चितवन जिल्लामा रहेका एचआइभी सङ्क्रमितहरूमा कुपोषणको समस्या देखिएको छ।
एएचएफ नेपालले भरतपुर अस्पतालको सहकार्यमा सञ्चालन गरेको एआरटी सेन्टरको तथ्याङ्कानुसार जिल्लामा रहेका सङ्क्रमितमध्ये दुई सय ३० जनामा कुपोषण देखिएको छ।
कुपोषण हुनेमा महिलाको सङ्ख्या धेरै रहेको एएचएफ नेपालका वरिष्ठ कार्यक्रम अधिकृत कृष्णहरि सापकोटाले बताए। उनका अनुसार सङ्क्रमितमा पिछडा वर्गका समुदायका बढी सङ्ख्यामा कुपोषण समस्या देखिएको छ।
भरतपुर महानगरपालिका, माडी, रत्ननगर, खैरहनी र कालिका नगरपालिकामा रहेका सङ्क्रमितमा कुपोषणको समस्या देखापरेको हो। परिवारका सदस्यमा सङ्क्रमण हुँदा आयआर्जनमा समस्या परेकाले कुपोषण देखिने गरेको उनको भनाइ छ।