जुम्लामा याे वर्ष हिउँ परेकाे छैन। 'पुस १५ सम्म हिउँ आएन भने अनिकाल लाग्छ' भन्ने भनाई छ। तर यतिबेला पुस पुरै कटिसक्याे हिउँ परेकाे छैन। हिउँ नपर्दा किसान आकाशतिर हेर्ने र थाेरै बादल देख्दा आशावादी हुने गरेका छन्। तर, हरेक पल्टकाे आशा निराशामा बदलिन थालेकाे छ।
तिनैमध्येका एक हुन्, जुम्ला चन्दननाथ गाउँपालिका बाेहरा गाउँका पराने सार्की। ६१ वर्षका उनी हरेक दिन गाउँभरी उधाेउभाे गर्छन्। हिउँ कहिले आउला भन्दै लामाे सुस्केरा हाल्छन्।
'ऐले साल मरु आइजान्छ क्यार! खेतका जाैं पहेँला भैगया। लेखका गाउँ सुकिगया। खान्या क्या हाेला?,' उनले भने, 'पानीका मुहान सुकेका छन्। हिउँ नआइकन मुस्किल हुन्या सजाे छ।'
मंसिर–पुसमै पर्नुपर्ने हिउँ माघ पहिलो हप्ता कटिसक्दा पनि नपरेपछि किसान चिन्तित बनेका छन्। पर्याप्त हिउँ नपुरुन्जेल चिन्ताले छाेड्दैन।
हिउँ नपरेपछि हिउँदे बाली जौ, गहुँ र वर्षेबाली स्याउ, ओखर राम्रो नहुने कृषि विज्ञहरु बताउँछन्। कृषि विकास कार्यालय जुम्लाका अनुसार बालीनाली र फलफूल राम्रो हुन मंसिरदेखि पुससम्म कम्तिमा पनि तीन/चार पटक हिउँ पर्नुपर्ने हुन्छ।
जुम्लाका १९ हजारमध्ये १६ हजार घरधुरी स्याउखेतीमा निर्भर छन्। गत वर्ष कालो तुसारोका कारण स्याउ उत्पादनमा ५० प्रतिशत गिरावट आएपछि किसान मर्कामा परे।
यसपालि बेलैमा हिउँ पर्ला, स्याउ बगैंचामा सिंचाइ गरौँला, काँटछाँट गरौंला भन्ने सोचेका जुम्ली किसानलाई पोहोरकै नियति दोहोरिएला भन्ने पीर परेको छ।
पुस-माघको महिनामा जुम्लामा हिमपात हुन अति आवश्यक छ। वर्षमा ५० करोड आम्दानी हुने जुम्लाकाे मुख्य आम्दानीको स्राेत स्याउ हाे।
अन्नबाली र स्याउ दुवै नहुने भएपछि ठूलो समस्या आउनसक्ने गुठीचाैर गाउँपालिका-५ का किसान विर्ष सार्कीले बताए। उनका अनुसार जुम्लामा कृषि उत्पादन वृद्धि हुन हिउँद समयमै हिमपात हुन र वर्षा पानी परिरहन आवश्यक हुन्छ। तर यसपालि हिउँ ढिलो परेको र थोपरेको हुनाले हिउँदेबाली र वर्षे फलफूलमा उत्पादन घट्नसक्ने सम्भावना छ। अझै पनि हिउँ पर्न जरुरी छ।
विगतमा धेरै हिउँ परेर जनजीवन कठिन भएपछि दिक्क मान्ने जुम्ली किसान यस वर्ष हिउँ पर्खिरहेका थिए। जलवायु परिवर्तनको कारण ढिलासम्म हिमपात नभएपछि किसान चिन्तित भएको कृषिविज्ञहरु बताउँछन्।
जुम्लाको ३ हजार बढी हेक्टर जमिनमा स्याउ खेती हुने गरेको छ। सबै क्षेत्रमा सिंचाइको सुविधा छैन। पुस माघको हिमपातकै भरमा हिउँ सङ्कलन गरी खाडल बनाएर हाल्ने हिउँ पोखरी निर्माण बनाउने हो।
यदि प्रशस्त हिउँ परेको खण्डमा बिरुवाले प्रशस्त पानी पाउँछन् तर हिउँ नै नपरेपछि स्याउ बगैँचामा कसरी सिंचाइ गर्ने भनेर किसान चिन्तित बनेका छन्।