‘बर्मा’ अर्थात् म्यान्मारमा अशान्ति छ। देशभर गृहयुद्ध छ। सर्वसाधारणले हतियार उठाएका छन्।
वर्षौदेखि स्वायत्तताका लागि लडिरहेका जातीय सशस्त्र समूह पनि युद्ध–मैदानमै छन्। म्यान्मारको क्रूर सेनाले नागरिकमाथि बल प्रयोग गर्दैआएको छ। सत्तासीन सेनाले २९४० निर्दोष सर्वसाधारणको ज्यान लिएकाे छ।
संयुक्त राष्ट्रसंघका अनुसार करिब १२ लाख बर्मेलीहरू विस्थापित भएका छन्। ७० हजारभन्दा बढीले देश छाडेका छन्। विद्यालयदेखि धार्मिकस्थलसम्म ‘नागरिक–हत्या’ भइरहेको छ।
अतिवादी सेनाले आम–नागरिकलाई युद्ध–मैदानमा उत्रिन बाध्य पारेको छ। कलिला नानीबाबुहरू सुन्दर भविस्यबारे चिन्तित छन्। के छैन म्यान्मार अर्थात् पुरानो बर्मामा? सबथोक छ। तर शान्ति र स्वतन्त्रता छैन। उनीहरू दुईवर्षदेखि कहालीलाग्दो कुहिँरोभित्र हराइरहेका छन्।
बर्मेली नागरिक वर्षौदेखि अँध्यारैअँध्यारो सत्रमा बाँचिरहेका छन्। मनमा त्राशै–त्राश छ। शासकले बम–बारुद्ध बर्साइरहेको छ। सेनाको बर्बर आतंक छ।
स्वतन्त्रताको पक्षमा वकालत गर्दा हजारौँ प्रजातन्त्रवादीहरू थुनिएका छन्। हजारौँ–हजार अंगभंग छन्। कुटिएका छन्। पिटिएका छन्।
सेनाविरूद्धकाे आन्दोलनको अग्रपंक्तिमा वीर गोर्खाली अर्थात् नेपालीभाषी पनि छन्। उनीहरू पूर्ण प्रजातन्त्र र स्वतन्त्रता चाहन्छन्। प्रदर्शनका क्रममा एक दर्जन नेपालीभाषीले पनि ज्यान गुमाएका छन्।
म्यान्मारकाे अँध्यारो–आतंक कायमै छ। युवा पुस्ता पेलिएको छ। भविस्यमाथि बन्दूकका छर्राहरू छन्। के छैन म्यान्मारमा? सबथोक छ। तर शान्ति र स्वतन्त्रता छैन। आशा छ, सन् २०२३ भित्रै म्यान्मारले सैन्य आतंकबाट मुक्ति पाउनेछ।