माओवादीका कृष्ण धिताल गण्डकीको सभामुख बन्ने पक्का

File Photo
File Photo

नेकपा माओवादी केन्द्रका सांसद कृष्ण धिताल गण्डकी प्रदेशको सभामुख बन्ने पक्का जस्तै भएको छ।

दलको नेता बनेर मन्त्री हुने योजनामा रहेका धिताल दलको नेतामा हरि चुमान निर्वाचित भएपछि सभामुख बन्ने बताइएको छ। यद्यपि, अहिले पनि धिताल मन्त्री बन्ने योजनामा छन्। पार्टीभित्र उनलाई सभामुख बन्न दवाव बढेको हो।

धितालले पनि पार्टीले गरेको निर्णय मान्ने बताएका छन्। ‘उहाँलाई सभामुख बन्नुस भनेका छौं। अझै मन्त्रीकै पक्षमा हुनुहुन्छ,’ एक सांसदले भने, ‘तर पार्टीले निर्णय गरेपछि स्वीकार गर्छु भन्नुभएको छ।’ गण्डकीमा पाँचै वर्ष सभामुख माओवादीले पाउने निर्णय शीर्ष नेताहरुको छ।

यहाँको मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारीले सपथ लिइसकेका छन्। माओवादीबाट दलका नेता चुमानले सरकारमा प्रतिनिधित्व गरेका छन्। सभामुखको निर्वाचन भने माघ २ भित्र सक्नुपर्छ। संविधान अनुसार पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख निर्वाचित भइसक्नुपर्ने व्यवस्था छ।

१८ पुसमा बसेको पहिलो बैठक हिसाब गर्दा २ माघ कटाउन मिल्दैन। सकेसम्म बिदाकै दिन भएपनि बैठक बसेर सभामुख चयन गरिने संसद सचिवालयले जनाएको छ। यद्यपि, दलहरुबीच बैठक बस्न बाँकी रहेको बताइएको छ। धिताल गोरखा १ (१) बाट निर्वाचित भएका हुन्।

प्रकाशित मिति: : 2023-01-12 11:25:00

प्रतिकृया दिनुहोस्