रेखा शर्मा: जेल जीवनदेखि सञ्चारमन्त्रीसम्म

BreaknLinks
BreaknLinks

नेकपा (माओवादी केन्द्र)ले दाङ क्षेत्र नं. २ बाट निर्वाचित सांसद रेखा शर्मालई सूचना, सञ्चार तथा प्रविधिमन्त्री बनाएकाे छ। उनी नेकपा (एमाले) महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री शंकर पाेख्रेललाई निर्वाचनमा ब्रेक लगाएर सञ्चारमन्त्री बन्न सफल भइन्।

निरन्तर राजनीतिमा संघर्ष गरिरहेकी रेखा यसअघि सामान्य प्रशासन मन्त्रीसमेत भइसकेकी थिइन्। १७ वर्षको हुँदा विद्यार्थी राजनीतिमा होमिएकी शर्माले तत्कालीन माओवादीले चलाएको दश वर्षे सशस्त्र युद्धमा होमिइन्। २०५८ सालमा सेनाले पक्राउ गरेपछि उनले निर्मम यातानासमेत भोगेकी थिइन्।

यस्तो छ उनको विगत

२०२६ साल असोज ९ गते घोराहीको मसिनामा जन्मिएकी रेखाले २०४३ सालदेखि विद्यार्थी संगठन अखिल क्रान्तिकारीबाट राजनीति जीवन सुरुवात गरेकी थिइन्।

महेन्द्र बहुमुखी क्याम्पस दाङबाट स्नातक तह उत्रीर्ण गरेकी रेखा पढाइको क्रममा अखिल क्रान्तिकारीको जिल्ला उपाध्यक्षसमेत भइन्। त्यसपछि उनी २०४८ सालमा अनेमसंघ क्रान्तिकारी दाङको अध्यक्ष भइन्।

२०५० सालमा भएको राष्ट्रिय भेलाबाट उनी महिलाको केन्द्रीय सदस्य भएकी थिइन्। त्यतिबेला उनी माओवादीको सहायक संगठन वाइसिएलको केन्द्रीय सदस्यसमेत भएकी थिइन्।

उनी २०५३ सालदेखि २०५८ सालसम्म अनेमसंघ क्रान्तिकारीको केन्द्रीय अध्यक्ष, २०५७ सालमा भएको माओवादीको राष्ट्रिय सम्मेलनबाट पार्टीको केन्द्रीय सदस्य र काठमाडौं उपत्यकामा उपब्युरोको प्रमुख भएर काम गरिन्।

रेखाले महिला संगठनको केन्द्रीय अध्यक्ष हुँदा रक्सी विरोधी, दाइजो विरोधीलगायतका विभिन्न अभियानहरू सञ्चालन गरेर युद्धकालमै पार्टी अध्यक्ष प्रचण्डको मन जितेकी थिइन्। युद्धकालदेखि नै प्रचण्डले रेखालाई विश्वास पात्रको रुपमा लिन थालेका थिए।

युद्धको उत्कर्ष संकटकालको समय २०५८ साल चैतमा उनी काठमाडौंको चाहविलबाट पक्राउ परिन्। उनी श्रीमान कृष्णध्वज खड्कासहित पक्राउ परेकी थिइन्। सेनाले रेखा र कृष्णध्वजमाथि यातनाका विभिन्न ‘प्रयोग’हरु गरे। नाक बन्द गरेर मुखमा पानीको पाइप हालिदिनेदेखि शरीरलाई चक्कुले चरचरी चिर्नेसम्मको यातना रेखाले बेहोरेकी थिइन्।

२०५९ सालमा सरकार र माओवादीको वार्ता सुरु भएपछि रिहाइ भएसँगै उनी पार्टीको काममा लागिन्। २०७० र ०७४ सालमा समानुपातिक सांसद बनेकी रेखाले ०७० सालमा डा. बावुराम भट्टराईको नेतृत्वमा शीर्ष नेताहरु सम्मिलित राजनीतिक संवाद तथा सहमति समितिको सदस्य भएर काम गरेकी थिइन्।

सञ्चारमन्त्री बनेकी शर्माले अब सरकारकाे प्रवक्ता रुपमा काम गर्ने छिन्।

प्रकाशित मिति: : 2023-01-17 13:54:00

प्रतिकृया दिनुहोस्