न्युयोर्ककी पहिलो नेपाली विधायक सराहनाको कार्यकाल सुरू

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी

अमेरिकाको एम्पायर स्टेट भनिने न्युयोर्कले पहिलोपटक नेपाली मूलकी एक विधायक पाएको छ । 

सराहना श्रेष्ठ न्युयोर्कको डिस्ट्रिक्ट १०३ को प्रतिनिधित्व गर्दै अल्बानी पुगेकी हुन् । उनले डिसेम्बर २८ मा सपथ लिएर जनवरी १ देखि कार्यकाल सुरू गरिसकेकी छिन् ।

नेपालीहरूको बसोबास नै नभएको हड्सन भ्याली क्षेत्रबाट नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा उनी विजयी भएकी हुन् । श्रेष्ठले ३५,४९३ (५८.७०%) मत ल्याउँदा उनका रिपब्लिकन प्रतिस्पर्धी प्याट्रिक सिहानले २३,१०४ (३८.२१%) मत ल्याएका  थिए ।

डेमोक्रेटिक पार्टीको प्रतिनिधित्व गर्दै अल्बानी पुगेकी सराहनाले डेमोक्रेटिक प्राइमरीमा मध्यमार्गी भेट्रेन डेमोक्रेटलाई पराजीत गर्दै एक दुर्लभ जीत निकालेकी थिइन् । उनका प्रतिस्पर्धी तीन दशभन्दा बढी समयदेखि एसेम्बेलीमेन रहदै आएका थिए ।

नेपालको फोटोग्राफी इतिहाससँग साइनो गासिएको परिवारकी  सराहना श्रेष्ठ कुनै समय नेपालमा ग्राफिक डिजाइनिङ पेशामा थिइन् । यही क्रममा उनी पत्रकारितामा पनि जोडिइन् । उनका भाइ कशिस श्रेष्ड नेपालका एक जानेमाने पत्रकार हुन् । उनले अमेरिकाबाट निस्केको पिहलो नेपाली ट्याव्लोयड नेपाली आवाजको सम्पादन गरेका थिए ।

 काठमाडौं थातथलो भएकी सराहना २००१ मा अमेरिका आएकी थिइन् । २०१९ मा मात्र अमेरिकी नागरिकता लिएकी सराहना पनि पहिलो पुस्ताका अरू आम आप्रवासीजस्तै अमेरिकी सपनालाई पछ्याउदै यहाँ आइपुगेकी हुन् ।

पछिल्लोसमय डेमोक्रेटिक पार्टीको प्रगतिशील धारसँग जोडिएकी उनी बर्नी स्याण्डर्सकी कट्टर समथर्क हुन् । हरितगृह प्रभाव, वातावरण, सामाजिक न्यायजस्ता प्रगतिशील एजेण्डाका लागि एक अभियन्ताका रूपमा काम गर्दा गर्दै उनी ती एजेण्डालाई मूर्तरूप दिन राजनीतिमा होमिएकी हुन् ।

सराहनालाई अमेरिकाको नेपाली सुमदायले खासै चिन्दैन । यसका धेरै कारण छन्, त्यसमा पनि पहिलो कारण त उनको निर्वाचन क्षेत्रमा नेपालीको बसोबास नै नहुनु हो । दोस्रो, उनी अमेरिकी सोसलिस्ट मुभमेन्टसँग जोडिएकी छिन् । अमेरिकामा रिपब्लिकनहरू मात्र हैन, मध्य तथा दक्षिणपन्थीहरू डेमोक्रेटहरू पनि सोसलिस्टलाई कम्युनिष्ट भनेर बदनाम गर्छन् । त्यसैले धेरै नेपाली यो मुभमेन्टमा जोडिन नै डराउँछन् । किनकि, उनीहरूलाई कम्युनिष्ट भन्यो भने अमेरिकामा खैरियत छैन भनेर रटाइएको हुन्छ । 

अमेरिकामा राज्य विधायक हुने सराहना दोस्रो नेपाली मूलकी अमेरिकी हुन् । उनीबाहेक मेरिल्याण्ड राज्यमा डा. ह्यारी विधायक राज्य विधायक छन् । २०१८ को आम चुनावमा मेरिल्याण्ड डिस्ट्रिक्ट ८ बाट विजयी भएर ह्यारीले नेपालीका लागि अमेरिकी मूलधारको राजनीतिक ढोका खोलेका  थिए । गत नोभेम्बर ८ मा विजयी भएर जनवरी ११ बाट उनले दोस्रो कार्षकाल सुरू गरेका छन् ।

सराहनाभन्दा फरक उनी नेपाली समुदायको बाक्लो बसोबास रहेको बाल्टिमोर काउन्टीको प्रतिनिधित्व गर्छन् । र, उनी नेपाली समुदायसँगै सहकार्य गर्दै आफ्नो राजनीतिक यात्रा अगाडि बढाइरहेका छन् ।

 

प्रकाशित मिति: : 2023-01-17 05:45:00

प्रतिकृया दिनुहोस्