म्यान्मार सेनाले जलायाे ऐतिहासिक गाउँ

बिएल संवाददाता

रंगुन, म्यान्मार

म्यान्मारको सत्तासीन सैन्य ‘जुन्ता’ले सगाईं प्रान्तको ऐतिहासिक गाउँ नष्ट गरेको छ।

युनेस्कोको विश्व सम्पदा सूचीमा रहेको प्राचीन हानलिन गाउँमा बिहिबार सेनाले आगजनी गरेको स्थानीयहरू बताउँछन्।

म्यान्मार सेनाको एउटा समूहले गाउँमा आगो लगाउँदा एउटा गुम्बासहित ५० भन्दा बढी घर ध्वस्त पारेका छन्। ‘जुन्ताका बफादार सैनिकहरू गाउँतिर जाँदैछन् भन्ने सुनेपछि हामीहरू जंगलतिर भाग्यौँ,’ स्थानीय एक युवकले भने।

हानलिन गाउँ सगाईं प्रान्तको सबैभन्दा चर्चित र ऐतिहासिक पर्यटकीय क्षेत्र मानिन्थ्यो। त्यो गाउँ सेनाले आगो लगाएर खरानी बनाएको पिपुल्स् डिफेन्स फोर्सका अधिकारीहरू जनाउँछन्।

जुन्ता भनेर चिनिने म्यान्मारको क्रूर सेनाले गाउँमा आगो सल्काएपछि सशस्त्र विद्रोही समूह पिपुल्स् डिफेन्स फोर्सका लडाकुसँग भिडन्त समेत भएको थियो। लगतै जुन्ता सैनिकहरू त्यहाँबाट भागेका थिए।

स्रोतका अनुसार स्थानीय बासिन्दाहरू गाउँ नजिकैको एउटा जंगलमा आश्रय लिइरहेका छन्। सरकारी सेनाले यसअघि पनि आसपासका गाउँहरूमा आगजनी गरेका थिए।

प्रकाशित मिति: : 2023-01-14 15:57:00

प्रतिकृया दिनुहोस्