माघे सङ्क्रान्ति पर्वको रमझम चलिरहेको बेला आइतबार बिहानै देशमा दुखद घटना घट्यो। काठमाडौंबाट पोखर उडेको यति एयरलाइन्सको जहाज सेती नदीको खोँचमा बजारियो। उक्त जहाजमा ६८ जना यात्रु र ४ जना चालक सदस्यसहित जम्मा ७२ जना सवार थिए।
पछिल्लाे समय नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको जानकारीअुनसार हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भइसकेकाे छ।
यहीबीचमा सरकारले भोलि (सोमबार) शोक मनाउन सार्वजनिक विदा दिने निर्णय गरेको छ। सरकारले गरेको यो निर्णय हतारोको निर्णय हो। यसमानेमा हतारो कि सरकारले शोक विदा दिने भन्दा पनि तत्काल पीडित परिवारलाई राहत उपलब्ध गराउने र चाडै सबैको उद्धार गर्न काम गर्नुपर्ने हो। सधैं थोत्रो जहाज चलाउनुपर्ने अवस्थाको अन्त्य गर्नतिर ध्यान दिँदा राम्रो हो।
अनि अर्को कुरा मानिसहरूमा मानवीयता भन्ने कुरा हराउँदै गएको रहेछ। घटनास्थल पुगेर उद्धार कार्य थालेका युवाको अन्तर्वार्ता हेरेपछि यो कुरा प्रष्ट भयो। मानिसहरू भाइरल बन्ने होडमा उद्धारभन्दा पनि भिडियो र फोटो खिच्नमा व्यस्त थिए। मानिसहरु कतिसम्म निर्लज्ज हुन्छन् भन्ने कुरा प्रष्ट भएको छ।
विपद र दुखमा सहयोग गर्नु मानिसको ठुलो धर्म हो। सामान्य विवेक र संवेदना सबै प्राणीमा हुनुपर्छ। मानिस अझ अरु प्राणीहरुको तुलनामा सर्वश्रेष्ठ प्राणी हो।
दुर्घटनाग्रस्त मान्छे पीडामा छट्पटाउँछ, चिच्याउँछ, सहयोगको याचना गर्छ। तर, यस्तो अवस्थामा सहयोगको हात बढाउनेहरु कमै हुन्छन्। उनीहरुको हात सहयोगतिर भन्दा खल्तीको मोबाइल निकालेर भिडियो र सेल्फी खिच्नतिर बढ्छ।
हामी सबै सचेत हुने समय आएको छ। सहयोग गर्न नसक्ने अवस्था पनि आउला। यद्यपी केही न केही हिसाबले सान्त्वना मिल्ने काम त गर्न सकिन्छ। अर्काको पीडालाई भिडियोमा खिचेर दुनियाँभर फिजाउँदा हामीलाई के लाभ मिल्छ? सोच्ने बेला आएको छ।
अहिले कुनै ठाउँमा दुर्घटना भयो भने त्यहाँ सेल्फी खिच्नेहरुको भिड लाग्छ। कोही छटपटाइरहेका हुन्छन्, मृत्युसँग जुधिरहेका हुन्छन्, असह्य पीडाले चिच्याइरहेका हुन्छन्। तर, उनको पीडालाई बेवास्ता गर्दै मान्छेहरु सेल्फी खिच्न हतारिन्छन्। मानिसहरु अरुको पीडामा रमिते बनिरहेका हुन्छन्।
सबैले सोचौँ, हामीले खिचेका भिडियो, फोटो सामाजिक सञ्जालमा राख्दा ती परिवारका सदस्यहरूलाई कस्तो मानसिक तनाव परिरहेको हुन्छ। जीवन कसैको स्थिर हुँदैन। आज कसैलाई परेको विपद् भोलि हामीलाई पनि पर्न सक्छ। त्योबेला तपाईं आपतमा पर्दा सहयोग नगरेर सबै जना मोबाइल तेर्स्याउन थाले भने? सोच्नुस् त। त्यसैले सर्वस्व भुलेर अरुको पीडामा रम्ने काम बन्द गरौँ।