‘आशा लागेको केटो जेठाजु पर्यो’ भन्ने नेपाली उखान पछिल्लो समय ठ्याक्कै उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेसँग मिल्दोजुल्दो देखिएको छ ।
लामोसमयसम्म सञ्चारक्षेत्रमा रहेर जनताका समस्याहरुमा प्रत्यक्ष जानकार रहेका उनी संघीय संसद बनेपछि जनताको अपेक्षाअनुरुप कुनै कामकारबाही गर्न सकेका देखिँदैनन् । पहिलो प्रयासमै अपेक्षा गरेभन्दा बढी सफलताले हौसिएका उनी ‘दह्रो बार्गेनिङ’ गर्दै गृहमन्त्रालय सम्हाल्न गए ।
प्रधानमन्त्री पुष्पकमल दाहालसँग एकैदिन उपप्रधानमन्त्रीको सपथ लिएलगत्तै पहिलो मन्त्रीपरिषद् बैठकमा प्रवक्ताका लागि प्रस्ताव गरिँदा पहिलो प्रस्ताव नै उनले नकारे । लामोसमयसम्म सञ्चारक्षेत्रमा रहेका व्यक्तिलाई छोटोसमयका लागि प्रधानमन्त्रीले गरेको प्रस्ताव गर्नु पक्कै पनि अन्यथा थिएन तर उनी त्यहाँबाट किन पन्छिए ? उनले अस्वीकार गरेपछि प्रचण्ड सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकले अर्का उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई प्रवक्ताको जिम्मेवारी तोक्यो ।
जुन कर्मबाट अर्थात् सञ्चार क्षेत्रबाट सरकारको जिम्मेवार तहमा पुगेका रविलाई प्रवक्ताको लागि तोकिँदा किन चित्त बुझेन ? शायद उनलाई निर्णय सुनाउँदै गर्दा आफू बरियतामा तल परेको आभाष हुन्छ भनेर होला, त्यो उनै जानुन् ।