प्रेम आचार्यका नाममा अमेरिकामा र क्यानाडामा गोफण्डमीमा सहयोग उठाउनेको भीँड

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

नेपालमा प्रेमप्रसाद आचार्यको दु:खद निधनको समाचार बाहिरिएसँगै अमेरिका र क्यानाडामा उनका लागि सहयोग जुटाउन गोफण्डमी अभियान सुरू गर्ने मनकारीहरूको भीँड लागेको छ । 

डलर पनि जम्मा हुन सुरू भैसकेको छ । यो समचार तयार पारेको बेलासम्म १२ यस्ता अभियान सुरू भैसकेका छन्  र तिनीहरूका डलर पनि संकलन हुन थालिसकेको छ ।

यद्यपि, यी सबै गोफण्डमी अभियान सञ्चालन गर्ने अभियानकर्ताहरू साँच्चैकै मनकारी हुन् कि हैनन् भन्ने प्रश्न चाँहि बाँकि नै छ । 

कुनै चीर परिचित संस्था वा व्यक्तित्वले भन्दा पनि कहिलै नाम नसुनिएकाहरूले यी अभियानकर्ताहरू साँच्चै नै प्रेमप्रसादको परिवारका लागि सहयोग जुटाउन लागेका हुन् कि आफ्नो दुनो सोझ्याउन लागेका हुन् ?, अहिले नै यसै भन्न सकिने अवस्था छैन ।

हो, यस्ता अभियानहरू सञ्चालन गरेर पीडितको चहराइरहेको घाउमा मल्हम लगाउनु स्तूत्य काम हो । तर, दुर्भाग्य यस्तै बेला मौका छोपेर पैसा जम्मा गर्ने ठगहरू पनि उत्तर अमेरिकाको नेपाली डायस्पोरामा अनगिन्ति छन् ।

अमेरिकामा गोफण्डमीबाट धेरै रकम जम्मा गरेर पीडितको पीडामा मल्हम लगाइएका घटनाहरू पनि छन् र गोफण्डमीबाट डलर जम्मा गरेर ठगहरू मालामाल भएका दृष्टान्त पनि छन् । त्यसैले गोफण्डमी अभियानको छवि त्यति राम्रो छैन । यद्यपि, यसबाट मनग्यै सहयोग भने उठ्ने गरेको छ ।

नेपालमा प्रेमप्रसाद आचार्यको दु:खद निधनको समाचार बाहिरिएसँगै अमेरिका र क्यानाडामा उनका लागि चन्दा संकलन गर्न गोफण्डमी अभियान सुरू गर्नेहरूको भीँड जम्मा भएको छ । यो पुनित काम हो तर यसअघि यस्तो अभियान चलाउन  केही पैसा उठाएर फरार भएका पनि  दृष्टान्त छन् । यसपटक त्यस्तो नहोस्, अहिलेलाई यही कामना गरौं ।

प्रेमप्रसाद आचार्यका नाममा खोलिएका गोफण्डमी अभियानबाट संकलन रहेको रकम पारदर्शी होस् र पीडितहरूको हातमा पुगोस्, अहिले सबैले यही कामना गर्नुपर्ने भएको छ । यी अभियान बन्द हुन् वा नचलाइउन् भन्दा पनि धेरैभन्दा धेरै यस्ता अभियान चलाइउन् र एक थुकी सुकी सय थुकी नदी भनेजस्तै धेरैभन्दा धेरै सहयोग जम्मा होस् भन्नुपर्ने अवस्था छ । तर, यही बेला यस्ता अभियानहरूको निगरानी गर्न सोसल अडिटिङ गर्न पनि जरूरी छ । 

निश्चित पनि प्रेमप्रसादका लागि सहयोग जम्मा गर्नेहरूको उद्धेश्य पवित्र नै होला, त्यसमा हामी शंका नगरौं । तर, पैसा देख्दा महादेवका पनि तीन नेत्र हुन्छन् भन्ने सनातनीमा विश्वास गर्ने हाम्रो समुदाय पैसाको मामलामा पूराका पूरा विश्वास गर्न लायक पनि छैन। 

तर, यो पनि सत्य हो कि जो जो यस पुनित कार्यमा लाग्का छन्, उनीहरू सबैलाई एकपटक मर्नुपर्छ भन्नेचाँहि राम्ररी थाहा छ । त्यसैले यसपटक  हिनामिना नहोला भन्ने कामना गरौं । 

प्रकाशित मिति: : 2023-01-26 08:25:00

प्रतिकृया दिनुहोस्