अमेरिकाको मेरिल्याण्डमा राज्य सांसद डा. भण्डारीले सुरू गरे दोस्रो कार्यकाल

बिएल संवाददाता

वासिङ्टन डीसी, अमेरिका

अमेरिकाको मेरिल्याण्ड राज्यको हाउस अफ एसेम्बेली सदस्यका रूपमा डा. ह्यारी भण्डारीले दोस्रो कार्यकाल सुरू गरेका छन्। बुधबार राजधानी एनापोलिसस्थित संसद भवनमा आयोजित एक समारोहबीच सपथ लिएर उनले दोस्रो कार्यकाल सुरू गरेका हुन्।

यसपटक उनले गीता समातेर सपथ लिएका छन्। यसअघिको पहिलो कार्यकालमा उनले बेद समातेर सपथ लिएका थिए। 

डा. भण्डारी मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीअन्तर्गत डिस्ट्रिक्ट ८ बाट विजयी भएका हुन्। यसअघि बैजनी रङ्मा रंगिएको निर्वाचन क्षेत्रलाई यसपटक नीलो बनाउँदै उनले जीत निकाले।   डेमोक्रेटिक प्राइमरीमा दोस्रो मतका साथ निर्विरोध रहेका भण्डारीले नै आमनिर्वाचनमा पहिलो मतका साथ डेमोक्रेटिक पार्टीको नेतृत्व गरे।

अमेरिकामा नेपाली समुदायबाट राज्य सांसद हुने पहिलो नेपालीको इतिहास बनाएका डा. भण्डारीले पहिलो कार्यकालमा नेपाल र नेपालीलाई देखिने र सुनिने बनाउन निक्कै प्रयत्न गरे। उनी मेरिल्याण्डका मात्रै हैन, अमेरिकाभर रहेका नेपालीहरूको मर्दा-पर्दाको सहयोगी हात बने।

अमेरिकाको मूलधारे राजनीतिमार्फत् नेपालीले सक्रिय सहभागिता र हस्तक्षेपको कार्यनीति अगाडि बढाउनुपर्छ भन्ने सोचका साथ अगाडि बढिरहेका भण्डारीले अमेरिकामा नेपाल र नेपालीलाई खुम्च्याउने हैन, बिस्तारित गर्ने कार्यको नेतृत्व गर्दैआएका छन्। 

पहिलो कार्यकालमा केही सिक्ने, संगत गर्ने र सुरूवात गर्ने अवसर मिल्यो। यसपटक ती सबैको लाभ लिएर थप उपलव्धी हासिल गर्ने दिशामा कृतसंकल्पित हुनेछु।
- डेलिगेट डा. ह्यारी भण्डारी

सपथग्रहण समारोहअघि उनले एक स्वागत तथा कृतज्ञता ज्ञापन समारोहको आयोजना गरेका थिए। स्थानीय नेपाली अगुवालगायतका अमेरिकाका विभिन्न राज्यबाट प्रतिनिधिमुलक नेपालीको सहभागिता रहेको समारोहमा बाल्टिमोर काउन्टी कार्यकारीलगायतका  उच्चपदस्थ पदाधिकारीको पनि सहभागिता थियो । 

सपथग्रहणपछि उनले अगुवा नेपालीहरूलाई संसद भवनका साथै उनको च्याम्बरको पनि भ्रमण गराएका थिए। त्यही क्रममा  बीएल नेपालीसँग कुरा गर्दै उनले भने, 'पहिलो कार्यकालमा केही सिक्ने, केही संगत गर्ने र केही सुरूवात गर्ने अवसर मिल्यो। यसपटक म ती सबैको लाभ लिएर थप उपलव्धी हासिल गर्ने दिशामा कृतसंकल्पित हुनेछु।'

उनले आफू नेपालीमूलको भएकाले आफ्नो प्राथमिकतामा सधैभरी नेपाल र नेपाली नै रहने बताउँदै अगाडि भने, 'यहाँ विभेद गर्न पाइदैन तर पछि परेको समुदायका पक्षमा सकारात्मक विभेद र हस्तक्षेप गर्न पाइन्छ। म त्यही प्रजातान्त्रिक मूलयमा आधारित रहेर कामलाई अगाडि बढाउने छु।'

उनले आफ्नो जीतमा नेपालीको सहयोग, साथ र आशीर्वादले काम गरेको बताउँदै त्यसलाई मतको संख्यामा अनुवाद गर्न नहुने र नसकिने पनि बताए।

यसअघि डिसेम्बर २८ मा अमेरिकाको न्युयोर्क राज्यको विधानसभामा अर्को एक नेपाली  एसेम्बेली वुमन  सराहना श्रेष्ठले सपथ लिएकी छिन्। एनापोलिसपछि अल्बानीमा नेपाली विधायकको खाता खोल्ने श्रेष्ठले न्युयोर्कको डिस्ट्रिक्ट १०३ को प्रतिनिधित्व गर्छिन्। उनी पनि डेमोक्रेटिक पार्टीबाटै विधायक चुनिएकी हुन्।  

एसेम्बेलीवुमन श्रेष्ठको अल्बानी प्रवेशसँगै अमेरिकामा नेपालीमूलका राज्य विधायकको संख्या दुई पुगेको छ। विश्वकै सबैभन्दा शक्तिशाली देशको राजनीतिक मूलधारमा यसरी नेपालीहरूको उपस्थिति भएबाट नेपाल र नेपाली अरू देखिने र सुनिने छ। यसबाट नेपाल खुम्चिएको छैन, अरू विस्तारित भएको छ। 

प्रकाशित मिति: : 2023-01-13 03:12:00

प्रतिकृया दिनुहोस्