सिंजामा नापी र मालपोत कार्यालय स्थापना गर्न माग

जिल्लामा रहेका कार्यालयहरू संघीय संरचनाअनुसार स्थानीय तहमा पुगेकार काम गर्नुपर्ने भएपछि अधिकांश सरकारी कार्यालयहरू स्थानीय तहमा पुगे।

तर पनि मालपोत र नापी कार्यालय विकेन्द्रीकरण हुन सकेका छैनन्। जसका कारण नागरिकले सास्ती खेपिरहनु परेकाे छ। यसबैबीच जुम्लाकाे सिंजा गाउँपालिकाले सिंजा क्षेत्रमा नापी र मालपोत कार्यालय स्थापना गर्न माग गरेको छ। 

जिल्ला प्रशासन कार्यालयमा बसेको पर्वपक्षीय र सर्वदलीय बैठकले तीनवटा स्थानीय तहका लागि सिंजा क्षेत्रमा मालपोत र नापी कार्यालय स्थापना गर्न माग गरेको हो।

तत्कालीन ३० वटा गाविसका लागि सदरमुकाम खलंगामा नापी र मालपोत कार्यालय राखिएको थियो। ती कार्यालय स्थानीयलाई पायक पर्ने स्थानमा नभएकाले सिंजा क्षेत्रमा कार्यालय बनाउन माग गरिएकाे हाे। 

नापी र मालपोत दुबै कार्यालय उकालो डाँडामा छन्। बढी जग्गा ज्येष्ठ नागरिककै नाममा हुने गरेको र सवारीसाधनको व्यवस्था पनि नहुँदा ज्येष्ठ नागरिक तथा अपांगता भएका व्यक्तिहरूलाई जग्गाको कारोबार गर्न समस्या छ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग सिंजा क्षेत्रमा नापी र मालपाेत माग गरिए पनि अर्थ मन्त्रालयका कारण काम राेकिएकाे सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए। 

'अर्थ मन्त्रालयको निर्णयले सिंजामा मालपोत र नापी कार्यालय स्थापना गर्न बाधा पुर्‍यायाे,' उनले भने, 'हामीले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयसँग माग गरेका थियौं।'

उक्त माग फाइल अर्थ मन्त्रालयमा पुगेको छ। अर्थले पुस २० गते नापी र मालपोत कार्यालयको अवस्था, वार्षिक बजेट तथा कार्यक्रमका विषयमा दूरदृष्टिसहितको सर्वेक्षणका लागि गृहकार्य गर्न उपयुक्त हुने निर्णय गरेको छ।

प्रकाशित मिति: : 2023-01-20 13:59:00

प्रतिकृया दिनुहोस्